
अनिल नेपाली
अर्घाखाँची, भदौ १७ ।
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले कानुनले निषेध गरेका कुप्रथा अझै पनि समाजमा जरा गाडेर रहनु चिन्ताको विषय भएको बताउनुभएको छ। उहाँले हानिकारक परम्परा, कुप्रथा तथा गलत सामाजिक मूल्य–मान्यता न्यूनीकरणका लागि सबै सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित सुपादेउराली मन्दिर परिसरमा **‘सामाजिक न्यायका लागि रूपान्तरण अभियान’अन्तर्गत ‘हाम्रो साहस परियोजना’**द्वारा आयोजित बहुसरोकारवालासँगको छलफल कार्यक्रममा बोल्दै जिसस प्रमुख कोइरालाले यस्तो बताउनुभएको हो।


दलित महिला संघ र युएन वुमनको सहकार्य तथा दलित चेतना विकास परिषद् नेपाल, अर्घाखाँचीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो।
प्रमुख कोइरालाले कानुनले निषेध गरेका कुप्रथा अझै पनि समाजमा भित्रभित्रै कायम रहनु गम्भीर विषय भएको बताउँदै यस्ता हानिकारक सामाजिक मान्यता परिवर्तन गर्न भाषणमा मात्र सीमित नभई व्यवहारमै परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो।


उहाँले सामाजिक कुरीति तथा हानिकारक परम्पराको अन्त्यका लागि सरकारी निकाय, सामाजिक संघसंस्था, समुदाय, जनप्रतिनिधि, युवा तथा नागरिक समाजलगायत सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुराबहादुर केसीले ग्रामीण तथा पछाडि पारिएका समुदायमा सामाजिक न्याय र सशक्तीकरणका लागि समुदायका अगुवासँग छलफल तथा अन्तरक्रिया गर्नु महत्वपूर्ण रहेको बताउनुभयो।

समाजमा विद्यमान हानिकारक परम्परा न्यूनीकरण गर्न विभिन्न संस्थाले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै वडाध्यक्ष केसीले स्थानीय सरकारको जनप्रतिनिधिका रूपमा यस्ता समस्या न्यूनीकरण गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा समाजमा विद्यमान हानिकारक परम्परा तथा सामाजिक मूल्य–मान्यताका विषयमा पत्रकार अनिल नेपालीले सहजीकरण गर्नुभएको थियो।

सो अवसरमा दलित महिला संघले महिलावादी अभियान, समावेशी सशक्तीकरण तथा जातीय, लैङ्गिक र अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्दै आएको जानकारी गराइएको थियो। संस्थाले समुदायसँगको सहकार्यमा विभिन्न परियोजना सञ्चालन गर्दै महिला सशक्तीकरण तथा दिगो विकासमा जोड दिँदै आएको जनाइएको छ।
‘हाम्रो साहस परियोजना’ अन्तर्गत सामाजिक रूपमा हानिकारक मूल्य–मान्यता न्यूनीकरण तथा लैङ्गिक समानताका लागि सामाजिक मूल्य–मान्यता परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ। परियोजनाको मुख्य लक्षित वर्गमा महिला, दलित समुदाय र युवा रहेका छन्।

परियोजनाको उद्देश्य सामाजिक कुरीति न्यूनीकरण, संस्थागत क्षमता अभिवृद्धि तथा लैङ्गिक हिंसा न्यूनीकरण गर्नु रहेको जनाइएको छ।

कार्यक्रममा वक्ताहरूले परम्परागत सोच र व्यवहारमा परिवर्तन ल्याउन यस्ता छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम महत्वपूर्ण हुने बताएका थिए। न्यायबाट टाढा रहेका, बेसहारा अवस्थामा जीवन बिताइरहेका तथा अन्याय र हिंसामा परेका महिलालाई जीविकोपार्जनसँग जोड्न सबै पक्षको सहयोग आवश्यक रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा नरपानी प्रहरी चौकीका प्रमुख रामसकल यादव, सुपादेउराली मन्दिर व्यवस्थापन समितिका सहसचिव कमल थापा, पूर्वसहसचिव कमल थापा तथा युवा अगुवा विवश थापालगायतले मन्तव्य राख्दै समाजमा रहेका हानिकारक परम्परा तथा कुप्रथा न्यूनीकरण गर्न सबैको साझा भूमिका महत्वपूर्ण हुने बताएका थिए।
कार्यक्रमले समाजमा जरा गाडेर बसेका हानिकारक सामाजिक मूल्य–मान्यता र कुप्रथाविरुद्ध समुदायस्तरमै सचेतना तथा व्यवहार परिवर्तनको आवश्यकता औँल्याएको छ।




