ओस्नाब्रुकलाई हराउँदै बायर्न म्युनिख डिएफबी पोकलको दोस्रो चरणमा

काठमाडौँ । डिएफबी कपको पहिलो चरणको खेलमा बायर्न म्युनिखले भीएफएल ओस्नाब्रुकलाई ४-१ गोलअन्तरले हराउँदै दोस्रो चरणमा स्थान बनाएको छ ।

गएराती सम्पन्न खेलमा घरेलु टोली ओस्नाब्रुकले पाँचौँ मिनेटमै रोबिन माइजनरको उत्कृष्ट गोलमार्फत अग्रता लिएको थियो । करिब ३० मिटर टाढाबाट माइजनरले गरेको प्रहार बायर्नका गोलरक्षकलाई छक्याउँदै गोलमा परिणत भएको थियो ।

तर बायर्नले लामो समय पछि पर्न दिएन । खेलको १८औँ मिनेटमा ह्यारी केनले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए। त्यसको छ मिनेटपछि टोम बिसफले गोल गरेपछि बायर्नले २-१ को अग्रता बनाएको थियो ।

खेलको दोस्रो हाफमा पनि बायर्नले खेलमा नियन्त्रण कायम राखेको थियो । खेलको ७३औँ मिनेटमा माइकल ओलिसेले गोल गर्दै टोलीको अग्रता ३-१ बनाए । खेलको ८६औँ मिनेटमा प्राप्त पेनाल्टीमा केनले गोल गर्दै व्यक्तिगत दोस्रो गोल पूरा गरेपछि बायर्न ४-१ ले विजयी भएको थियो ।

यो जितसँगै उपाधि रक्षक बायर्न म्युनिख डिएफबी कपको दोस्रो चरणमा पुगेको छ । बायर्नले पहिलो चरण लगातार ३२औँ पटक पार गरेको हो । सन् १९९४ मा भेस्टेनबर्ग्सरोइटसँग पराजित भएपछि बायर्न पहिलो चरणबाटै बाहिरिएको छैन ।