फक्सवागनले थप ५० हजार रोजगारी कटौती गर्ने

काठमाडौँ । जर्मन कार निर्माता कम्पनी फक्सवागनले सन् २०३० सम्म थप ५० हजार रोजगारी कटौती गर्ने योजना स्वीकृत गरेको छ । यससँगै कम्पनीले दशकको अन्त्यसम्म विश्वभर १ लाख रोजगारी घटाउने भएको छ ।

बिक्री घट्नु, नाफामा कमी आउनु तथा विशेषगरी चिनियाँ कार निर्माता कम्पनीसँगको कडा प्रतिस्पर्धाका कारण फक्सवागनले ठूलो पुनर्संरचना गर्न लागेको हो ।

कम्पनीले सन् २०३५ सम्म उत्पादन गर्ने कारका नमुना संख्या ५० प्रतिशतले घटाउने र उत्पादनको जटिलता ७५ प्रतिशतले कम गर्ने जनाएको छ ।

फक्सवागनमा सन् २०२५ सम्म विश्वभर ६ लाख ६० हजारभन्दा बढी कर्मचारी कार्यरत थिए । कम्पनीले मागभन्दा उत्पादन क्षमता बढी रहेका केही कारखानाको भविष्यबारे पनि समीक्षा गरिरहेको जनाएको छ ।