आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाली कांग्रेसको संस्थापन इतर समूह (देउवा समुह) ले आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी एकराज पोखरेललाई दिने निर्णय गरेको छ । पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३५ अनुसार सङ्खुवासभाका नेता पोखरेललाई निर्वाचन समिति संयोजक तोकेको हो । सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले विज्ञप्तिमार्फत उक्त निर्णय सार्वजनिक गरेका छन् । महाधिवेशनका निर्वाचनसम्बन्धी प्रक्रिया निष्पक्ष र व्यवस्थित रूपमा अघि बढाउने जिम्मेवारी पोखरेललाई दिइएको बताइएको छ । देउवा समुहले १५औँ महाधिवेशन आगामी मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । यसैबीच महाधिवेशनको तयारी अघि बढिरहेका बेला नेता डा. शेखर कोइरालाले पार्टी एकता कायम गरेर हुने महाधिवेशनबाहेक अन्य कुनै प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका छन् ।  कोइरालाले कांग्रेस विभाजित अवस्थामा महाधिवेशनमा जानु पार्टीका लागि हितकर नहुने बताउँदै पार्टीभित्रको विवाद समाधान गरेर सबै पक्षलाई समेट्ने गरी एकताको महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । देउवा समुहमै रहेका नेता पूर्णबहादुर खड्का र उनी पक्षका नेताहरु भने संस्थापन पक्षसँग सहमतिको नजिक रहेको र महाधिवेशनमा माग लिने तयारी गरेको बताइएको छ ।

२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबका प्रतिगामी कदमहरु लामो समय टिक्न नसक्ने बताएका छन् । नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै ओलीले वर्तमान सरकारप्रति लक्षित गर्दै अहिलेको समयमा दमनकारी शासकको अन्त्य छिटै हुने बताएका हुन् ।  उनले भने- ‘हामी संघर्ष गर्दै आएका छौं, र उपलब्धि हासिल गर्दै आएका छौं र यो ठाउसम्म आएका छौं । हाम्रो संघर्ष कहिले कहिले ब्रेक लागेको छ, एक छिन अधिनायकवादी सोचले काम गरेको होला, अधिनायकवादले रोकेको होला । राणाले, पंचायतकालले रोक्यो, अलिकति अगाडी बढ्न कोशिश गर्दा अहिले फेरी रोक्ने कोशिस गरिएको छ । यो अहिलेको कुरा भनेको जनचेतना जुन स्तरमा पुगेको छ, यसलाई लामो समय रोक्न सकिदैन । अबको प्रतिगामी कदमहरु, अबका स्वतन्त्रता विरोधी कदमहरु लामो समयका लागि हुन सक्दैनन् ।’ उनले आफू ब्यक्तिगत रुपमा विगत ६० बर्षदेखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढिरहेको र जनताका हक अधिकारलाई लिएर लडाईंको मैदानमा उभिइरहेको बताए ।  उनले भने- ‘स्वतन्त्रताको पक्षमा उभिएकाहरुलाई अहिलेका शासकहरूले पनि बुझ्नुपर्छ । अरु अप्ठेरोमा पर्दा रमाउँछ, त्यस्ता शासकहरूको जनताबाट विरोध हुन्छ, त्यस्ता शासकहरूको नाश हुन्छ ।’ ओलीले अहिलेको सरकार छापामार नभइ ‘छापा–मार’ सरकार जस्तो देखिएको टिप्पणी गरेका छन् ।

३-  कृष्णभीर पहिरोबाट सडक सञ्चालनमा ल्याउने कार्यअन्तर्गत परीक्षणका रूपमा काठमाडौँ–चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन पास गराइएको छ। त्यस्तै, चितवन–काठमाडौँतर्फबाट एउटा भारी सवारीसाधनसमेत सफलतापूर्वक पास गराइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा जारी रहेको मन्त्रालयले जनाएको छ ।

४- हरितालिका तीज पर्व २०८३ का अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले पाँचवटा दर्शन रुट तोकेको छ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको कोषले जनाएको छ । कोषका अनुसार मित्रपार्क–उमाकुण्डतर्फबाट आउने भक्तजनले उमाकुण्ड, दक्षिणामूर्ति, कैलाश र बद्रिनसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट प्रवेश गरी उत्तरतर्फको मार्गबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै, गौशाला–जयबागेश्वरीतर्फबाट आउने भक्तजनका लागि जयबागेश्वरी, दथुःटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार हुँदै अस्थायी आकाशे पुलबाट भुवनेश्वरी, नासलचोक र शंकराचार्यमठ हुँदै पश्चिमतर्फको काठको मार्गबाट दर्शन गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, सिनामंगल–विमानस्थलतर्फबाट आउने भक्तजनले तिलगंगा, राममन्दिर, बागमती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल हुँदै पूर्वी ढोकाबाट दर्शन गर्न सक्नेछन् भने पिङ्गलास्थानतर्फबाट आउनेका लागि चार शिवालय, पञ्चदेवल, वृद्धाश्रम हुँदै दक्षिणतर्फबाट मन्दिर प्रवेश गरी दक्षिणी भागबाट दर्शन गर्ने व्यवस्था गरिएको छ । कोषका अनुसार मन्दिर बाहिर पाँचवटा लाइन रहनेछन् भने परिसरभित्र प्रवेश गरेपछि भक्तजनलाई आठवटा लाइनमा विभाजन गरिनेछ । उत्तरतर्फ तीन, पूर्वतर्फ दुई, दक्षिणतर्फ एक र पश्चिमतर्फ दुई लाइन रहनेछन् । एकपटकमा आठ जना भक्तजनले दर्शन गर्न सक्ने गरी छिटो, सहज र व्यवस्थित दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ । कोषले सबै भक्तजनलाई तोकिएको दर्शन मार्ग प्रयोग गरी सुरक्षित र व्यवस्थित रूपमा दर्शन गर्न आग्रह गरेको छ ।

५-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वास्तविक कारण र घटनाक्रम पत्ता लगाउन उच्चस्तरीय वैज्ञानिक अध्ययन अघि बढाउने भएको छ । मन्त्रालयले हिमाली क्षेत्रमा बाढी उत्पन्न हुनुका भौगोलिक, हिमनदीय, जलविज्ञानसम्बन्धी कारण तथा जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे अध्ययन गर्न विज्ञसहितको उच्चस्तरीय वैज्ञानिक समिति गठन गर्ने जनाएको छ । समितिले सोमबारदेखि काम अघि बढाउने मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्तावअनुसार भोटेकोशीको बाढीलाई सामान्य बाढी वा अतिवृष्टिका रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न जोखिम एकपछि अर्को जोडिएर विकसित भएको सम्भावित ‘श्रृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गरिनेछ । अध्ययन तीन चरणमा हुनेछ। पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ । दोस्रो चरणमा बाढीका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ। तेस्रो चरणमा मानवजनित जलवायु परिवर्तनले जोखिमको सम्भावना र तीव्रतामा पारेको प्रभाव वैज्ञानिक रूपमा मूल्याङ्कन गरिनेछ । अध्ययनमा हिमनदी विज्ञान, भूगर्भशास्त्र, पहिरो विज्ञान, जलविज्ञान, मौसम तथा जलवायु विज्ञान, दूरसंवेदी प्रविधि र विपद् जोखिम व्यवस्थापनलगायत विभिन्न क्षेत्रका विज्ञलाई सहभागी गराइनेछ । आवश्यकताअनुसार अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराउने तयारी छ । भोटेकोशी–ल्हेन्दे नदी प्रणाली सीमापार क्षेत्रमा फैलिएको भएकाले चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक सूचनासमेत अध्ययनमा समेटिनेछ। आवश्यक वैज्ञानिक सहकार्य र तथ्यांक आदानप्रदानका लागि संयन्त्र विकास गर्ने प्रस्ताव गरिएको छ । वैज्ञानिक समितिले बाढीको सम्भावित उद्गमस्थलको स्थलगत निरीक्षण गर्नुका साथै तस्वीर र भिडियो अभिलेख तयार गर्नेछ। आवश्यकताअनुसार ड्रोन तथा भूउपग्रहबाट प्राप्त विवरणसमेत प्रयोग गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले समितिलाई अध्ययन पूरा गरी प्रतिवेदन बुझाउन दुई महिनाको समय दिने तयारी गरेको छ। अध्ययनबाट बाढीको वास्तविक उत्पत्ति, घटनाको क्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक प्रमाणमा आधारित निष्कर्ष निकालिने अपेक्षा गरिएको छ ।

६-  बलिवुड अभिनेता यशको फिल्म ‘टक्सिक’ ले पहिलो दिन करिब १४० करोड भारतीय रुपैयाँको विश्वव्यापी कमाइ गरे पनि त्यसपछि व्यापारमा ठूलो गिरावट आएपछि फिल्मलाई फ्लप भनिएको छ । भारतमा पहिलो दिन करिब १०१ करोड भारतीय रुपैयाँ खुद कमाएको फिल्मको दोस्रो दिनको कमाइ करिब ३७ करोडमा झरेको थियो । व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्म असफल हुनुको मुख्य कारण कमजोर कथा र विषयवस्तु हो । यशको लोकप्रियताका कारण फिल्मले उत्कृष्ट सुरुआत गरे पनि दर्शकलाई लामो समयसम्म हलसम्म तानिराख्न सकेन । फिल्मको १५औँ दिनसम्मको विश्वव्यापी कमाइ करिब ३३९.३२ करोड भारतीय रुपैयाँ पुगेको बताइएको छ । ठूलो लगानीका कारण फिल्मले अपेक्षित व्यापार गर्न नसकेको विश्लेषण गरिएको छ । फिल्ममा करिब ३०० देखि ३५० करोड भारतीय रुपैयाँ घाटा भएको चर्चा भए पनि वास्तविक घाटा कति भयो भन्ने यकिन नभएको बताइएको छ । निर्माण लागत, वितरण अधिकार तथा डिजिटल, टेलिभिजन र संगीत अधिकारबाट भएको आम्दानी जोडेर मात्र वास्तविक घाटा निर्धारण गर्न सकिने विश्लेषक आदर्शको भनाइ छ । उनका अनुसार ‘केजीएफ’पछि यशको बढेको लोकप्रियताले ‘टक्सिक’लाई ठूलो सुरुआत दिलाए पनि कमजोर कथा र दर्शकको मिश्रित प्रतिक्रियाका कारण फिल्मले त्यसलाई निरन्तरता दिन सकेन । अन्य ठूला फिल्मले पनि पछि पर्दामा बढी स्थान पाएपछि ‘टक्सिक’को प्रदर्शन थप प्रभावित भएको थियो । फिल्ममा यशसँगै कियारा आडवाणी, नयनतारा, हुमा कुरेसी, तारा सुतारिया र रुक्मिणी वसन्तले प्रमुख भूमिका निर्वाह गरेका छन् । फिल्मको निर्देशन गीतु मोहनदासले गरेकी हुन् ।

images

७- इन्डोनेसियाको जाभा सागरमा खराब मौसमका कारण सम्पर्कविहीन भएको यात्रुवाहक फेरी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ९७ जनाको उद्धार गरिएको छ । इन्डोनेसियाको उद्धार तथा खोजी निकायका अनुसार २४३ जना सवार ‘भिर्गो ट्रान्सपोर्ट ८’ फेरी सुराबायाबाट बन्जारमासिनतर्फ जाँदै गर्दा आइतबार बिहान सम्पर्कविहीन भएको थियो । बाँकी यात्रुको खोजी जारी रहेको र उद्धारका लागि नौसेना, समुद्री प्रहरी तथा अन्य निकायको संयुक्त टोली परिचालन गरिएको बताइएको छ । घटनास्थलमा विभिन्न जहाज र हेलिकोप्टर पठाइएको छ भने जाभा सागरमा रहेका अन्य जहाजलाई समेत यात्रु फेला परे जानकारी दिन आग्रह गरिएको छ । उद्धार निकायले जहाजको अन्तिम अवस्थिति एउटा घाटबाट करिब १४८ किलोमिटर टाढा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ । करिब १७ हजार द्वीप रहेको इन्डोनेसियामा एक द्वीपबाट अर्को द्वीपमा आवतजावतका लागि पानीजहाजमा ठूलो निर्भरता छ । तर सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन नहुँदा त्यहाँ पानीजहाज दुर्घटनाको जोखिम उच्च रहने गरेको छ ।

८-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृहकार्य गरिरहेको जानकारी दिए ।  उनले भने- ‘जोखिममा रहेका हिमतालहरु ब्लास्टिङ गरेर जलसतह पास गर्नेगरी छलफल अघि बढेको छ । जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नैपर्छ । विपद् जोखिमको पूर्वतयारीमा हामी गम्भीर छौं । तयारी सकिएपछि निर्णय लिनेछौं ।’ मन्त्री श्रेष्ठले कुन कुन ताल फुटाउने भनेर टुंगो नलागिसकेको बताउदै भने- ‘विज्ञहरुसँग परामर्श लिँदैछौं । छलफलमा धेरै तालहरुको नाम विज्ञहरुबाट आएको छ । अध्ययन गरिरहेका छौं । जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौं ।’  मन्त्री श्रेष्ठकाअनुसार ग्रिन क्लाइमेट फण्ड (जीसीएस) बाट प्राप्त सहयोग परिचालन गरेर विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ । इसिमोड र युएनडिपीको संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त छन् भने कोशी र गण्डकी क्षेत्रमा चार वटा अति उच्च जोखिमयुक्त हिमताल रहेका छन् ।

images

९- यमनका हुथी विद्रोहीले दक्षिणी साउदी अरबमा रहेको एक सैन्य अखडालाई ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत निशाना बनाएको दाबी गरेका छन् । हुथी सैन्य प्रवक्ता याह्या सारीले सामाजिक सञ्जालमार्फत आक्रमणबारे जानकारी दिँदै दक्षिणी साउदी अरबको शरुराह सैन्य अखडामा आक्रमण गरिएको बताएका छन् । उनका अनुसार आक्रमणमा साउदी अरबका हतियार भण्डार तथा नियन्त्रण केन्द्रलाई निशाना बनाइएको थियो । यद्यपि आक्रमण कहिले भएको हो भन्नेबारे उनले स्पष्ट जानकारी दिएका छैनन् । उनले यमनविरुद्ध सैन्य कारबाही जारी राखिए साउदी अरबभित्र थप ठूलो आक्रमण गर्न सक्ने चेतावनीसमेत दिएका छन् । यसैबीच, अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार साउदी युवराजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुथी विद्रोहीविरुद्ध सैन्य कारबाही गर्न गरेको आग्रह ट्रम्पले अस्वीकार गरेको रिपोर्टमा उल्लेख छ ।

images

१०- मिलेनियम च्यालेन्ज सम्झौताअन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले नेपाल–भारत सीमासम्म जोडिने सीमापार विद्युत् प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न गरेको छ । न्यू बुटवलस्थित ४०० केभी क्षमताको सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको उक्त खण्ड निर्धारित समयमै निर्माण सम्पन्न गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहअनुसार निर्माण कार्यलाई तीव्रता दिइएको एमसीए–नेपालले जनाएको छ । निर्माण सम्पन्न भएपछि नेपालतर्फको सीमापार प्रसारण लाइनअन्तर्गत एमसिए–नेपालले गर्नुपर्ने मुख्य निर्माण कार्य पूरा भएको छ । अब नेपाल–भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक स्वीकृति तथा अन्य बाँकी काम अघि बढाइने बताइएको छ । कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा सहकार्य विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेल र नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पनि समयमै निर्माण सम्पन्न भएकोमा एमसिए–नेपाललाई बधाई दिएका थिए । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सरकारको आग्रहअनुसार आवश्यक स्रोतसाधन, निर्माण व्यवसायी र साझेदारलाई परिचालन गरी छोटो समयमै निर्माण सम्पन्न गरिएको बताएका थिए । एमसीए नेपालको विद्युत् प्रसारण आयोजनाअन्तर्गत कुल ३१५ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण गर्ने योजना रहेको छ। आयोजनाले नेपालको विद्युत् आपूर्ति तथा प्रसारण प्रणाली सुधार, ऊर्जा सुरक्षा, भविष्यमा बढ्ने विद्युत् उत्पादन र सीमापार विद्युत् व्यापारलाई सहयोग गर्ने लक्ष्य राखेको छ ।

११- प्रधानसेनापति अशोकराज सिग्देल चीनको निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देलको भ्रमण असोज ३ गतेसम्म हुनेछ । भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान मञ्चमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । भ्रमणअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति सिग्देललाई सम्मानगारत अर्पण गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले उनलाई बिदाइ गरेका थिए । नेपाली सेनाले भ्रमणबाट नेपाल–चीनबीचको सैनिक सम्बन्ध थप विस्तार हुनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ ।

१२-  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण अहिलेसम्म १ हजार ३८८ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १८५ जना, नुवाकोटमा १९९ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३० जना र नवलपरासी पश्‍चिममा २२२ जना र काठमाडौँमा उपचारको क्रममा २ जनाको मृत्यु भएको गरी १ हजार ३८८ जनाको शव फेला परेको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी कुल ३ हजार १३२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३५४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ७१२ जना व्यक्तिहरूलाई राखिएको छ ।

१३- आगामी ९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) का लागि नेपालको तर्फबाट चलचित्र ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ सिफारिस भएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले सन् २०२७ मा हुने अस्कर अवार्डको ‘बेस्ट इन्टरनेसनल फिचर फिल्म’ विधाका लागि चलचित्र ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ लाई छनोट गरिएको जानकारी दिएको हो । प्रतिस्पर्धाका लागि समितिमा ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ गरी दुई नेपाली चलचित्र दर्ता भएका थिए । एकेडेमीका मापदण्डअनुसार प्राप्त चलचित्रहरूको अध्ययन र मूल्यांकनपछि अन्तिम चयन गरिएको समितिले जनाएको छ । समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी विज्ञप्तिअनुसार प्राविधिक र कलात्मक दुवै दृष्टिले उत्कृष्ट ठहरिएकाले उक्त चलचित्रलाई नेपालको आधिकारिक प्रतिनिधित्वका रूपमा सिफारिस गरिएको हो । अभिनाश विक्रम शाहद्वारा निर्देशित चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले ७९औँ कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत जुरी पुरस्कार जितेको थियो ।

Nepal life insurance

१४- सरकारले विद्यालय शिक्षालाई व्यवहारिक, सीपमूलक र जीवनोपयोगी बनाउने उद्देश्यले आगामी शैक्षिक सत्रदेखि ‘बुक फ्रि फ्राइडे’ र ‘सीपमा आधारित शिक्षा’ अवधारणा देशभर लागू गर्ने तयारी गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका क्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाबाट सुझाव संकलन भइरहेको बताएका छन् । उनका अनुसार बदलिँदो प्रविधि, रोजगारीको आवश्यकता र नयाँ पुस्ताको मागअनुसार पाठ्यक्रम परिमार्जन गरिनेछ । सातै प्रदेशमा गरिएको सुझाव संकलनमा प्रविधि, कृत्रिम बौद्धिकता, जीवनोपयोगी सीप, प्राविधिक तथा व्यावसायिक शिक्षा, नैतिक शिक्षा र साइबर सुरक्षालाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव आएको छ । पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा २८ जिल्लामा सुझाव संकलन गरिरहेको छ भने दोस्रो चरणमा ७७ वटै जिल्लामा पुगेर सुझाव लिने जनाएको छ ।

१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १२ सयले बढेर तोलाको ३ लाख २ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ४६६० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४६०० मा कारोबार भएको थियो ।

१६-  एआई कम्पनी एन्थ्रोपिकका प्रमुख दारियो अमोडेइले कृत्रिम बुद्धिमत्ताको विकासको गति केही घटाएर त्यसको सुरक्षामा कडा निगरानी गर्न आग्रह गरेका छन् । शनिबार सार्वजनिक गरेको लेखमा अमोडेइले एआई विकास रोक्नुपर्ने नभई यसको बढ्दो जोखिम नियन्त्रण गर्न कम्पनी र सरकारलाई पर्याप्त समय दिनुपर्ने बताएका छन् । उनले एआई प्रणाली विकासकै क्रममा स्वतन्त्र निगरानी, उद्योगस्तरीय नियम र विश्वव्यापी नियमन लागू गर्नुपर्ने प्रस्ताव गरेका छन् । अमोडेइको प्रस्तावलाई प्रतिद्वन्द्वी कम्पनीका प्रमुख ओपनएआईका साम अल्टम्यान र एलन मस्कले पनि समर्थन गरेका छन् । अल्टम्यानले स्वतन्त्र सुरक्षा मूल्याङ्कन आवश्यक रहेको बताएका छन् भने मस्कले अमोडेइको धारणा सही भएको बताएका छन् । पछिल्लो समय एआईको शक्तिशाली साइबर आक्रमण क्षमता र मानव नियन्त्रणबाहिर जान सक्ने सम्भावनाबारे चिन्ता बढेको छ । एन्थ्रोपिकका पूर्व अनुसन्धानकर्ता ज्याकोब कक्सनले एआई विकासको वर्तमान गति नघटाए मानव अस्तित्वमै गम्भीर खतरा आउन सक्ने चेतावनी दिएका छन् । अमोडेइले विकासको गति केही घटाउँदा एआईका जोखिम कम गर्ने प्रविधि विकासका लागि थप एक–दुई वर्ष प्राप्त हुन सक्ने बताएका छन्। तर उनले यस्तो कदम अमेरिका मात्र सीमित नभई चीनसहित विश्वभर समन्वयमा हुनुपर्ने धारणा राखेका छन् । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने एआई विकास सुस्त पार्ने विषयमा चिन्ता व्यक्त गरेका छैनन् । उनले एआईको दौडमा अमेरिका पछि परे गम्भीर असर पर्ने बताएका छन् । एआई विकास सुस्त पार्ने प्रस्तावलाई केही आलोचकले भने सुरक्षाभन्दा पनि ठूला कम्पनीले यस क्षेत्रमा आफ्नो नियन्त्रण बढाउने प्रयासका रूपमा समेत व्याख्या गरेका छन् ।

१७- काजकिस्तानकी एलेना रिबाकिनाले आरिना साबालेन्कालाई ६-४, ५-७, ६-२ ले हराउँदै पहिलोपटक अमेरिकी ओपन टेनिसको महिला एकल उपाधि जितेकी छन् । रिबाकिना यसअघि नै नयाँ विश्व नम्बर एक बन्ने निश्चित भइसकेकी थिइन् । साबालेन्कालाई पराजित गर्दै उनले आफ्नो तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् । उनले सन् २०२२ मा विम्बल्डन र यसै वर्ष अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् । दुईपटककी साविक विजेता साबालेन्का लगातार तेस्रोपटक अमेरिकी ओपन उपाधि जितेर शीर्ष वरीयता गुमाएको पीडा कम गर्न चाहन्थिन् । तर निर्णायक सेटमा रिबाकिनाको संयम र उत्कृष्ट प्रत्याक्रमणका अगाडि उनी कमजोर देखिइन् ।

१८- काठमाडौंमा खाना पकाउने ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले ग्यास विक्रेता तथा वितरकलाई ग्यास प्राप्त हुनासाथ उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ । प्रशासनले काठमाडौं जिल्लाभर सघन अनुगमन भइरहेको जनाउँदै सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिए कारबाही गर्ने चेतावनी दिएको छ । ग्यास लुकाएर वा भण्डारण गरेर बिक्री नगरेको पाइए तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ । ग्यास लुकाएको वा भण्डारण गरेर बिक्री नगरेको सूचना भए जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३३८३२२ मा जानकारी गराउन प्रशासनले उपभोक्तालाई आग्रह गरेको छ ।

१९- इङलिश प्रिमियर लिगअन्तर्गत गएराती सम्पन्न खेलमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन् । लिभरपुल फुलहमसँग गोलरहित बराबरीमा रोकिँदा चेल्सीले हल सिटीसँग २-२ गोलको बराबरी खेलेको थियो । एनफिल्डमा भएको खेलमा लिभरपुल र फुलहमले गोल गर्न सकेनन् भने घरेलु टोलीले आक्रमणमा दबाब बनाए पनि फुलहमको रक्षापंक्तिले बलियो प्रदर्शन गर्दै लिभरपुललाई रोक्न सफल भएको थियो । सेलहर्स्ट पार्कमा इप्सविच टाउनले क्रिस्टल प्यालेसलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । अनान खलाइलीले प्यालेसलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि इप्सविचका एमरसन र लेइफ डेभिसले गोल गर्दै टोलीलाई २- १ को अग्रता दिलाएका थिए। जोर्गेन स्ट्रान्ड लार्सेनले प्यालेसका लागि बराबरी गोल गरेका थिए । त्यसपछि  इप्सविचका जियान फ्लेमिंगले खेलको ९०औं मिनेटमा गोल गर्दै जित दिलाएका थिए । प्यालेसका एक्सेल डिसासी रातो कार्ड पाएपछि खेलको ३४औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । भाइटालिटी रंगशालामा बर्नमाउथ र ब्रेन्टफोर्डबीच पनि २-२ को बराबरी भयो । ब्रेन्टफोर्डका केभिन शाडेले दुई गोल गरेका थिए भने बर्नमाउथका जस्टिन क्लुइभर्ट र मार्कस टाभर्नियरले एक-एक गोल गरेका थिए । त्यस्तै, भिल्ला पार्कमा नटिङ्घम फरेस्टले एस्टन भिल्लालाई २-१ ले पराजित गरेको थियो । लियाम डेलाप र इगोर जेससले फरेस्टका लागि गोल गरेका थिए भने एलिसनले भिल्लाका लागि बराबरी गोल गरेका थिए । त्यसैगरी, स्टामफोर्ड ब्रिजमा चेल्सी र हल सिटीबीच २-२ को रोमाञ्चक बराबरी भयो । मोर्गन रोजर्सले चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । हलका मोहम्मद बेल्लौमीले लगातार दुई गोल गर्दै टोलीलाई २-१ ले अघि बढाएका थिए । त्यसपछि खेलको ६६औं मिनेटमा जोआओ पेड्रोले चेल्सीका लागि बराबरी गोल गर्दै घरेलु टोलीलाई एक अंक दिलाएका थिए ।

२०- रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराइने भएको छ । मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनका लागि राहत रकम उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ । चार जनासम्म सदस्य भएका परिवारले मासिक १५ हजार रुपैयाँ पाउनेछन् भने चार जनाभन्दा बढी सदस्य भएको परिवारका लागि थप प्रत्येक सदस्य बराबर मासिक दुई हजार रुपैयाँ उपलब्ध गराइनेछ । बाढीबाट पूर्ण रूपमा क्षति भई बसोबास गर्न अयोग्य भएका निजी आवासका परिवारमध्ये होल्डिङ सेन्टरमा नबसी आफ्नै तरिकाले अस्थायी बसोबास गर्न चाहने परिवारले मात्र यस्तो राहत पाउनेछन् । वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा ६ महिनासम्म राहत रकम उपलब्ध गराइनेछ ।