पुराना दललाई गृहमन्त्री गुरुङको चेतावनी : ‘इतिहास फेर्ने कोशिस नगर्नुस्, अझै समय छ सुध्रिनुस्’

गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनलाई पुराना राजनितिक दलहरुले गलत ढंगले व्याख्या गर्ने गरेको आरोप लगाउनुभएको छ ।
जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले ईतिहासलाई बदल्ने चेष्टा नगर्न चेतावनी दिनुभयो । जेन–जी आन्दोलन नेपालको एतिहासिक ईतिहास भएको दाबी गर्दै उहाँले इतिहासको अवव्याख्या गर्ने छुट कसैलाई नभएको बताउनु भयो ।

उहाँले पुराना राजनीतिक शक्तिहरूलाई ‘सुध्रिन’ चेतावनी दिनुभयो । जेनजी आन्दोलनलाई अपमान ३ करोड नेपाली जनतालाई अपमान भएको उहाँको दाबी छ । गृहमन्त्री गुरुङले पुराना राजनीतिक सोच र परम्परागत कार्यशैलीबाट नयाँ नेपाल निर्माण हुन नसक्ने बताउनु भयो । उहाँले पुराना दलका नेताहरूलाई समयमा नै आफ्नो सोच र कार्यशैली परिवर्तन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेका देख्दाखेरि अचम्मै लाग्छ । र म उहाँहरू सबैजनालाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो । र इतिहास कसैले फेरेर फेरिँदैन । इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस् । त्यो इतिहास नै थियो भन्नलाई पनि साबित गर्नलाई ३ करोड नेपाली जनताले हामीलाई जिताएर पठाएको हो । तपाईँले यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस् । त्यही भएर सुध्रिनुस् भन्न चाहन्छु । सुध्रिनुस्, अझै पनि समय छ, सुध्रिनुस् । त्यही पुराना ट्रेन्डिसनले, त्यही पुराना सोचले नयाँ नेपाल तपाईँले बनाउन सक्दैन, हामीले बारम्बार भन्दै आएको कुरा नै हो ।’

उहाँले जेन–जी आन्दोलन सत्ताप्राप्ति वा शक्तिको लोभमा नभएको दाबी गर्नुभयो । भदौ २३ गतेको आन्दोलनमा युवाहरू सुशासनको पक्षमा उभिन सडकमा आएको उहाँले बताउनु भयो । शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिएको कारण भदौ २४ गतेको घटना भएको दाबी गर्नुभयो । तर हाल भदौ २४ गतेलाई मात्रै केन्द्रमा राखेर प्रचार भईरहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘भदौ २३ मा पनि हामी तपाईँको सत्ताको पछाडि थिएनौँ । न त हामीलाई सत्ताको लोभ नै छ, न त शक्तिको घमण्ड नै छ । अहिले पनि छैन, त्यतिखेर पनि हामीलाई केही लोभ पनि थिएन, आशा पनि थिएन । सुशासनको पक्षमा हामी उभिनका लागि मात्र युवाहरू एकै ठाउँमा हामी जम्मा भएका थियौँ । तर जसरी हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो, हामीसँग सँगै आन्दोलन गरेका भाइ–बहिनीहरूलाई जसरी गोली हानियो, अझै पनि लाजै नमानी २४ गते जल्यो भन्दै ट्रेनिङ दिइराखेको देखिन्छ, देश जलेको दिन । २३ गते देश मरेको दिन थियो, मान्छे मरे भने त यो देश पनि कहाँ रहन्छ ?’

उहाँले मान्छे रहे मात्रै देश रहने बताउनुभयो । जेनजी आन्दोलनलाई नकरात्मक बनाउन देश जलाएको भाष्य जर्वजस्ती सिर्जना गर्न खोजेको उहाँको आरोप छ ।