
काठमाडौँ । प्रत्येक वर्ष सेप्टेम्बर २ मा विश्व नरिवल दिवस मनाइन्छ। नरिवलको पोषण, बहुउपयोगिता, स्वास्थ्य तथा उष्ण प्रदेशिय क्षेत्रमा यसको आर्थिक महत्वबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
नरिवललाई यसको बोक्रा, पानी, गुदी र तेलसम्म सबै भाग उपयोग गर्न सकिने बहुउपयोगी फलका रूपमा लिइन्छ । नरिवलमा रेसा, भिटामिन बी–६, फलाम तथा विभिन्न खनिज पदार्थ पाइन्छन्। यसको तेल खानाका साथै छाला तथा सौन्दर्य सामग्रीमा समेत प्रयोग गरिन्छ। नरिवलको दूधबाट आइसक्रिम, सस र सुपलगायत परिकार बनाउन सकिन्छ ।


सन् १९९८ मा एसियाली तथा प्रशान्त क्षेत्रीय नरिवल समुदायले नरिवलको पोषण र बहुउपयोगिताबारे जनचेतना फैलाउन विश्व नरिवल दिवस घोषणा गरेको थियो । त्यसपछि पहिलो पटक सन् २००९ मा भएको थियो ।

सेप्टेम्बर २ रोज्नुको कारण सन् १९६९ मा संयुक्त राष्ट्रसंघको एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको सहयोगमा एसियाली तथा प्रशान्त क्षेत्रीय नरिवल समुदाय स्थापना भएको दिनसँग सम्बन्धित छ । उक्त संस्था अहिले अन्तर्राष्ट्रिय नरिवल समुदाय अर्थात् इन्टरनेशनल कोकोनट कम्युनिटीका रूपमा चिनिन्छ ।
यो दिवसले नरिवल किसान तथा यस क्षेत्रमा संलग्न व्यक्तिको योगदानलाई सम्मान गर्नुका साथै दिगो खेती र व्यापारलाई प्रोत्साहन गर्ने उद्देश्य राख्छ । भारत, इन्डोनेसिया, फिलिपिन्स, भियतनाम र मलेसियालगायत प्रमुख नरिवल उत्पादक देशमा यस अवसरमा विभिन्न कार्यक्रम, गोष्ठी, प्रदर्शनी तथा प्रवर्द्धनात्मक गतिविधि आयोजना गरिन्छ ।





