प्रचण्डको प्रश्न- जेनजीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन नभएको भन्दै अहिले फेरि नागरिकमा निराशा देखिएको बताएका छन् ।

जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार विज्ञप्ति जारी गर्दै प्रचण्डले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र अवसरमा समानतासहित युवाले खोजेको परिवर्तन कहाँ पुगेको भन्ने प्रश्न गरेका हुन् ।

प्रचण्डले जेनजी आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न भएको बताएका छन् । युवाको आवाजलाई संवेदनशील रूपमा सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको उनको आरोप थियो ।

उनले आन्दोलनमा घुसपैठ भएपछि भदौ २४ गते सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, आगजनी र तोडफोड भएको उल्लेख गरेका छन् ।

युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने योजनालाई एउटै विषयका रूपमा हेर्न नहुने बताउदै प्रचण्डले भदौ २४ गतेको घटनालाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’का रूपमा चित्रित गरेका छन् ।

प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा र तोडफोडबारे निष्पक्ष, स्वतन्त्र तथा तथ्यमा आधारित छानबिन आवश्यक रहेको बताउदै आन्दोलनमाथि दमन किन र कसरी भयो, कसले आन्दोलन भड्कायो, हिंसा तथा लुटपाटमा को संलग्न थियो र त्यसबाट लाभ कसले उठायो भन्ने विषयको सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनले बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले प्रतिवेदनमा औँल्याइएका विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।

प्रचण्डले अहिलेको अवस्थाप्रति प्रश्न उठाउँदै भ्रष्टाचार अन्त्य, सुशासन स्थापना, रोजगारी तथा अवसर वृद्धि र जनताप्रति उत्तरदायी राज्यको अपेक्षा गरेका नागरिक फेरि निराश भएको बताएका छन् । महँगी बढेको, अर्थतन्त्र शिथिल बनेको, व्यवसायी निराश रहेको, रोजगारीका अवसर पर्याप्त नभएको र युवाको विदेश पलायन बढिरहेको उनको भनाइ छ ।

उनले सार्वजनिक ऋण बढिरहेको, जनतामाथि करको बोझ थपिएको तथा विपद्का समयमा समेत नागरिकले समयमै उद्धार, राहत र पुनःस्थापना पाउन नसकेको बताएका छन् ।

images

संविधान संशोधनका नाममा संविधानका मूलभूत संरचनामै व्यापक फेरबदल गर्ने प्रयास भइरहेको भन्दै प्रचण्डले त्यसको विरोध गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, मौलिक हक, नागरिक स्वतन्त्रता र जनताको सार्वभौमसत्ता नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धि भएको उनले बताएका छन् ।

लोकतन्त्रका कमजोरीको उपचार लोकतन्त्र समाप्त गर्नु नभई त्यसलाई अझ उत्तरदायी, पारदर्शी, जनमुखी र परिणाममुखी बनाउनु भएको बताउदै उनले यसलाई आफूहरूले ‘लोकतन्त्रको सर्भिसिङ’ भन्दै आएको बताएका छन् ।

images

प्रचण्डले आफ्नो पार्टीले विगतका अभ्यास र अनुभवबाट शिक्षा लिँदै पार्टी शुद्धीकरण, संगठनात्मक पुनर्निर्माण र राजनीतिक रूपान्तरणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि जनाएका छन् । साथै उनले संविधान र लोकतन्त्रको पक्षमा रहेका राजनीतिक शक्ति, युवा पुस्ता, नागरिक समाज तथा आम नेपाली जनतालाई एकताबद्ध हुन अपिल गरेका छन् ।

 

images