आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि प्रयोग हुने प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ । कोषको रकममध्ये नौ वाणिज्य बैंकमा १० अर्ब ८ करोड ४३ लाख रुपैयाँ र दुई वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर रहेको प्रधानमन्त्रीको कार्यलयले जानकारी दिएको छ । त्यस्तै बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलमा पूर्वाधार पुनर्निर्माण र नागरिकको पुनर्स्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२- भारतको पावर मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ । भारतको पावर मन्त्रालयका अनुसार सेप्टेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म नेपाल विद्युत् प्राधिकरणलाई मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत ६०० मेगावाटसम्म र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनमार्फत ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ । बाढीका कारण नेपालको जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि आन्तरिक विद्युत् उत्पादन घटेकाले भारतले थप विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो । भारतले सन् २०२७ जनवरीदेखि विद्युत् निर्यातको परिमाणबारे डिसेम्बर २०२६ मा पुनरावलोकन गर्ने जनाएको छ । भारतले यस निर्णयले कठिन अवस्थामा नेपालको विद्युत् आवश्यकता पूरा गर्न सहयोग पुग्नुका साथै दुई देशबीचको ऊर्जा सहकार्य थप बलियो हुने मन्त्रालयले बताएको छ ।

३-  नेपाली कांग्रेसका नेता तथा १४औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको विवाद संवाद र सहमतिबाट समाधान गर्नुपर्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको निर्णय र संवादलाई बेवास्ता गर्दै एकतर्फी रूपमा महाधिवेशन अघि बढाउनु उचित नभएको बताए । उनले पार्टीको लोकतान्त्रिक मूल्य, वैधानिकता र एकतालाई कमजोर पार्ने गरी पद बाँडफाँडलाई समाधानको आधार बनाउन नहुने उल्लेख गरे । ‘नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन,’ उनले भने । कोइरालाले विधि र प्रक्रिया मिचेर संस्थापन पक्षले अघि बढाउन लागेको महाधिवेशनमा सहभागी नहुन आग्रह गर्दै आफुहरले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई अपिल गरेका छन् । देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्व भएको दाबि गर्दै असोज १५ गतेदेखि वडा हुदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सबै कांग्रेसका नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

४- रसुवामा आएको बाढीपछि क्षतिग्रस्त जलविद्युत आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा नेपाली सेनासहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ । रसुवागढी जलविद्युत आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको टोलीले सुरुङभित्र खोजी गरिरहेको छ। लाङ्टाङ जलविद्युत आयोजनामा पनि विदेशी प्राविधिकसहितको टोलीले ड्रोनमार्फत सुरुङभित्र खोजी गरे पनि हालसम्म केही फेला परेको छैन । चिलिमे जलविद्युत आयोजनामा डोजर र लोडरको प्रयोग गरी करिब १ सय मिटर भग्नावशेष हटाइएको छ । सुरुङभित्र पानी भेटिएपछि पानी हटाउने काम भइरहेको छ भने उद्धार टोलीले डोरीको सहायताले सुरुङभित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ। साथै, खोला वारपार गर्न तुइन जडान गरिएको छ । माथिल्लो त्रिशूली–१ मा नेपाली सेना तथा आयोजनाका प्रतिनिधिले खोजी जारी राखेका छन् । त्रिशूली–३ एमा विद्युत् गृह र सुरुङ क्षेत्रमा संयुक्त टोलीले खोजी गरिरहेको छ । त्रिशूली–३ बीमा नेपाली सेनासहितको संयुक्त टोलीले डोजर र पछाडि खन्ने यन्त्रको प्रयोग गरी आवास गृह, कार्यालय भवन तथा सुरुङ क्षेत्रमा खोजी गरिरहेको र टोलीले अहिले विद्युत् गृह क्षेत्रतर्फ खोजी केन्द्रित गरेको नेपाली सेनाले जनाएको छ ।

५-  रूस–युक्रेन युद्धको असर विश्व इन्धन बजारमा देखिन थालेको छ । अमेरिकामा डिजेलको औसत मूल्य पहिलोपटक प्रतिग्यालन ६ डलरभन्दा माथि पुगेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रूसी तेल प्रशोधन केन्द्रमा डिजेल उत्पादन प्रभावित हुने गरी हमला नगर्न आग्रह गरेका छन् । युक्रेनले पछिल्ला महिनामा रूसी तेल प्रशोधन केन्द्रमा ड्रोन हमला बढाएपछि रूसको इन्धन उत्पादन प्रभावित भएको छ । यसले रूसभित्रै इन्धन अभाव बढाउनुका साथै विश्व बजारमा पनि आपूर्ति चिन्ता थपेको छ । यसैबीच कच्चा तेलको मूल्य पनि तीव्र रूपमा बढेको छ। पछिल्लो कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब १०७.६१ डलर प्रतिब्यारेल र अमेरिकी डब्ल्युटीआई १०२.५३ डलर प्रतिब्यारेल पुगेको छ । पछिल्लो एक सातामै ब्रेन्टको मूल्य करिब ९ प्रतिशतले बढेको छ । मध्यपूर्वमा तेल पूर्वाधारमाथि भएका हमला र साउदी अरबको महत्वपूर्ण तेल पाइपलाइन अस्थायी रूपमा बन्द हुनुले आपूर्ति संकटको चिन्ता थपेको छ । विज्ञहरूले विश्व बजारमा आपूर्तिको दबाब कायम रहे तेलको मूल्य अझ बढ्न सक्ने चेतावनी दिएका छन् । महँगो तेल र डिजेलको असर यातायात, कृषि तथा उत्पादन लागतमा पर्ने भएकाले आगामी दिनमा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्न सक्ने जोखिम देखिएको छ।

६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रधानमन्त्री राहत कोषमा थप जनही १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन् । संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार यसअघि नै पार्टीका तर्फबाट राहत कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय भइसकेको छ । त्यसमा सांसदहरूको मासिक लेवीसमेत समावेश गरिएको थियो । यसका अतिरिक्त सांसदहरूले व्यक्तिगत रूपमा रकम योगदान गर्ने स्वघोषणा गरेकाले न्यूनतम १५ हजार रुपैयाँका दरले करिब २७ लाख १५ हजार रुपैयाँ थप जम्मा हुने बुर्लाकोटीले जानकारी दिएका छन् ।

७-  प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठकमा सहभागी भएर फर्किँदै गरेका किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् ।  उनी सिंहदरवारको गेटबाटै पक्राउ परेका हुन् । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ सोमबार प्रधानमन्त्री शाहले बोलाएको बैठकमा सहभागी थिए । प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका थिए। सोही छलफलपछि फर्किँदै गरेका अध्यक्ष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई बैंकिङ कसूरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी जानकारी दिएको छ ।

images

८-  नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्ज्यानी चिह्न र संरचना प्रयोग गरेको आरोप लागेको ‘ग्रीन आर्मी नेपाल’ सम्बन्धी विवादमा सर्वोच्च अदालतले सरकार र सुरक्षा निकायलाई अन्तरिम आदेशको छलफलमा बोलाएको छ । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले अन्तरिम आदेसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह तथा रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतलाई छलफलमा झिकाएको हो । इजलासले असोज ५ गते छलफलमा बोलाउदै पेसी तोक्न आदेश दिएको छ । अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले भदौ २६ गते रिट दर्ता गरेको निवेदनमा ग्रीन आर्मीको दर्ता खारेज गरी सैनिक शैलीको पोसाक, दर्जा र चिह्न प्रयोगमा रोक लगाउन माग गरेका छन् । भोटेकोशी बाढीपछि ग्रीन आर्मीका सदस्य सैनिक शैलीको पोसाकमा उद्धार तथा राहतमा खटिएपछि यसको वैधानिकता र गतिविधिमाथि प्रश्न उठेको थियो । सर्वोच्चको आगामी छलफलपछि ग्रीन आर्मीका गतिविधि रोक्ने वा निरन्तरता दिने विषयमा थप निर्णय हुने भएको छ ।

९- प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले सरकारी तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन परिचालन गरी पुनःस्थापनाको काम अघि बढाइने बताएका हुन् । प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो छिटो पुनःस्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको बताए । सडक सञ्चालन भएपछि प्रभावितलाई सामान्य अवस्थामा फर्कन सहज हुने उनको भनाइ थियो । उनले भोटेकोशी नदी किनारका जोखिमयुक्त क्षेत्रमा अब पुनः बस्ती बसाउन सम्भव नहुने भन्दै सुरक्षित स्थानमा नयाँ बस्ती विकासको तयारी भइरहेको जानकारी दिए । नयाँ बस्ती बसाउँदा रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमिनको संरक्षणलाई ध्यान दिनुपर्ने उनले बताए । प्रधानमन्त्री शाहले सुरक्षित स्थान पहिचान गरी संघीय सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलले बाढीपछिको वास्तविक अवस्था बुझ्न महत्वपूर्ण सहयोग पुगेको उनले बताए ।

images

१०- नेप्सेमा आज वृद्धि भएको छ । आज सोमबार नेप्से २५.५५ अंकले बढेर २५८५.०४ विन्दुमा पुगेर रोकिएको छ । आज ३३६ कम्पनिका एक करोड १५ लाख ९५ हजार ६५४ कित्ता शेयर ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार ३०३ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी इन्फिनिटी लघुवित्तको शेयर ६.४३ प्रतिशतले बढेको छ भने त्रिशुली जलविद्युतको शेयर ६.३८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकार लघुवित्तको शेयर ८.२३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टकोको २४ करोड ९० लाख बराबरको कारोबार भएको छ भने लिबर्टी इनर्जी २३ करोड ८४ लाख बराबरको कारोबार भएको छ ।

११- एप्पलले आइफोनका लागि नयाँ मोबाइल प्रणाली आइओएस २७ अपडेट शुरु गरेको छ । कम्पनीका अनुसार यो अद्यावधिक सेप्टेम्बर १४ देखि विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । आइओएस २७ मा सबैभन्दा ठूलो परिवर्तन सिरीमा गरिएको छ । नयाँ सिरीले प्रयोगकर्ताका प्रश्नलाई सन्दर्भसहित बुझेर विभिन्न काम गर्न सक्ने बताइएको छ । यसमा कृत्रिम बुद्धिमत्तामा आधारित नयाँ सुविधा, क्यामेराबाट वस्तु तथा स्थान पहिचान गर्ने क्षमता, तस्बिर र सफारीमा नयाँ सुविधा तथा बालबालिकाको सुरक्षाका लागि थप नियन्त्रण दिइएको छ । एप्पलका अनुसार आइफोन ११ र त्यसपछिका सबै मोडलमा आइओएस २७ उपलब्ध हुनेछ । दोस्रो र तेस्रो पुस्ताका आइफोन एसईमा पनि नयाँ प्रणाली चल्नेछ ।

images

१२-  गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको भदौ २८ गते आइतबारसम्मको चलचित्र गौथली, पार्वती र तिनीहरु इलेफेन्ट इन द फगको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ९३ लाख ७४ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ४० हजार ५६२ टिकट बिक्री गरेको छ । त्यसैगरी भदौ १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पार्वतीले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । चलचित्रले अहिलेसम्म २ करोड ५ लाख ८५ हजार कमाई गरेको छ भने अहिलेसम्म ७३ हजार २२३ टिकट विक्री भएका छन् । त्यस्तै अन्तर्राष्ट्रियरुपमा चर्चामा आएको तिनीहरु इलेफेन्ट इन द फगले अहिलेसम्म ८५ लाख ९५ हजार कमाइ गरेको छ । यस चलचित्रले २४ हजार ४८६ टिकट बिक्री गरेको छ । यो फिल्मलाई नेपालबाट आउदो ओस्कारका लागि समेत सिफारिस गरिएको छ ।

१३- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार विहान ११ बजेसम्म १३ सय ९२ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १८६ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्‍चिममा २२२ जना गरी १ हजार ३९२ जनाको शव फेला परेको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८५३ गरी कुल ३ हजार १३९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३५४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।  बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ७८१ जना व्यक्तिहरूलाई राखिएको छ ।

१४- अमेरिकाले गत जुलाईमा जोर्डनस्थित अमेरिकी सैन्य केन्द्रमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा चिनियाँ संस्थाले उपलब्ध गराएको उच्च गुणस्तरको भूउपग्रह तस्बिर प्रयोग भएको दाबी गरेको छ । उक्त आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो । अमेरिकी अधिकारीहरूका अनुसार चिनियाँ कम्पनीले इरानलाई अमेरिकी सैन्य लक्ष्य पहिचान गर्न सहयोग पुग्ने सूचना उपलब्ध गराएको थियो । चीनले भने यस्तो आरोप अस्वीकार गर्दै इरानलाई दिइएको सहयोग अन्तर्राष्ट्रिय कानुनअनुसार रहेको जनाएको छ । अमेरिकाले यसअघि नै इरानलाई भूउपग्रह तस्बिर उपलब्ध गराएको आरोपमा तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो घटनाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको आगामी भेटअघि दुई देशबीच तनाव बढ्न सक्ने आशंका गरिएको छ । अमेरिकी अधिकारीहरूले चीन वा रुसले इरानलाई अमेरिकी सैन्य तथा नौसैनिक गतिविधिको निगरानीका लागि उच्च गुणस्तरका भूउपग्रह तस्बिर र लक्ष्यसम्बन्धी सूचना उपलब्ध गराइरहेको हुन सक्ने आशंका गरेका छन् ।

Nepal life insurance

१५-  प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि हुने बताएका छन् । राष्ट्रिय बाल दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकाको सुख, समृद्धि, सुस्वास्थ्य, सफलता र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । यस वर्ष ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने बताएका छन् । उनले बालअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, सञ्चार क्षेत्र तथा सम्पूर्ण सरोकारवालाप्रति सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिले सुनिश्चित गरेका अधिकारलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा व्यवहारमै अनुभूति गराउनु अबको मुख्य प्राथमिकता हुनुपर्ने बताएका छन् । यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र जिम्मेवारी आवश्यक रहेको उनको भनाइ छ। स्थानीय तहले बालबालिकाको नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने उनले बताएका छन् ।

१६- त्रिशूली नदीको बाढीले क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सडक विभागले असोज १ गतेदेखि उक्त खण्डमा यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ । २०८३ भदौ १० र १४ गते आएको विनाशकारी बाढीले कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । त्यसपछि सडक विभागले नयाँ मार्ग निर्माण तथा सडक पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गर्दै आएको छ । भदौ २८ गते निर्माणाधीन मार्गमा सवारीसाधन सञ्चालनको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा काठमाडौँबाट चितवनतर्फ ग्यास बोकेको एउटा बुलेटसहित करिब २० वटा सवारीसाधन तथा चितवनबाट काठमाडौँतर्फ एउटा भारी सवारीसहित केही हलुका सवारीसाधन सञ्चालन गरिएको थियो। परीक्षण सफल भएको विभागले जनाएको छ । तर सडक स्तरोन्नति र सुरक्षासम्बन्धी केही काम अझै बाँकी रहेकाले हाल कृष्णभीर खण्डबाट कुनै पनि सवारीसाधन सञ्चालन गर्न दिइएको छैन । सडक विभागका अनुसार बाँकी काम पूरा गरी असोज १ गतेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । त्यसअघिसम्म यात्रु तथा चालकले कृष्णभीर खण्डबाट आवागमन नगर्न विभागले आग्रह गरेको छ । सडक सञ्चालनमा नआएसम्म सम्बन्धित निकायबाट जारी हुने सूचना र वैकल्पिक मार्गसम्बन्धी निर्देशन पालना गर्न तथा सडक पुनर्निर्माणमा सहयोग गर्न विभागले सबै यात्रु, चालक र सरोकारवालालाई अनुरोध गरेको छ ।

१७-  एसिया कप महिला क्रिकेटको उपाधि जितेपछि भारतीय महिला टोलीले एसियन क्रिकेट परिषद्का अध्यक्ष तथा पाकिस्तान क्रिकेट बोर्डका प्रमुख मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेको छ । भारतले फाइनलमा श्रीलंकालाई ७२ रनले हराउँदै आठौँ पटक एसिया कपको उपाधि जितेको थियो । पुरस्कार वितरण समारोहमा नकवी ट्रफी लिएर मञ्चमा उपस्थित भए पनि भारतीय टोलीले उनीबाट ट्रफी लिन मानेन । त्यसपछि ट्रफी नदिई नै पुरस्कार वितरण समारोह सकिएको थियो । नकवी श्रीलंकाकी कप्तान चमारी अटापट्टुलाई उपविजेताको पुरस्कार हस्तान्तरण गरेपछि मञ्चबाट बाहिरिएका थिए । नकवी बाहिरिँदै गर्दा रंगशालामा उपस्थित केही समर्थकले उनीविरुद्ध नाराबाजीसमेत गरेका थिए । भारतीय टोली यसअघि पनि सन् २०२५ को पुरुष एसिया कप जित्दा नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो । दुबईमा भएको महिला एसिया कपको फाइनलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेट गुमाएर १८३ रन बनाएको थियो। जवाफमा श्रीलंका २० ओभरमा १११ रनमै अलआउट भएको थियो । यस जितसँगै भारत महिला एसिया कप इतिहासकै सबैभन्दा सफल टोली बनेको छ । भारतले अहिलेसम्म १० पटक फाइनल खेलेकोमा आठ पटक उपाधि जितेको छ । सन् २०२६ को प्रतियोगितामा भारत सुरुदेखि फाइनलसम्म अपराजित रहेको थियो ।

१८- म्यानचेस्टर सिटीले १० खेलाडीमा सीमित भएर पनि म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा लगातार चौथो जित निकालेको छ । आइतबार राति ओल्ड ट्राफोर्डमा भएको १९९औँ म्यानचेस्टर डर्बीमा सिटीका लागि एर्लिङ हालान्डले गरेको गोल निर्णायक बनेको थियो । खेलको २३औँ मिनेटमा फिल फोडेनले ब्रुनो फर्नान्डेसमाथि गरेको फाउलका कारण रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि युनाइटेडले खेलमा दबाब बढाए पनि त्यसको फाइदा उठाउन सकेन । सिटी १० खेलाडीमा सीमित भए पनि ६०औँ मिनेटमा हालान्डले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । जोस्को ग्वार्डियोलको पासमा हालान्डले गोल गरेका थिए । सुरुआतमा गोललाई अफसाइड भन्दै अस्वीकार गरिएको थियो । तर भिडियो सहायक रेफ्रीको जाँचपछि गोललाई मान्यता दिइएको थियो । हालान्डको यो म्यानचेस्टर डर्बीमा नवौँ गोल थियो । उनको गोलपछि युनाइटेडले बराबरीका लागि लगातार प्रयास गरे पनि सिटीका गोलरक्षक जियानलुइजी डोनारुम्माले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाएका थिए । मार्कस रासफोर्ड र कोबी मेनुले गरेको प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो । खेलको निर्णायक गोललाई लिएर भने विवादसमेत भएको थियो । सिटीका एन्जो फर्नान्डेस अफसाइड अवस्थामा रहेर खेलमा प्रभाव पारेको हुन सक्ने भन्दै युनाइटेडले गोल अमान्य हुनुपर्ने दाबी गरेको थियो । पछि रेफ्रीसम्बन्धी निकायले भिडियो सहायक रेफ्रीले यस घटनामा निर्णय गर्दा गल्ती गरेको स्वीकार गरेको थियो । यस जितसँगै सिटीले सिजनका सुरुआती चारै लिग खेल जित्दै १२ अंक जोडेको छ । सिटी गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ भने युनाइटेड चार खेलबाट चार अंकसहित १३औँ स्थानमा रहेको छ ।

१९-  चिनियाँ राष्ट्रपति सी जीनपिङले भारतको दुईदिने भ्रमण पूरा गर्दै ब्रिक्स समूहबीच सहकार्य थप विस्तार गर्न पाँच वटा महत्वपूर्ण पहल प्रस्ताव गरेका छन् । नयाँदिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन उनले कृत्रिम बुद्धिमत्ता, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन र प्रतिभा विकाससम्बन्धी पहल अघि सारेका थिए । ब्रिक्सको २०औँ स्थापना वर्षका अवसरमा आयोजित सम्मेलनले आगामी वर्ष चीनले सम्हाल्ने ब्रिक्स अध्यक्षताका लागि समेत आधार तयार गरेको छ । सीले ब्रिक्स समूहले नवप्रवर्तन, परम्परागत उद्योगको सुधार र नयाँ उद्योगको विकासमा जोड दिनुपर्ने बताएका थिए । चीनको अन्तर्राष्ट्रिय समसामयिक सम्बन्धसम्बन्धी संस्थाका अनुसन्धानकर्ता स्यु फेइपियाओले पाँचवटै पहल एकअर्कासँग जोडिएको बताएका थिए । उनका अनुसार विकासशील मुलुकहरू नयाँ प्रविधि, कृत्रिम बुद्धिमत्ता र औद्योगिक परिवर्तनमा पछि परे दिगो विकासको लक्ष्य हासिल गर्न कठिन हुने भएकाले सीले अघि सारेका पहल महत्वपूर्ण छन् । सम्मेलनमा सीले ब्रिक्सलाई समयअनुकूल परिवर्तन, नवप्रवर्तनमा आधारित विकास, सभ्यताबीच आपसी सिकाइ तथा विश्वव्यापी शासन व्यवस्थामा सुधारका लागि अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । नयाँदिल्ली सम्मेलनबाट लचिलोपन, नवप्रवर्तन, सहकार्य र दिगोपनलाई प्राथमिकतामा राख्दै ५० भन्दा बढी निर्णय तथा पहल अघि सारिएका थिए । यसमा सन् २०३० सम्मको आर्थिक साझेदारी रणनीतिदेखि व्यापार तथा लगानीलाई सहज बनाउने विभिन्न प्रस्तावसमेत समेटिएका थिए । भारत भ्रमणका क्रममा सीले विभिन्न विज्ञ, सञ्चारकर्मी र सर्वसाधारणसँग समेत सम्बन्ध विस्तारको विषयमा चर्चा गरेका थिए । भारतका केही विज्ञ तथा व्यवसायीले चीन र भारतबीच थप सहकार्य भए दुवै देशको आर्थिक तथा सामाजिक विकासमा फाइदा पुग्ने बताएका थिए । आगामी वर्ष ब्रिक्सको अध्यक्षता चीनले सम्हाल्ने भएकाले यसपटक सीले अघि सारेका पहललाई आगामी वर्षको सहकार्यको आधारका रूपमा हेरिएको छ । विज्ञहरूले चीनको नेतृत्वमा ब्रिक्सले विकासशील मुलुकबीच प्रविधि, व्यापार, उद्योग र प्रतिभा विकासमा थप व्यावहारिक सहकार्य अघि बढाउन सक्ने बताएका छन् ।

२०- जर्मनीका अलेक्जेन्डर ज्वेरेभले अमेरिकी बेन सेटनलाई ६–३, ७–६, ५–७, ६–२ ले पराजित गर्दै अमेरिकी ओपन टेनिस प्रतियोगिताको पुरुष एकल उपाधि जितेका छन् । ज्वेरेभले पहिलो दुई सेट आफ्नो पक्षमा पारे पनि सेटनले तेस्रो सेट जित्दै खेलमा फर्किने प्रयास गरेका थिए । तर चौथो सेटमा ज्वेरेभले पुनः नियन्त्रण कायम गर्दै उपाधि सुरक्षित गरेका थिए । यससँगै २९ वर्षीय ज्वेरेभले यस वर्षको फ्रान्सेली ओपन प्रतियोगितापछि दोस्रो प्रमुख उपाधि जितेका छन् । २३ वर्षीय सेटन भने सन् २००३ मा एन्डी रोडिकपछि प्रमुख पुरुष एकल उपाधि जित्ने पहिलो अमेरिकी खेलाडी बन्ने लक्ष्यमा असफल भएका छन् ।