
सुभाष कायस्थ/
जनकपुरधाम, ३० भदौ । मन्दिर मरम्मत सम्भार तथा सौन्दर्यकरणको भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा उजुरी दर्ता गराइएको छ ।

जनकपुरधामस्थित श्रीराम मन्दिर मरम्मत सम्भार तथा सौन्दर्यकरणका लागि उपमहानगरपालिकाले छुटयाएको बजेटमा कामसम्पन्न रकम भुक्तानी नगरेको कुरा बाहिरिएपछि नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले अख्तियारमा उजुरी दर्ता गराएको हो ।
श्रीराम मन्दिर उपभोक्ता समितिद्वारा ललितपुरस्थित निर्माण कम्पनी शाक्य मेटल ट्रेडर्सद्वारा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा मरम्मत सम्भार तथा सौन्दर्यकरण गरिएको हो । निर्माण कम्पनीको २७ लाख ६४ हजार ८१५ रुपैया बक्यौता रहेको छ ।


उपमहानगरपालिकाले बक्यौता रकम भुक्तानी नगरेपछि निर्माण कम्पनीको दबाव थेग्न नसकी मन्दिरका महन्थ रामगिरी बाबा पसल पसल चन्दा उठाउन थालेका छन् । उपमहानगरपालिकाले धोखा दियो, निर्माण कम्पनीले निरन्तर दबाव दिइरहेका भुक्तानीका लागि सहयोग गरिदिनु प¥यो भनेर कुरा बाहिरिएपछि अगुवा घटनाको छानबीन सहित भुक्तानीको माग गर्दै उजुरी दर्ता गराउनु परेको नागरिक समाजका अगुवा मिश्रले बताएका छन् ।

धार्मिक सम्पदाको सौन्दर्यीकरणका नाममा सञ्चालन गरिएको निर्माण कार्यपछि निर्माण व्यवसायीको रकम भुक्तानी हुन नसकेको र मन्दिरका महन्थ स्वयं व्यापारी तथा साहु–महाजनकहाँ गई चन्दा अथवा सापट माग्नुपर्ने परिस्थिति उत्पन्न भएको भन्ने विषय सार्वजनिक रूपमा उठेकोमा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन उजुरी दर्ता गराएको मिश्रले बताए छ ।
मिश्रले अख्तियारमा दर्ता उजुरी सामाजिक सञ्जालमा समेत पोस्ट गर्दा चौतर्फी आलोचना भइरहेको छ । मन्दिर जस्तो धार्मिक पवित्र स्थलको रकम भुक्तानी राख्नु भ्रष्टाचारको पराकाष्ठा रहेको भन्ने आलोचना भइरहेको छ ।
उजुरीमा श्रीराम मन्दिर सौन्दर्यीकरण योजनाको सम्झौता, कार्यादेश, निर्माण सम्पन्नता, प्राविधिक परीक्षण तथा भुक्तानी सम्बन्धी प्रक्रिया छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही तथा वैधानिक दायित्व भए भुक्तानीको व्यवस्था गराई दिन भनिएको छ ।

यता उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरेले घटना बारे आफूलाई केही जानकारी नभएको बताएका छन् । उनले भने करीब २५/३० प्रतिशत जति योजनाको रकम भुक्तानी हुन सकेको छैन । त्यसै मध्येको यो मन्दिरको भुक्तानी पनि होला, बाँकी छ भने १८ नम्बर फार्मबाट भुक्तानी भईहाल्छ ।

श्रीराम मन्दिर जनकपुरधामकै सबैभन्दा पुरानो तथा जेठो ऐतिहासिक मन्दिर हो । सन्त चर्तुभुज गिरीको पालामा वि.सं. १८३९ मा सेनापति वडाकाजी अमरसिंह थापाले निर्माण गराएका हुन् । मन्दिर निर्माणको करीब डेढ सय वर्षपछि वि.सं. १९८४ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा मन्दिरको पित्तलको छानोमा सुनको पानी (जलप) चढाएर यसलाई थप आकर्षक बनाइएको थियो ।
भोजरात घिमिरेको प्रतिवेदन अनुसार राम मन्दिर गुठी संस्थान अन्तर्गत एक हजार ७६ विग्घा जग्गा थियो । अहिले मुश्किलले ५० विग्घा जग्गा सुरक्षित छन् । अधिकांश जग्गा विगतमा गुठीकै हाकिमद्वारा विक्री वितरण गरिएको छ भने बांकी अतिक्रमणमा परेका छन् ।

राम मन्दिरको नाममा रहेको खर्बौ रुपैया बराबरको जग्गा सम्पति गुठी संस्थान मातहत रहेका छन् । तर पनि अहिले मन्दिर निकै गरीब अवस्थामा छन् । वर्षौदेखि मन्दिर जिर्ण रहेको अवस्थामा गुठी संस्थानले ध्यान नदिएपछि उपमहानगरपालिकाले मन्दिर मरम्मत सम्भार तथा सौन्दर्यकरणका लागि बजेट छुटयाएको थियो ।




