देउवा पक्षले तोक्यो महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति संयोजक

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूह (देउवा समुह) ले आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी एकराज पोखरेललाई दिने निर्णय गरेको छ ।

पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३५ अनुसार सङ्खुवासभाका नेता पोखरेललाई निर्वाचन समिति संयोजक तोकेको हो । सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले विज्ञप्तिमार्फत उक्त निर्णय सार्वजनिक गरेका छन् ।

महाधिवेशनका निर्वाचनसम्बन्धी प्रक्रिया निष्पक्ष र व्यवस्थित रूपमा अघि बढाउने जिम्मेवारी पोखरेललाई दिइएको बताइएको छ । देउवा समुहले १५औँ महाधिवेशन आगामी मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

यसैबीच महाधिवेशनको तयारी अघि बढिरहेका बेला नेता डा. शेखर कोइरालाले पार्टी एकता कायम गरेर हुने महाधिवेशनबाहेक अन्य कुनै प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका छन् ।  कोइरालाले कांग्रेस विभाजित अवस्थामा महाधिवेशनमा जानु पार्टीका लागि हितकर नहुने बताउँदै पार्टीभित्रको विवाद समाधान गरेर सबै पक्षलाई समेट्ने गरी एकताको महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।

देउवा समुहमै रहेका नेता पूर्णबहादुर खड्का र उनी पक्षका नेताहरु भने संस्थापन पक्षसँग सहमतिको नजिक रहेको र महाधिवेशनमा माग लिने तयारी गरेको बताइएको छ ।