
अर्घाखाँची । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोपछि अर्घाखाँची स्थायी घर भएका ९ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीनमध्ये एक जनाको शव फेला परेको छ भने ८ जनाको अवस्था अझै अज्ञात रहेको छ।


जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार भदौ १० गते आएको बाढी तथा पहिरोपछि जिल्लाका विभिन्न स्थानीय तहका उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन्।
सम्पर्कविहीन हुनेमा पाणिनी गाउँपालिका–३ ढावका २९ वर्षीय प्रशान्त रेश्मी, सन्धिखर्क नगरपालिका–८ पकले घर भई हाल भूमिकास्थान नगरपालिका–३ मामाघरमा बस्दै आएका २२ वर्षीय सुमित मल्ल ठकुरी, मालारानी गाउँपालिका–५ बाँगी गुरासेका ४० वर्षीय नारायण पन्थी रहेका छन्।


त्यस्तै भूमिकास्थान नगरपालिका–९ काप्लेकी ४६ वर्षीया मनिकला राना, शीतगंगा नगरपालिका–४ का २७ वर्षीय सुबोध बेल्बासे, भूमिकास्थान नगरपालिका–७ राक्सेपानीका ४५ वर्षीय नारायण थापा कब्दार, भूमिकास्थान नगरपालिका–९ काप्लेकी ४२ वर्षीया तारा राना, भूमिकास्थान नगरपालिका–१० स्थायी घर भई हाल काठमाडौं बस्दै आएका ६५ वर्षीय रुकबहादुर क्षेत्री र भूमिकास्थान नगरपालिका–८ लात्तेबाजका ३९ वर्षीय कृष्णबहादुर श्रेष्ठ सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।


सम्पर्कविहीनमध्ये पाणिनी गाउँपालिका–७ राक्सेपानीका नारायण थापाको शव फेला परेको प्रहरीले जनाएको छ। तर बाँकी ८ जनाको हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।

बाढी तथा पहिरोका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जिसीले जानकारी दिनुभएको छ।
प्रहरीले सम्पर्कविहीन व्यक्तिहरूबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।
दिन बित्दै जाँदा सम्पर्कविहीन व्यक्तिका परिवारमा चिन्ता र पीडा बढ्दै गएको छ। आफन्तहरू आफ्ना मान्छेको अवस्था पत्ता लाग्ने आशामा खबरको प्रतीक्षामा छन्। बाढी तथा पहिरोले निम्त्याएको विपद्का बीच अर्घाखाँचीका यी परिवारहरू अहिले आफ्ना प्रियजनको खोजी र सकुशल फर्किने आशामा छन्।
सम्पर्कविहीन ८ जनाको अवस्था यथाशीघ्र पत्ता लागोस् र परिवारले सत्य जानकारी पाऊन् भन्ने अपेक्षा गरिएको छ।





