चिलिमेमा उद्धार कार्य जारी, विद्युत् गृहमा पुग्न ६० मिटर बाँकी

काठमाडौँ । भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ ।

नेपाली सेना, भारतीय सेना र चिलिमे जलविद्युतको प्राविधिक टोलीले सुरुङभित्र थुप्रिएको माटो तथा भग्नावशेष हटाउँदै विद्युत् गृहसम्म पुग्ने प्रयास गरिरहेको छ ।

हिजोदेखि डोजर, लोडर र अन्य उत्खनन उपकरण प्रयोग गरी काम तीव्र पारिएको छ । टोलीले शनिबार थप करिब ७० मिटर सुरुङ सफा गरिसकेको र आयोजना प्रमुखका अनुसार विद्युत् गृहसम्म पुग्न अब करिब ६० मिटर सुरुङ सफा गर्न बाँकी रहेको छ ।

उद्धार टोलीले विद्युत् गृहसम्म पुग्ने लक्ष्यसहित आज रातिसमेत सुरुङ सफा गर्ने तथा भग्नावशेष हटाउने कामलाई निरन्तरता दिने जनाएको छ ।