विशेष महाधिवेशन पक्षधरले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन देउवाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद अन्त्य गर्दै आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । उनले अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुनसमेत आग्रह गरेका छन् ।

देउवाले पार्टीको विधि, विधान, पद्धति, परम्परा र केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशन गर्ने समूहले एकपक्षीय रूपमा १५औँ महाधिवेशनको कार्यतालिका अघि बढाउन खोजेको बताएका छन् । लामो समयदेखि पार्टी निर्माणमा योगदान दिएका नेता तथा बहुसंख्यक सदस्यलाई बेवास्ता गरेर अघि बढ्ने प्रयास कांग्रेसको हितमा नहुने उनको भनाइ छ ।

विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अन्तिम फैसला नआउँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तविपरीत हुने देउवाले बताएका छन् । सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको अवस्थामा यस विषयमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न रहेको उनको दाबी छ ।

देउवाले विशेष महाधिवेशन किन गर्नुपरेको हो भन्ने प्रश्नको जवाफ अझै नेता–कार्यकर्ता र जनताले नपाएको बताएका छन् । अनुभवी नेतृत्वबाट निर्वाचन जित्न नसकिने भन्दै गरिएको प्रचारलाई निर्वाचन परिणामले समेत गलत साबित गरेको उनको दाबी छ । पार्टीभित्र सहमति र सहकार्यबाट समस्या समाधान गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना अघि बढ्नु कांग्रेसलाई कमजोर बनाउने गतिविधि भएको उनले बताएका छन् ।

आफूलाई कुनै पद वा जिम्मेवारीप्रति लोभ नरहेको उल्लेख गर्दै देउवाले पार्टीले आफ्नो अनुभवको आवश्यकता ठाने जीवनको अन्तिम समयसम्म जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएका छन् । १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको उनको भनाइ छ ।

उनले पार्टीको विधान र संविधानअनुसार महाधिवेशनका लागि पर्याप्त समय बाँकी रहेको अवस्थामा सहमतिबिना हतारमा अधिवेशन गरेर पार्टीलाई कमजोर वा विभाजित गर्ने प्रयास भए आफू मुकदर्शक भएर बस्न नसक्ने चेतावनी दिएका छन् ।

देउवाले कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी एकता, सहमति र सहकार्यका साथ मंसिरमा हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन् ।