
काठमाडौं, २७ भदौ। ओलम्पिक खेलकुदका च्याम्पियनहरूले १ करोड डलरको कीर्तिमानी पुरस्कार राशिका लागि प्रतिस्पर्धा गर्ने गरी पहिलो ‘अल्टिमेट च्याम्पियनसिप’ सुरु भएकाे छ ।
एथलेटिक्सका ‘सर्वोत्कृष्टमध्येका उत्कृष्ट’ खेलाडीहरू यसै सप्ताहान्तमा बुडापेस्टमा सुरु हुन गइरहेको पहिलो ‘वर्ल्ड एथलेटिक्स अल्टिमेट च्याम्पियनसिप’ मा प्रतिस्पर्धाका लागि तयारी गरिरहेका छन्। ट्र्याक एन्ड फिल्डका उत्कृष्ट खेलाडीहरूले २६ व्यक्तिगत स्पर्धा (पुरुषका लागि १३ र महिलाका लागि १३) तथा दुई रिले दौडमा प्रतिस्पर्धा गर्दै गौरवका लागि भिड्दा ‘ग्युला झिभोट्ज्की नेसनल एथलेटिक्स सेन्टर’ मुख्य आकर्षणको केन्द्र बन्ने ओलम्पिक कमिटीले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।


तीन दिनसम्म चल्ने यस प्रतियोगितामा पेरिस ओलम्पिकका २६ जना च्याम्पियन, टोकियोमा विश्व च्याम्पियन बनेका २६ जना खेलाडी तथा यस सिजनका शीर्ष एथलीटहरू ‘ट्र्याक एन्ड फिल्ड’ मा सर्वश्रेष्ठ बन्नका लागि प्रतिस्पर्धा गर्नेछन्।

कुल १ करोड डलर अर्थात १० मिलियन अमेरिकन डलरको पुरस्कार राशिमध्ये प्रत्येक इभेन्टका विजेताले कीर्तिमानी १ लाख ५० हजार डलर प्राप्त गर्नेछन्। यो रकम गत वर्ष टोकियोमा आयोजित विश्व च्याम्पियनसिपमा दिइएको ७० हजार डलरको तुलनामा दोब्बरभन्दा बढी हो भने पेरिस ओलम्पिकका च्याम्पियनहरूलाई ‘वर्ल्ड एथलेटिक्स’ले प्रदान गरेको रकमको तीन गुणा हो।
यसमा दोस्रो स्थान हासिल गर्नेले ७५ हजार डलर र तेस्रो स्थानका खेलाडीले ४० हजार डलर प्राप्त गर्नेछन् । साथै १६औँ स्थानसम्म आउने खेलाडीहरूले पनि क्रमशः पुरस्कार स्वरूप न्यूनतम २ हजार डलरसम्म पाउने छन्। रिले टोलीहरूले ८० हजार डलरको पुरस्कार राशि आपसमा बाँड्नेछन् भने दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीले क्रमशः ४० हजार र २४ हजार डलर प्राप्त गर्नेछन्।

‘अल्टिमेट च्याम्पियन’ बन्ने खेलाडीले विश्वभर आफ्नो श्रेष्ठताको दाबी गर्ने विशेष गौरव पनि हासिल गर्नेछन्। खेलकुदका लागि यस प्रतियोगिताको महत्त्वबारे चर्चा गर्दै ‘वर्ल्ड एथलेटिक्स’का अध्यक्ष सेबास्टियन कोएले प्रतियोगिता अघि यस्तो बताएका हुन्।
सन् २०२३ को विश्व च्याम्पियनसिपमा सफलता हासिल गरेका धेरै खेलाडीहरू हंगेरीको राजधानीमा रहेको यस परिचित थलोमा फर्किएका छन् भने अन्यले वर्षभरि उत्कृष्ट प्रदर्शन गर्दै विश्वस्तरीय उपाधिहरू जितेका छन्। ‘अल्टिमेट च्याम्पियनसिप’ निमन्त्रणा आधारित प्रतियोगिता हो, जसमा ओलम्पिक तथा विश्व च्याम्पियनसिपका स्वर्ण पदक विजेताहरू, डायमन्ड लिगका विजेताहरू र विश्व वरीयता छनोट प्रणालीका आधारमा सन् २०२६ का उत्कृष्ट प्रदर्शनकर्ताहरू सहभागी हुनेछन्।

यो प्रतियोगिता बुडापेस्टमा सेप्टेम्बर ११ देखि १३ सम्म सञ्चालन हुनेछ र अबदेखि ‘वर्ल्ड एथलेटिक्स’ अर्थात विश्व एथलेटिक्स महासंघको क्यालेन्डरमा हरेक दुई वर्षमा आयोजना हुने कार्यक्रमका रूपमा रहनेछ। खेलको विश्वव्यापी नियामक निकायले विश्व च्याम्पियनसिपहरूबीचको समयमा यो प्रतियोगिता सुरु गर्न सन् २०२६ लाई रोजेको हो । साथै ओलम्पिक वर्षहरूमा यसलाई निकै प्रतिस्पर्धात्मक सिजनको समापन गर्ने कार्यक्रमका रूपमा प्रयोग गरिनेछ।
यस प्रतियोगिताका सद्भावना दूत तथा जमैकाका धावक अर्थात स्प्रिन्ट लिजेन्ड भनिने उसेन बोल्टले “ट्र्याक एन्ड फिल्ड खेलकुद अर्कै दिशामा अघि बढेको देख्दा खुसी लागेको” बताए। प्रतियोगिता अघि आयोजित पत्रकार सम्मेलनमा आठ पटकका ओलम्पिक स्वर्ण पदक विजेता बोल्टले भने, “सर्वोत्कृष्ट खेलाडीहरूलाई एकै ठाउँमा देख्न पाउनु निकै उत्कृष्ट हुनेछ, यो मेरो लागि निकै विशेष कुरा थियो। म सधैँ उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नकै लागि बाँचेको छु र यस्तो क्षणमा म अझ उत्कृष्ट प्रदर्शन गर्न रुचाउँथेँ।”




