
यमनको हुथी विद्रोही समूहले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण बाब अल–मन्दाब जलडमरूमध्य क्षेत्रसहित यमनको सम्पूर्ण पश्चिमी तटीय क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ । विद्रोही समूहले शुक्रवार आफ्नो सैन्य अभियानलाई दक्षिणी प्रान्त लाहिजतर्फ विस्तार गर्दै पछि हटिरहेका सरकारी सुरक्षाकर्मीहरूमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको यमनी सरकारी तथा सैन्य अधिकारीहरूले जनाएका छन् । हुथी लडाकुहरूले शुक्रवार बिहान बाब अल–मन्दाब जलडमरूमध्यको मध्यभागमा अवस्थित रणनीतिक मयुन (पेरिम) टापुमा प्रवेश गरी बिनाकुनै सैन्य प्रतिरोध कब्जा जमाएका हुन् ।
रातको समयमा सरकारी फौज पछि हटेपछि विद्रोही समूहले डुङ्गामार्फत उक्त टापुमा आफ्नो उपस्थिति जमाएको थियो । यससँगै हुथीहरूले लाल सागर र अदनको खाडी जोड्ने प्रमुख जलमार्गमा पूर्ण नियन्त्रण कायम गरेको पुष्टि भएको छ । यसअघि बिहीवार विद्रोहीहरूले दक्षिण–पश्चिमी यमनको अर्को महत्वपूर्ण बन्दरगाह शहर मोचालाई नियन्त्रणमा लिएका थिए ।


सरकारी सुरक्षा अधिकारीहरूकाअनुसार विद्रोही फौज थप दक्षिणतर्फ अघि बढेपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको अस्थायी प्रशासनिक केन्द्र अदनबाट करिव ९० किलोमिटर पश्चिममा रहेको खोर ओमेइरा क्षेत्रमा सरकारी सेना जम्मा हुन पुगेको छ । यद्यपि पछि हट्ने क्रममा सरकारी फौजमा ठूलो अन्योल देखिएको र केही सैनिकहरूले आफ्ना हतियार र पोशाक त्यागेको स्थानीय बासिन्दाहरूले बताएका छन् । हुथी नियन्त्रित अल–मसिराह टेलिभिजनमार्फत सार्वजनिक वक्तव्यमा विद्रोही प्रवक्ता याह्या सारियाले सेप्टेम्बर ३ देखि शुरु भएको सैन्य अभियानअन्तर्गत ५ हजार ४ सय वर्ग किलोमिटर भूभाग कब्जा गरिएको दाबी गरेका छन् ।

उनले साउदी समर्थित फौजलाई ताइज र अल–हुदैदा प्रान्तका ६ जिल्लाबाट लखेटिएको तथा ३२ वटा हवाई झडपमा नौ वटा विमान खसालिएको दाबी गरे पनि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । प्रवक्ता सारियाले साउदी अरबका जहाजहरूमाथिको प्रतिबन्ध यथावत रहे पनि बाब अल–मन्दाब भएर ओहोरदोहोर गर्ने अन्य अन्तर्राष्ट्रिय व्यापारिक जलयातायात पूर्ण रूपमा सुरक्षित रहेको जिकिर गरेका छन् । सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविरामपछि हुथीहरूको यो पछिल्लो तिब्र सैन्य विस्तारलाई द्वन्द्वको सबैभन्दा ठूलो तनावका रूपमा हेरिएको छ ।




