
काठमाडौँ । सात पटकको च्याम्पियन भारतले आज श्रीलंकाविरुद्ध महिला टी–२० एसिया कपको फाइनल खेल्दैछ । भारतको लक्ष्य श्रीलंकालाई हराउँदै आठौँ पटक उपाधि जित्ने रहेको छ ।
दुबईमा जारी प्रतियोगिताको फाइनल खेल आजराती नेपाली समय अनुसार ८: १५ बजेदेखि शुरु हुदै छ ।

महिला एसिया कपमा भारतको दबदबा रहँदै आएको छ । भारतले सन् २००४, २००५, २००६ र २००८ मा एकदिवसीय तथा २०१२, २०१६ र २०२२ मा ट्वान्टी–२० प्रारूपमा उपाधि जितेको थियो। भारत २०१८ र २०२४ मा भने फाइनलमा पराजित भएको थियो ।


फाइनलसम्मको यात्रामा दुवै टोली अपराजित छन् । सन् २०२४ को फाइनलमा श्रीलंकाले भारतलाई आठ विकेटले हराएको थियो । त्यसैले भारत अघिल्लो फाइनलको गल्ती दोहोरिन नदिने लक्ष्यमा हुनेछ ।
श्रीलंकाले सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै भारतले भने सेमिफाइनलमा बंगलादेशलाई पराजित गरेको थियो ।

दुई वर्षअघि दाम्बुलामा भएको फाइनलमा पनि हर्षिता र श्रीलंकाकी कप्तान चमारी अटापट्टुले अर्धशतकीय इनिङ खेल्दै भारतलाई पराजित गरेका थिए । यसपटक पनि ती खेलाडीहरू श्रीलंकाको टोलीमा रहेकाले भारतका लागि उनीहरू मुख्य चुनौती बन्नेछन् ।




