फ्लप भयो सुपरस्टार यशको ‘टक्सिक’, तीन सय करोड घाटा !

काठमाडौँ । बलिवुड अभिनेता यशको फिल्म ‘टक्सिक’ ले पहिलो दिन करिब १४० करोड भारतीय रुपैयाँको विश्वव्यापी कमाइ गरे पनि त्यसपछि व्यापारमा ठूलो गिरावट आएपछि फिल्मलाई फ्लप भनिएको छ । भारतमा पहिलो दिन करिब १०१ करोड भारतीय रुपैयाँ खुद कमाएको फिल्मको दोस्रो दिनको कमाइ करिब ३७ करोडमा झरेको थियो ।

व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्म असफल हुनुको मुख्य कारण कमजोर कथा र विषयवस्तु हो । यशको लोकप्रियताका कारण फिल्मले उत्कृष्ट सुरुआत गरे पनि दर्शकलाई लामो समयसम्म हलसम्म तानिराख्न सकेन ।

फिल्मको १५औँ दिनसम्मको विश्वव्यापी कमाइ करिब ३३९.३२ करोड भारतीय रुपैयाँ पुगेको बताइएको छ । ठूलो लगानीका कारण फिल्मले अपेक्षित व्यापार गर्न नसकेको विश्लेषण गरिएको छ ।

फिल्ममा करिब ३०० देखि ३५० करोड भारतीय रुपैयाँ घाटा भएको चर्चा भए पनि वास्तविक घाटा कति भयो भन्ने यकिन नभएको बताइएको छ । निर्माण लागत, वितरण अधिकार तथा डिजिटल, टेलिभिजन र संगीत अधिकारबाट भएको आम्दानी जोडेर मात्र वास्तविक घाटा निर्धारण गर्न सकिने विश्लेषक आदर्शको भनाइ छ ।

उनका अनुसार ‘केजीएफ’पछि यशको बढेको लोकप्रियताले ‘टक्सिक’लाई ठूलो सुरुआत दिलाए पनि कमजोर कथा र दर्शकको मिश्रित प्रतिक्रियाका कारण फिल्मले त्यसलाई निरन्तरता दिन सकेन । अन्य ठूला फिल्मले पनि पछि पर्दामा बढी स्थान पाएपछि ‘टक्सिक’को प्रदर्शन थप प्रभावित भएको थियो ।

फिल्ममा यशसँगै कियारा आडवाणी, नयनतारा, हुमा कुरेसी, तारा सुतारिया र रुक्मिणी वसन्तले प्रमुख भूमिका निर्वाह गरेका छन् । फिल्मको निर्देशन गीतु मोहनदासले गरेकी हुन् ।