
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबका प्रतिगामी कदमहरु लामो समय टिक्न नसक्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै ओलीले वर्तमान सरकारप्रति लक्षित गर्दै अहिलेको समयमा दमनकारी शासकको अन्त्य छिटै हुने बताएका हुन् ।

उनले भने- ‘हामी संघर्ष गर्दै आएका छौं, र उपलब्धि हासिल गर्दै आएका छौं र यो ठाउसम्म आएका छौं । हाम्रो संघर्ष कहिले कहिले ब्रेक लागेको छ, एक छिन अधिनायकवादी सोचले काम गरेको होला, अधिनायकवादले रोकेको होला । राणाले, पंचायतकालले रोक्यो, अलिकति अगाडी बढ्न कोशिश गर्दा अहिले फेरी रोक्ने कोशिस गरिएको छ । यो अहिलेको कुरा भनेको जनचेतना जुन स्तरमा पुगेको छ, यसलाई लामो समय रोक्न सकिदैन । अबको प्रतिगामी कदमहरु, अबका स्वतन्त्रता विरोधी कदमहरु लामो समयका लागि हुन सक्दैनन् ।’


उनले आफू ब्यक्तिगत रुपमा विगत ६० बर्षदेखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढिरहेको र जनताका हक अधिकारलाई लिएर लडाईंको मैदानमा उभिइरहेको बताए ।
उनले भने- ‘स्वतन्त्रताको पक्षमा उभिएकाहरुलाई अहिलेका शासकहरूले पनि बुझ्नुपर्छ । अरु अप्ठेरोमा पर्दा रमाउँछ, त्यस्ता शासकहरूको जनताबाट विरोध हुन्छ, त्यस्ता शासकहरूको नाश हुन्छ ।’

ओलीले अहिलेको सरकार छापामार नभइ ‘छापा–मार’ सरकार जस्तो देखिएको टिप्पणी गरेका छन् ।




