स्वास्थ्य सेवा कार्यालय मुगुको वार्षिक समिक्षा गोष्ठी , छाँयानाथ प्रथम

खड्क सुनार /मुगु २७ भदौ 

स्वास्थ्य कार्यालय मुगुको आयोजनामा सञ्चालन भएको जिल्लास्तरीय स्वास्थ्य कार्यक्रम प्रगतीको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।  शुक्रवार बाट सुरु भएको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको हो ।

समीक्षा गोष्ठीमा जिल्लाका चारवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले आ–आफ्नो वार्षिक प्रगती प्रस्तुत गरेका थिए । जिल्लामा स्वास्थ्यसम्बन्धी काम गर्ने, वान हर्ट, मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक मुगु , फेज नेपाललगायतका संस्थाहरुले आर्थिक वर्ष २०८२/८३ मा आफुहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान गरेका उपलब्धि, चुनौतिका विषयमा प्रस्तुत गरेको स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए ।

सबै पालिकाहरुले प्रस्तुत गरेको संस्थागत रिपोर्ट राम्रो भएको र अझै थप प्रभावकारी काम गरेर अगाडी बढ्नु पर्ने देखिएको छ । समीक्षा गोष्ठी कार्यक्रममा जिल्लाभर रहेका स्वास्थ्य संस्थाहरुले सम्पादन गरेका कार्यहरुले आगामि वर्षहरुमा थप प्रभावकारी ढंगवाट अगाडी बढ्ने बताएका छन् । समिक्षा गोष्ठी समापन कार्यक्रममा प्रमुख अतिथी समेत रहेका सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले , जिल्लाभर विषशज्ञ तथा अन्य स्वास्थ्यकर्मीको आंशिक अभावलाई सबै मिलेर समधान गर्नुपर्ने बताए । दुर्गमका नागरिकको स्वास्थ्य अधिकार लाई सहज  उपचारमा टेवा पुर्याउनु सबैको दायित्व भएको बताएका हुन ।

मुगुका नागरीकहरुले स्वास्थयकर्मीहरुको मुख हेरेका हुन्छन्, र स्वास्थ्य सम्बन्धी हरेक कुराहरुलाई अझै सुधारमा ल्याउन सबै स्वास्थ्यकर्मिहरुले आ आफ्नो काममा दत्तचित्त भएर खट्नुपर्ने बताए । स्वास्थ्य क्षेत्र सम्बेदनशिल भएकाले यस क्षेत्रमा जिल्लाभर रहेका स्वास्थ्य संस्थाका कार्यरत स्वास्थ्यकर्मीहरुले प्रभावकारी काम गरेर नागरीकको विश्वास जित्ने काम गरेर अगाडी बढ्नु पर्ने जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जनबहादुर कार्कीले बताए । मानिसको जन्म र मृत्युसङ्ग जोडिएका स्वास्थ्यकर्मीहरुको कामको प्रशंसा गरेका थिए । प्रमुख कार्कीले सम्पूर्ण स्वास्थ्यकर्मीहरुले आफ्नो क्षेत्रका जनताका लागी सकेजतिको सेवा दिनका लागि विशेष आग्रह गरेका थिए ।

स्वास्थ्य सेवा कार्यालय मुगुले समिक्षा गोष्ठी समापनको कार्यक्रममा आर्थिक वर्ष २०८/०८३ मा उत्कृष्ट काम गर्ने चार वटा स्थानीय तह मध्ये स्वास्थ्य सम्बन्धिका सुचकका आधारमा छायानाथ रारा नगरपालिका लाई प्रथम स्थान हासिल गरेकाले स्वास्थ्य कार्यालयले कदर पत्र सहित प्रदान गरेको छ ।

यस्तै मुगुम कार्मारोङ्ग गाउँपालिका दोश्रो स्थानमा रहेको छ भने सोरु र खत्याड गाउँपालिका बरावरी अंकका साथ तृतीया स्थानमा रहेको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ । कार्यालयले वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठिको अवसरमा जिल्लाको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत उत्कृष्ठ १२ जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा कार्यालय मुगुमा कार्यरत पाँच कर्मचारीलाई समेत सम्मान गरेको प्रमुख डाक्टर नगरकोटीको भनाई छ । यसैगरी जिल्लामा स्वास्थ्य क्षेत्रमा उल्लेखनिय भुमिका निर्वाह गर्ने संघ संस्था, सञ्चारकर्मी लाई समेत सम्मान पत्र प्रदान गरिएको हो ।