मालारानी अस्पतालमा बढ्दै बिरामीको चाप, दैनिक ३०–४० जनासम्म उपचारमा

केशव पन्थी, अर्घाखाँची ।

अर्घाखाँचीको मालारानी गाउँपालिकाले सञ्चालनमा ल्याएको मालारानी आधारभूत अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। गाउँमै १५ शैयाको अस्पताल सञ्चालनमा आएपछि मालारानीका स्थानीयसँगै छिमेकी जिल्ला गुल्मीका नागरिकसमेत उपचारका लागि अस्पताल आउन थालेका छन्।

मालारानी गाउँपालिकाले १३ करोड २७ लाख ६३ हजार रुपैयाँको लागतमा १५ शैयाको अस्पताल भवन निर्माण सम्पन्न गरेको हो। अस्पतालबाट हाल एक जना मेडिकल अधिकृत, दुई जना हेल्थ असिस्टेन्ट, दुई जना स्टाफ नर्स, दुई जना कार्यालय सहयोगी र दुई जना सरसफाइकर्मीसहित नौ जना जनशक्तिले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।

गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईका अनुसार अस्पताललाई उपलब्ध जनशक्तिबाट नियमित रूपमा सञ्चालन गर्दै नागरिकलाई सहज स्वास्थ्य सेवा दिने प्रयास भइरहेको छ।

अस्पतालका प्रमुख डाक्टर नवीन भुसालका अनुसार पछिल्लो समय अस्पतालमा दैनिक ३० देखि ४० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन्। मालारानी गाउँपालिकाका विभिन्न स्थानबाट बिरामी आउने गरेका छन् भने छिमेकी जिल्ला गुल्मीको धुर्कोट गाउँपालिकाका केही वडाबाट समेत उपचारका लागि नागरिक अस्पताल पुग्ने गरेका छन्।

गाउँमै अस्पताल सञ्चालनमा आएपछि सामान्य स्वास्थ्य समस्या लिएर उपचारका लागि सदरमुकाम सन्धिखर्क पुग्नुपर्ने स्थानीयको बाध्यता कम भएको छ। स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि उपचारका लागि समय र खर्च दुवै बचत भएको स्थानीयको भनाइ छ।

सदरमुकाममा उपलब्ध हुने सामान्य स्वास्थ्य सेवा गाउँमै पाउन थालेपछि स्थानीय नागरिक अस्पतालप्रति सकारात्मक बनेका छन्। अस्पतालमा आउने बिरामीको संख्या बढ्दै जानुले समेत स्थानीय नागरिकमा अस्पतालप्रतिको विश्वास विस्तार हुँदै गएको देखिएको छ।

मालारानीको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको अस्पतालमा बिरामीको चाप बढेसँगै आगामी दिनमा सेवा विस्तारको आवश्यकता समेत देखिएको छ। पर्याप्त जनशक्ति व्यवस्थापन, आवश्यक स्वास्थ्य उपकरण थप तथा विशेषज्ञ सेवा विस्तार गर्न सके अस्पतालबाट अझ प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सकिने अपेक्षा गरिएको छ।

images

गाउँमै १५ शैयाको अस्पताल सञ्चालनमा आएर नियमित रूपमा बिरामीको उपचार हुन थालेपछि मालारानीसहित आसपासका नागरिकलाई समेत स्वास्थ्य सेवामा सहजता भएको छ। अस्पतालको सेवा र पूर्वाधारलाई थप व्यवस्थित गर्दै लैजान सके ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा स्थानीय तहमै उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने देखिएको छ।