
सन् २०२६ को दोस्रो त्रैमासिकमा अस्ट्रेलियाको आर्थिक वृद्धिदर ०.४ प्रतिशत पुगेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले मंगलवार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार यो वृद्धिदर अर्थशास्त्रीहरूको अनुमानभन्दा बढी हो । एबीएसकाअनुसार जुन महिनाको अन्त्यसम्मको तीन महिनामा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.४ प्रतिशतले बढेको छ । यसअघिको मार्च त्रैमासिकमा यस्तो वृद्धिदर ०.३ प्रतिशत रहेको थियो। वार्षिक आधारमा हेर्दा, जुन महिनासम्मको १२ महिनाको अवधिमा जीडीपी २.१ प्रतिशतले वृद्धि भएको छ ।
यसअघि रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) ले अगस्ट महिनामा सार्वजनिक गरेको आफ्नो पछिल्लो प्रक्षेपणमा वार्षिक जीडीपी वृद्धि १.९ प्रतिशत रहने अनुमान गरेको थियो ।


त्यस्तै, अस्ट्रेलियाको सबैभन्दा ठूलो उपभोक्ता बैंक ‘कमनवेल्थ बैंक अफ अस्ट्रेलिया’ (सीबीए) ले सोमवार मात्रै आफ्नो अनुमान परिमार्जन गर्दै त्रैमासिक वृद्धि ०.१ प्रतिशत र वार्षिक वृद्धि १.६ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । यस तथ्याङ्कप्रति टिप्पणी गर्दै कोषाध्यक्ष जिम चालमर्सले सामाजिक सञ्जालमार्फत अस्ट्रेलियाको अर्थतन्त्र लचिलो र सुदृढ रहेको बताउनुभएको छ ।

एबीएसका अनुसार निजी मागमा देखिएको तिब्रता र आयातमा भएको बढोत्तरीका कारण यो त्रैमासिक वृद्धि सम्भव भएको हो । अस्ट्रेलियालीहरू विद्युतीय सवारीसाधनतर्फ आकर्षित भएसँगै सवारीसाधन खरिदमा १०.३ प्रतिशतको वृद्धि देखिएको छ, जसले गर्दा समग्र वस्तु आयात २.४ प्रतिशतले बढेको छ । अर्कोतर्फ, मध्यपूर्वको द्वन्द्वले अन्तर्राष्ट्रिय यात्रामा अवरोध पु¥याउँदा सेवा आयातमा भने ४.९ प्रतिशतको गिरावट आएको छ ।
निर्याततर्फ, मार्च त्रैमासिकमा मौसमको प्रतिकूलताका कारण प्रभावित भएको कोइला उत्पादनमा सुधार आएसँगै निर्यातमा ०.८ प्रतिशतको वृद्धि देखिएको छ ।
रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) ले आगामी डिसेम्बरसम्ममा वार्षिक जीडीपी वृद्धि घटेर १.४ प्रतिशतमा खुम्चिने र सन् २०२८ सम्म यो २ प्रतिशतभन्दा तल नै रहने प्रक्षेपण गरेको छ ।





