
अर्घाखाँची । शितगंगा नगरपालिका–९ का विभिन्न टोलका महिलालाई सीपमूलक तालिम दिने र तालिमपछि उत्पादित सामग्रीसमेत संस्थाले खरिद गरिदिने भन्दै रकम उठाएको आरोप लागेका एक व्यक्ति सम्पर्कविहीन भएका छन्।
शितगंगा नगरपालिका–९ का वडा अध्यक्ष भीमबहादुर खत्री क्षेत्रीका अनुसार आफूलाई भैरहवास्थित ‘हेफ इन्टरनेशनल’ संस्थाको प्रतिनिधि बताउने सुमनजङ्ग बस्नेत नाम गरेका व्यक्तिले भदौ ५ गते फोन गरी वडाका महिलाका लागि चप्पल, अचार तथा जुत्ता बनाउने तालिम सञ्चालन गर्ने प्रस्ताव गरेका थिए।


बस्नेतले तालिमपछि सहभागी महिलाले उत्पादन गरेका सामग्रीसमेत सम्बन्धित संस्थाले खरिद गरिदिने आश्वासन दिएको वडा अध्यक्ष क्षेत्रीले बताए। त्यसपछि उनलाई वडा कार्यालयमा बोलाइएको र वडा कार्यालयमा आएपछि बस्नेतले वडा नं. ९ का नयाँबस्ती, रागाकाटे, करमगैरा लगायतका टोलमा पुगेर स्थानीय महिलासँग भेटघाट गरी तालिमबारे जानकारी गराएको अध्यक्ष क्षेत्रीको भनाइ छ।

तालिममा सहभागी हुन परिचयपत्र आवश्यक पर्ने भन्दै सहभागीबाट प्रति व्यक्ति एक प्रति फोटो र १५० रुपैयाँ उठाउन भनिएको थियो। समूहका अगुवामार्फत रकम संकलन गरिएको तथा भोलिपल्ट भालुबाङ बजार बन्द हुने कारण देखाउँदै बैंक खातामा रकम पठाउनसमेत भनिएको वडा अध्यक्ष क्षेत्रीले बताए।
उनका अनुसार सावित्रा खत्रीबाट ४ हजार ६० रुपैयाँ, दीपक बोहोराबाट १० हजार रुपैयाँ र चोपकला खत्रीमार्फत ४ हजार २१० रुपैयाँ संकलन गरिएको थियो। रकम जितबहादुर बराल नाम गरेका व्यक्तिको क्यूआरमा पठाउन लगाइएको र तालिमका लागि आवश्यक सामग्री लिएर आउने बताइए पनि त्यसपछि बस्नेत सम्पर्कविहीन भएको अध्यक्ष क्षेत्रीले बताए।

बस्नेतले प्रयोग गरेका भनिएका सम्पर्क नम्बरमा समेत अहिले सम्पर्क हुन नसकेको वडा अध्यक्ष क्षेत्रीको भनाइ छ।
गाउँका नागरिकलाई विभिन्न प्रलोभन देखाएर रकम उठाइएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही हुनुपर्ने अध्यक्ष क्षेत्रीले माग गरेका छन्। उनले आफूले भदौ १५ गते इलाका प्रहरी कार्यालयमा जालसाजीसम्बन्धी उजुरी दर्ता गराएको जानकारी दिए।


वडा अध्यक्ष क्षेत्रीले विकट ग्रामीण बस्तीमा तालिम, रोजगारी तथा विभिन्न संस्थाको नाम प्रयोग गरेर यस्ता गतिविधि हुन सक्ने भन्दै स्थानीय नागरिकलाई सचेत रहन आग्रह गरेका छन्। उनले कुनै पनि संस्था वा व्यक्तिले तालिम तथा अन्य कार्यक्रमका नाममा रकम माग गरेमा सम्बन्धित निकायबाट आधिकारिक जानकारी लिएर मात्र रकम दिन आग्रह गरे।
घटनाबारे थप अनुसन्धान गरी रकम संकलन गर्ने व्यक्ति, रकम पठाइएको क्यूआर तथा सम्बन्धित पक्षको भूमिकाबारे सत्यतथ्य पत्ता लगाउनुपर्ने स्थानीयको माग छ।
यता, बस्नेत वा उनले प्रतिनिधित्व गरेको भनिएको संस्थाको पक्षबाट घटनाबारे आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। प्रहरीले अनुसन्धानपछि घटनाको वास्तविकता स्पष्ट गर्ने अपेक्षा गरिएको छ।









