बालेन सरकार छापामाध्यम मिडियालाई सिध्याउन चाहन्छ : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले वर्तमान रास्वपा सरकार छापामाध्यमलाई सिध्याउन लागेको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघ र छापा सञ्चारमाध्यम बचाउ अभियानका प्रतिनिधिहरूबाट आइतबार ध्यानाकर्षण पत्र बुझ्दै उनले बालेन्द्र शाह बालेन नेतृत्वको सरकारलाई ‘छापा मार’ को संज्ञा दिए ।

‘मैले देख्दा त अहिलेको सरकार ‘छापा मार’ सरकार जस्तो देखिन्छ । ‘छापामार’ एकै ठाउँमा होइन, छापा, मार् सरकार । त्यसो भएपछि सञ्चारमाध्यमलाई अप्ठ्यारो त हुने नै भयो,’ उनले भने ।

सञ्चार जगतले लोककल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी बेवास्ताका कारण भोग्नुपरेको संकटबारे ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको बताए । उनले मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटिक्ने बताए ।

पत्रकारहरूलाई हरेस नखान आग्रह गर्दै उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कवितांश स्मरण गराए । उनले भने, ‘तपाईहरूले सम्झौता गर्नुभयो वा पछि हट्नुभयो भने अधिकार पाइँदैन । त्यसैले आफ्नो आवाजलाई निरन्तरता दिनुहोस् ।’

आफ्नो पार्टी र आफू व्यक्तिगत रूपमा पनि दशकौँदेखि अभिव्यक्ति स्वतन्त्रताको लडाइँ लड्दै आएको बताउँदै ओलीले छापामाध्यमको रक्षाका लागि एमालेको पूर्ण समर्थन रहेको स्पष्ट पारे । उनले छापा माध्यम ऐतिहासिक र तथ्यपूर्ण दस्ताबेज भएकाले डिजिटल युगमा पनि यसको महत्त्व कहिल्यै नघट्ने बताए ।

इतिहास सुनाउँदै ओलीले भने, ‘१०४ वर्ष टिकेको राणा शासन ढल्यो, ३० वर्षको पञ्चायत सकियो, ज्ञानेन्द्रले २०६१ मा गरेको ‘कु’ ६३ सम्म पुग्दा अन्त्य भयो । त्यसैले अहिलेका संकीर्ण र स्वतन्त्रताविरोधी कदमहरू पनि धेरै लामो समय टिक्न सक्दैनन् ।’