आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१-  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा शीर्ष राजनीतिक नेतृत्वबीच सर्वदलीय बैठक भोलि बस्ने भएको छ । रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बुधबार बिहान ११ बजे बैठक बस्ने प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् । बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

२- नेपाल क्रिकेट संघले जापानमा आयोजना हुने सन् २०२६ को एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म हुने प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली चयन गरिएको हो । टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा, कुशल मल्ल र लोकेश बम रहेका छन् ।क्रिकेटका सबै खेलहरु जापानको नागोयास्थित पालोमा मिजुहो रङ्गशालामा सञ्चालन हुने र सबै खेल टी-२० ढाँचामा हुनेछन् । पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ । समूह चरणका खेल सेप्टेम्बर २४ देखि २६ सम्म सञ्चालन हुनेछन् । नेपालले सेप्टेम्बर २५ मा अफगानिस्तानसँग र सेप्टेम्बर २६ मा जापानसँग खेल्ने भएको छ । समूह ‘ए’ मा नेपालसहित अफगानिस्तान र जापान छन्। समूह ‘बी’ मा हङकङ चीन, मलेसिया र ओमान रहेका छन् । समूह चरणपछि क्वार्टरफाइनल सेप्टेम्बर २८ र २९ मा हुनेछन् । पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशले क्वार्टरफाइनलबाट प्रतियोगिता सुरु गर्नेछन् । सेमिफाइनल अक्टोबर १ तथा कांस्य पदकको खेल र फाइनल अक्टोबर ३ मा हुनेछ । सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ भारतले स्वर्ण पदक जितेको थियो । पाकिस्तानलाई हराउँदै बंगलादेशले कांस्य पदक जितेको थियो । महिला क्रिकेटमा भारतले स्वर्ण, श्रीलंकाले रजत र बंगलादेशले कांस्य पदक जितेका थिए ।

३- बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले प्रतिबन्धित अवामी लिगका सात वरिष्ठ नेतालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मंगलबार मृत्युदण्ड सुनाएको छ । मृत्युदण्ड पाउनेमा अवामी लिगका महासचिव तथा पूर्व सडक यातायातमन्त्री ओबैदुल कादेर, संयुक्त महासचिव एएफएम बहाउद्दिन नसीम, पूर्व सूचना तथा प्रसारण राज्यमन्त्री मोहम्मद अली अराफातलगायत छन् । जुबो लिगका अध्यक्ष शेख फजले शम्स परश, महासचिव मैनुल हुसेन खान निखिल तथा बंगलादेश छात्र लिगका अध्यक्ष साद्दाम हुसेन र महासचिव शेख वली आसिफ एनानलाई पनि मृत्युदण्ड सुनाइएको छ । तीन सदस्यीय न्यायाधिकरणको अध्यक्षता न्यायाधीश मोहम्मद नजरुल इस्लाम चौधरीले गरेका थिए । सबै आरोपीको मुद्दा उनीहरूको अनुपस्थितिमै चलाइएको थियो। उनीहरूमाथि सन् २०२४ मा विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनका क्रममा हिंसा गर्न निर्देशन दिएको, हिंसा भड्काएको तथा त्यसलाई प्रोत्साहन गरेको आरोप थियो । न्यायाधिकरणमा जनवरी २२ मा उनीहरूविरुद्ध सातवटा आरोप तय गरिएको थियो भने फेब्रुअरी १७ देखि सुनुवाइ सुरु भएको थियो । अभियोजन पक्षले प्रदर्शनकारीमाथि दमन गर्न निर्देशन दिएको, उत्तेजक अभिव्यक्ति दिएको र हिंसाको योजना बनाइएका बैठकमा सहभागी भएको आरोप लगाएको थियो । उक्त विद्यार्थी आन्दोलनकै कारण सन् २०२४ अगस्ट ५ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार सत्ताबाट हटेको थियो। हसिना त्यसपछि भारतमा रहँदै आएकी छन् । यसअघि सन् २०२५ नोभेम्बरमा यही न्यायाधिकरणले हसिना र उनका पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई पनि मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्ड सुनाएको थियो । हसिनालाई सुनाइएको फैसलामाथि अन्तर्राष्ट्रिय स्तरमा निष्पक्ष सुनुवाइ र कानुनी प्रक्रियाबारे प्रश्न उठेको थियो । मानवअधिकार संस्थाहरूले पनि उनको मुद्दामा आफ्नो रोजाइको कानुन व्यवसायीमार्फत प्रतिरक्षा गर्ने अवसर नदिइएको भन्दै चिन्ता व्यक्त गरेका थिए । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका अनुसार सन् २०२४ जुलाई १५ देखि अगस्ट ५ सम्मको आन्दोलनसँग सम्बन्धित हिंसामा करिब १ हजार ४ सय जनासम्मको मृत्यु भएको अनुमान गरिएको थियो । हसिना सरकार ढलेपछि अवामी लिगका नेता, मन्त्री, सांसद तथा कार्यकर्ताविरुद्ध बंगलादेशभर ठूलो संख्यामा मुद्दा दर्ता भएका छन् । धेरै मुद्दामा भने अझै सुनुवाइ सुरु भएको नभएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल भदौ २६ गते संसद्‌बाट दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइएको छ । मंगलबारको प्रतिनिधि सभाको बैठकमा सभामुख डिपी अर्यालले गत २६ भदौमा बसेको प्रतिनिधिसभाको शुन्य समयमा सांसद सुनारले राखेको अभिव्यक्तिको अंश हटाउन निर्देशन दिएका हुन् । सभामुखले निर्देशन दिदै भने- ‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ’ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।’ सांसद सुनारले संसदमा भनेको ‘कहिल्लै पनि बाबुलाई छोरीको र पुलिसलाई चोरीको आरो गम्भीर हुन्छ’ वाक्य रेकर्डबाट हटाइएको हो । उक्त बैठकको शून्य समयमा सांसद सुनारले प्रहरी महानिरीक्षक कार्कीमाथि करोडौंको भ्रष्टाचार गरेको आरोप लागेको भन्दै बर्खास्त गर्न माग गरेका थिए ।

५- अमेरिकाले अन्तरिक्षमा हतियार तैनाथ गरेको पहिलोपटक औपचारिक रूपमा पुष्टि गरेको छ । अमेरिकी अन्तरिक्ष सेनाले पृथ्वीको कक्षमा अमेरिकी सेना रक्षाका लागि प्रयोग गर्न सकिने ‘कक्षीय अन्तरिक्ष नियन्त्रण हतियार’ तैनाथ गरिएको जनाएको हो । अमेरिकी वायुसेनाका सचिव ट्रोय माइनकले मेरिल्यान्डमा आयोजित वार्षिक वायु, अन्तरिक्ष तथा साइबर सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । उनले अन्तरिक्षमा तैनाथ हतियार अमेरिकी सेनालाई शत्रु पक्षबाट हुन सक्ने सम्भावित आक्रमणबाट जोगाउन आवश्यक रहेको बताएका छन् । यद्यपि उनले हतियारको प्रकार र त्यसको संख्या भने खुलाएका छैनन् । अमेरिकी अन्तरिक्ष सेनाका अनुसार ती हतियारलाई बदलिँदो खतराविरुद्ध अन्तरिक्ष क्षेत्रमा नियन्त्रण कायम गर्न प्रयोग गर्न सकिन्छ । यसमा प्रत्यक्ष रूपमा क्षति पुर्‍याउने तथा अन्य माध्यमबाट शत्रुको अन्तरिक्ष क्षमतालाई प्रभावित पार्ने उपाय समावेश छन् । यस्ता क्षमता रक्षात्मक तथा आक्रामक दुवै प्रयोजनमा प्रयोग गर्न सकिने अमेरिकी पक्षले जनाएको छ । अमेरिकाले पछिल्लो समय क्षेप्यास्त्र तथा हवाई खतराबाट देशलाई जोगाउने ‘गोल्डेन डोम’ रक्षा प्रणालीका लागि अन्तरिक्ष क्षमताको विकासलाई तीव्र बनाइरहेको छ । अन्तरिक्षमा हतियार तैनाथ गरिएको घोषणा चीन र रुसतर्फ लक्षित चेतावनीका रूपमा समेत हेरिएको छ । अन्तरिक्षको सैन्यीकरण भने नयाँ विषय होइन। सन् १९५७ मा सोभियत संघले पहिलो कृत्रिम उपग्रह प्रक्षेपण गरेपछि नै अमेरिका र सोभियत संघले उपग्रहलाई हतियार बनाउने तथा नष्ट गर्न सक्ने प्रविधिको विकासमा काम थालेका थिए । सन् १९६७ को अन्तरिक्ष सन्धिले अन्तरिक्षको कक्षमा आमविनाशका हतियार तैनाथ गर्न प्रतिबन्ध लगाए पनि उपग्रहलाई लक्षित गर्ने सैन्य क्षमता विकासमा विभिन्न देशले काम गर्दै आएका छन् । अमेरिकी अन्तरिक्ष सेनाका अनुसार चीनले सैन्य आधुनिकीकरणको योजनाअन्तर्गत अन्तरिक्ष तथा प्रतिअन्तरिक्ष क्षमता विकास र सञ्चालन गरिरहेको छ । रुसले पनि अन्तरिक्षलाई युद्धको क्षेत्रका रूपमा हेर्दै आएको र भविष्यका द्वन्द्वमा अन्तरिक्षमा प्रभुत्व निर्णायक हुन सक्ने विश्वास राखेको अमेरिकी पक्षको दाबी छ ।

६- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदिई पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछी सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो । मन्त्रालयले आज एक पत्र जारि गर्दै निजामति सेवा नियमावली अनुसार सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदिई साविककै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको त्यस्तो तलबभत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलउपर गर्ने व्यवस्था रहेको जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो समय सरुवा भएका कर्मचारीलाई नियमावलीमा तोकिएको बहाली म्याद सकिँदा समेत रमाना नदिने, विभिन्न बहानामा साविककै कार्यालयमा राखेर काम गराउने र सरुवा भइसकेपछि पनि पूर्व कार्यालयबाटै तलबभत्ता भुक्तानी गर्ने गरेको पाइएको छ। यसले स्थानीय तहमा जनशक्ति अभाव भई सेवा प्रवाहमा समेत गम्भीर समस्या सिर्जना हुन पुगेको मन्त्रालय जनाएको छ । मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई कानुनले तोकेको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन र अन्यथा कानुनबमोजिम हुने व्यहोरा सम्बन्धित निकायलाई जानकारी गराएको छ। सरुवा भएका कर्मचारीलाई रमाना नगरी तलबभत्ता भुक्तानी गरेको पाइएमा लेखापरीक्षणका क्रममा उक्त विषयलाई बेरुजु कायम गरी निर्णय कार्यान्वयनमा सहयोग गर्न महालेखा परीक्षकको कार्यालयलाई र निर्णय कार्यान्वयनमा सहयोग गर्न मातहतका सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई समेत परिपत्र गरिदिन महालेखा नियन्त्रकको कार्यालयलाई समेत आग्रह गरेको छ ।

images

७- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रीय तहसम्मका विभिन्न पदमा उम्मेदवारी दिन लाग्ने शुल्क तोकिएको छ । सार्वजनिक गरिएको निर्वाचन निर्देशिकाअनुसार वडा कार्यसमितिदेखि केन्द्रीय कार्यसमितिसम्मका पदका लागि फरक–फरक शुल्क निर्धारण गरिएको हो । कांग्रेसको १५औँ महाधिवेशनको अधिवेशन प्रक्रिया असोज ३ र ४ गते वडा तहबाट सुरु भई असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुने कार्यतालिका छ । निर्देशिकाअनुसार केन्द्रीय सभापतिका लागि ४० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रदेश कार्यसमितिको सभापतिका लागि २० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार तथा सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । जिल्ला सभापतिका लागि १५ हजार, उपसभापति र सचिवका लागि ७ हजार, सहसचिवका लागि ६ हजार तथा सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि १० हजार, उपसभापति र सचिवका लागि ५ हजार, सहसचिवका लागि ४ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ तोकिएको छ । प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि ७ हजार, उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ । महानगरपालिका तथा उपमहानगरपालिका कार्यसमितिको सभापतिका लागि ७ हजार, उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । नगरपालिकाको सभापतिका लागि ५ हजार, उपसभापति र सचिवका लागि ३ हजार, सहसचिवका लागि २ हजार तथा सदस्यका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ । गाउँपालिका कार्यसमितिको सभापतिका लागि ५ हजार, उपसभापति र सचिवका लागि २ हजार, सहसचिवका लागि १ हजार ५ सय तथा सदस्यका लागि १ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । वडा कार्यसमितिको सभापतिका लागि १ हजार, उपसभापति, सचिव र सहसचिवका लागि ७ सय तथा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

८- पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक खण्डमा असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ । भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सञ्चालन हुँदै आएको सडकमा आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेपछि दुईतर्फी यातायात सञ्चालन गर्न लागिएको हो । भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्‍याएको थियो । त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल भत्काएपछि उक्त सडक खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो  । अवरुद्ध सडक खुलाउन पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गरेको थियो । अध्ययनपछि कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ सडक मार्ग निर्माण गर्न सुझाव दिइएको थियो । सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटान गरी ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर नयाँ सडक मार्ग निर्माण गरिएको हो । प्राविधिकसहित ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर काम गरेपछि काम सुरु भएको दसौँ दिनमै भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारी साधन परीक्षणका रूपमा सञ्चालन गरिएको थियो । हाल सडकमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने र सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । ग्राभेलको काम भोलिसम्म पूरा गर्ने र असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ ।

images

९- नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से ४८.५७ अंकले बढेर २६.३३.६२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता शेयर ८ अर्ब २९  करोड १७ हजार ११५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी धवलागिरी लघुवित्तको शेयर १४.९६ प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको शेयर ११.०३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट बैंकको डिभेन्चर ८६ को शेयर ५.५५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ३२ करोड ७० लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको ३१ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।

१०-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा प्रश्न उठाएकी छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बास्कोटाले भोटेकोसी बाढीको सुरुङबाट निकालिएका व्यक्तिहरूको अस्पतालको आईसीयू कक्षमा नै गएर अन्तवार्ता लिएको विषयमा अन्तर्वार्ता लिने र स्वीकृति दिनेप्रति प्रश्न गरेकी हुन् । उनले भनिन्- ‘आईसीयूमा अन्तरवार्ता लिने दुई बिरामी हुनुहुन्थ्यो कि अन्य बिरामी पनि हुनुहुन्थ्यो ? अन्य बिरामी पनि हुनुहुन्थ्यो भने उहाँहरूको जीवन पनि रिक्समा राख्न मिल्छ कि मिल्दैन ?’ बास्कोटाले अन्तर्वार्ताको स्वीकृत दिएको विषयमा समेत प्रश्न गर्दै उनले मानव जीवनलाई टीआरपीको मूल्यमा तौलिने काम बन्द हुनुपर्ने बताएकी छन् ।

images

११- आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नेपालमा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कारोबार संख्या १२.२५ प्रतिशतले बढेको छ भने राजीनामा कारोबार २२.८८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो । चौथो त्रैमासमा घरजग्गाको कुल कारोबार रकम २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ थियो। आर्थिक वर्ष २०८२/८३ को समग्र अवधिमा भने कुल कारोबार रकम ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । घरजग्गा कारोबारबाट सरकारलाई प्राप्त राजस्व ४८.२६ प्रतिशतले बढेको छ भने पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ । त्यस्तै घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा ६.९३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । प्रदेशगत रूपमा बागमतीमा घरजग्गा कारोबार सबैभन्दा तीव्र रूपमा बढेको छ । चौथो त्रैमासमा बागमतीमा राजीनामा कारोबार संख्या ६९.३८ प्रतिशत र कारोबार भएको क्षेत्रफल ५०.२४ प्रतिशतले बढेको छ। कारोबार रकम भने बागमतीमा १७५.३३ प्रतिशतले बढेको छ। मधेशमा भने कारोबार संख्या ३.४४ प्रतिशत र क्षेत्रफल ६.१९ प्रतिशतले घटेको छ । महानगरपालिकातर्फ काठमाडौँमा घरजग्गा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ। ललितपुरमा १३६.९२ प्रतिशत र पोखरामा १०८.७१ प्रतिशत वृद्धि भएको छ ।  उपमहानगरपालिकातर्फ हेटौँडामा कुल कारोबार रकम १८६.८० प्रतिशतले बढेको छ। समग्र तथ्यांकले पछिल्लो अवधिमा घरजग्गा बजारमा कारोबार, रकम र सरकारी राजस्व तीनै क्षेत्रमा उल्लेख्य वृद्धि भएको देखाएको छ ।

१२- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि काठमान्डु गोर्खाजले  अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरलाई भित्राएको घोषणा गरको छ । गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई अनुबन्ध गरिएको जनाएको छ र उनी एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन् । ३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुई एकदिवसीय विश्वकप, एक टी-२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जितेका छन् । काठमान्डु गोर्खाजले यसअघि श्रीलंकाका अलराउन्डर सहान अराचचिगे र भारतका विकेट किपर ब्याट्सम्यान केएस भरतलाई भित्र्याएको थियो । करण केसीको नेतृत्वमा रहेको काठमान्डु गोर्खाजले यस सिजनका लागि भिम सार्की, आदील आलम, रशिद खान, सन्तोष यादव र शाहाब आलमलाई रिटेन गरेको छ । त्यस्तै,अक्सनबाट प्रसिद्ध जैसी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, साहिल पटेल, देव शाह, सुयान्शु कोइरालालाई भित्राएको छ । एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ ।

१३- रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट जलविद्युत् आयोजनामा ठूलो क्षति भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षा सुदृढ बनाउन ६ बुँदे नयाँ सुरक्षा अवधारणा अघि सारेको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका अनुसार विभिन्न विकास आयोजनाको निर्माण, सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सम्भावित जोखिम न्यूनीकरण तथा कामदारको सुरक्षा सुनिश्चित गर्न नयाँ नीतिगत व्यवस्था अघि सारिएको हो । मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार तयार गरिएको सुरक्षा अवधारणामा आयोजनाको संरचनागत बिमालाई अनिवार्य बनाउनेदेखि सुरुङमार्गको पुनर्संरचनासम्मका विषय समेटिएका छन् । नयाँ अवधारणाअनुसार प्रत्येक आयोजनाले अनिवार्य रूपमा हल तथा संरचनागत बिमा गर्नुपर्ने व्यवस्था गरिनेछ। यसले विपद् वा अन्य कारणबाट आयोजनाको संरचनामा क्षति पुगेमा आर्थिक जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ । त्यस्तै, ‘एक आयोजना, एक सुरक्षा अधिकारी’ को व्यवस्था गरिने भएको छ। आयोजनास्थलमा सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन, नियमित निगरानी तथा जोखिम व्यवस्थापनका लागि प्रत्येक आयोजनामा जिम्मेवार सुरक्षा अधिकारी रहने अवधारणा अघि सारिएको हो । आयोजनामा उद्धार तालिमलाई पनि अनिवार्य गरिनेछ। आपत्कालीन अवस्था वा प्राकृतिक विपद्का बेला कामदार तथा अन्य व्यक्तिलाई तत्काल सुरक्षित स्थानमा लैजान र मानवीय क्षति रोक्न आयोजनास्थलमा नियमित उद्धार तालिम सञ्चालन गरिनेछ । सम्भावित संकट, दुर्घटना तथा प्राकृतिक प्रकोपको सामना गर्न प्रत्येक आयोजनाले स्पष्ट आकस्मिक योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरिनेछ । आकस्मिक अवस्थामा कसरी उद्धार गर्ने, सुरक्षित स्थानमा कसरी स्थानान्तरण गर्ने र आवश्यक स्रोतसाधन कसरी परिचालन गर्ने भन्ने विषय योजनामा समेटिनेछ । त्यस्तै, जलविद्युत् आयोजनाका विद्युत् गृहमा कम्तीमा ३० दिनसम्म पुग्ने खाद्यान्न तथा अत्यावश्यक सामग्री भण्डारण गर्न न्यूनतम आवश्यकता सूची तयार गरी लागू गर्ने प्रस्ताव गरिएको छ । विपद्का कारण बाह्य आपूर्ति अवरुद्ध भए पनि आयोजना सञ्चालन तथा त्यहाँ रहेका कामदारको आधारभूत आवश्यकता धान्न सकियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो । मन्त्रालयले सुरुङमार्गको सुरक्षा र स्थायित्वलाई पनि प्राथमिकतामा राखेको छ । हाल सञ्चालन तथा निर्माणमा रहेका सुरुङहरूको जोखिमलाई ध्यानमा राख्दै सुरुङको पुनर्संरचना गर्ने विषयमा गम्भीर छलफल तथा परामर्श अघि बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यी सुरक्षा मापदण्ड लागू भएपछि विकास आयोजनाका भौतिक संरचना तथा सम्पत्तिको सुरक्षा बलियो हुनुका साथै श्रमिकको सुरक्षा पनि थप सुनिश्चित हुनेछ । साथै, बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद् वा आकस्मिक अवस्थाको सामना गर्न आयोजनाहरूलाई थप सक्षम बनाउने अपेक्षा गरिएको छ ।

Nepal life insurance

१४- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिदमा प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली (ई–जिपी) साइबर सुरक्षा जोखिम देखाउँदै अनिश्चितकालका लागि बन्द गरिएको विषय गम्भीर र आपत्तिजनक भएको बताएका छन् । घिसिङले भदौ, असोज र कात्तिक महिना नयाँ ठेक्का आह्वान तथा बजेट कार्यान्वयनलाई गति दिने महत्वपूर्ण समय भएकाले यही बेला ई–जिपी बन्द हुँदा संघ, प्रदेश र स्थानीय तहका सयौँ सार्वजनिक खरिद तथा विकास निर्माणका काम प्रभावित हुने बताएका छन् । उनका अनुसार प्रणाली बन्द भएपछि बोलपत्र आह्वान, खोल्ने, प्रस्ताव मूल्याङ्कन गर्ने तथा विभिन्न चरणका समयसीमा व्यवस्थापन गर्न कठिनाइ हुने मात्र नभई सार्वजनिक खरिदमा मिलेमतो, अस्वस्थ प्रतिस्पर्धा, दबाब, धम्की र गुन्डागर्दीजस्ता पुराना विकृति पुनः बढ्ने जोखिम छ । लामो समयसम्म ई–जिपी प्रणाली अवरुद्ध हुँदा हजारौँ निर्माण व्यवसायी, आपूर्तिकर्ता तथा परामर्शदाता प्रत्यक्ष प्रभावित भइरहेको घिसिङको भनाइ छ । उनले साइबर सुरक्षा समस्या समाधान गर्ने नाममा प्रणाली नै अनिश्चितकाल बन्द गर्नुको सट्टा जोखिमको तत्काल पहिचान, नियन्त्रण तथा प्राविधिक समाधान गरी सुरक्षित रूपमा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । डिजिटल प्रणालीमा समस्या आउन सक्ने भए पनि त्यसको समाधान प्रणाली बन्द गर्नु मात्र नभएको उल्लेख गर्दै घिसिङले सार्वजनिक खरिदलाई पुनः कागजी र अपारदर्शी प्रक्रियातर्फ लैजान नहुने बताएका छन् । उनले ई–जिपीलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन आवश्यक प्राविधिक स्तरोन्नति, सुरक्षा परीक्षण, तथ्यांकको सुरक्षित प्रतिलिपि तथा आपत्कालीन अवस्थामा प्रणाली पुनः सञ्चालन गर्न सकिने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

१५- काठमाडौं । सरकारले नेपालको पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री र लगानीमैत्री बनाउने उद्देश्यसहित ‘पूँजी बजार सुदृढीकरण तथा पुनर्स्थापना कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ । कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजार सुधारदेखि संस्थागत लगानी, ऋणपत्र बजार, मार्जिन कारोबार, विदेशी लगानी, कर प्रणाली र नियामकीय सुधारसम्मका २१ वटा कार्यक्रम समेटिएका छन् । अर्थ मन्त्रालयले पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलता, बैंक तथा वित्तीय क्षेत्र, उद्योग, व्यापार, पूर्वाधार र लगानी तथा पूँजी बजारमा परेको असरलाई सम्बोधन गर्दै बजारमा विश्वास पुनःस्थापित गर्न तत्कालीन सुधार तथा पुनर्स्थापनाका कार्यक्रम अघि सारेको जनाएको छ । भौतिक पूर्वाधारमा भएको क्षति तथा त्यसको अर्थतन्त्रमा परेको प्रभावसमेतलाई ध्यानमा राखेर कार्ययोजना तयार गरिएको उल्लेख छ । कार्ययोजनाअनुसार प्राथमिक बजारमा साधारण सेयर निष्कासनको प्रक्रिया सुधार गरिनेछ । नेपाल धितोपत्र बोर्डले साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासनसम्बन्धी निर्देशिका तत्काल जारी गर्नेछ । जलविद्युत्, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, कृषि र औषधि उद्योगजस्ता क्षेत्रमा छुट्टाछुट्टै योग्यता निर्धारण, मूल्य अन्वेषण प्रणाली तथा धितोपत्र वर्गीकरण प्रणालीसम्बन्धी नीतिगत र कानुनी सुधार गरी २०८३ पुस मसान्तभित्र लागू गर्ने लक्ष्य राखिएको छ । ऋणपत्र बजारलाई पनि प्राथमिकतामा राखिएको छ। संस्थागत ऋणपत्र बजारलाई व्यवस्थित, पारदर्शी, जोखिमसम्बन्धी सूचना उपलब्ध हुने, प्रविधिमैत्री तथा दीर्घकालीन लगानीको आधारका रूपमा विकास गर्ने नीति सार्वजनिक गरिनेछ । यसका लागि आवश्यक निर्देशिका २०८३ मंसिर मसान्तभित्र तयार गर्ने योजना छ। वित्तीय दलाल व्यवसायको संरचनागत सुधार गर्दै त्यस्ता संस्थालाई आधुनिक, व्यावसायिक, प्रविधिमैत्री र बहुआयामिक धितोपत्र वित्तीय सेवा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्ने लक्ष्य पनि राखिएको छ । धितोपत्रसम्बन्धी कानुनमा समेत समसामयिक सुधार गरिने भएको छ । मार्जिन कारोबार, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी तथा उधारो र छोटो बिक्री लगायतका कारोबारलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने कानुनी व्यवस्था मिलाउने कार्ययोजनामा उल्लेख छ ।

१६-  गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पाँच बुँदे निर्देशन दिएको छ । सरकारी कार्यालयमा सेवाग्राहीलाई सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल्ने बिचौलियामाथि निगरानी गरी कानुनअनुसार कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । मन्त्रालयले सेवाग्राहीलाई छिटोछरितो, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन कार्यालय परिसरमा बिचौलियाको गतिविधि नियन्त्रण गर्न निर्देशन दिएको हो । निर्देशनअनुसार अपाङ्गता भएका व्यक्ति, अशक्त, गर्भवती, सानो बच्चा भएका महिला, ज्येष्ठ नागरिक तथा टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई प्राथमिकता दिनुपर्नेछ । त्यस्तै, नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने निवेदन तथा फारम, राष्ट्रिय परिचयपत्र र राहदानीको अनलाइन फारम भर्ने, फोटोकपी, स्क्यान तथा इमेलमार्फत अभिलेख पठाउने र प्राप्त गर्ने सेवासमेत निःशुल्क उपलब्ध गराउन भनिएको छ । मन्त्रालयले जिल्लास्थित अन्य सरकारी तथा गैरसरकारी कार्यालयमा पनि सेवाको प्रकृतिअनुसार नागरिक सहायता कक्षमार्फत निःशुल्क सहयोग उपलब्ध गराउन निर्देशन दिएको छ । कार्यालयका सेवा, सूचना तथा कार्यविधिबारे वेबसाइट, सामाजिक सञ्जाललगायत माध्यमबाट नियमित जानकारी गराउन र वेबसाइट अद्यावधिक राख्नसमेत निर्देशन दिइएको छ ।

१७- इङलिश प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा लिड्स युनाइटेडले न्यूक्यासल युनाइटेडलाई ४–१ गोलले पराजित गरेको छ । घरेलु मैदान एलान्ड रोडमा लिड्सले पहिलो हाफमै तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । लिड्सले ३२औँ मिनेटमा न्यूक्यासलका लुइस माइलीको आत्मघाती गोलबाट अग्रता लिएको थियो । त्यसको केही मिनेटमै जेडेन बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए । पहिलो हाफको थप समयमा डोमिनिक काल्भर्ट लेविनले गोल गरेपछि लिड्स ३-० ले अगाडि रह्यो । दोस्रो हाफमा पनि लिड्सले आक्रामक खेललाई निरन्तरता दियो । नोह ओकाफोरले गोल गर्दै घरेलु टोलीको अग्रता ४-० बनाए । खेलको अन्तिम मिनेटमा न्यूक्यासलका बाजुमाना तुरेले सान्त्वना गोल गरे पनि त्यसले नतिजामा कुनै प्रभाव पार्न सकेन । यस जितसँगै लिड्स चार खेलबाट आठ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिड्सले यस सिजनको प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा पनि कायम राखेको छ । न्यूक्यासलका लागि भने यो सिजनको पहिलो हार हो । नयाँ प्रशिक्षक मातियास जाइसलको नेतृत्वमा टोलीले पहिलो हार बेहोरेको हो। चार खेलबाट पाँच अंकसहित न्यूक्यासल तालिकाको १२औँ स्थानमा पुगेको छ । लिड्सका प्रशिक्षक डानियल फार्केको टोलीले पहिलो हाफमा देखाएको तीव्रता, बलमाथिको नियन्त्रण र आक्रमणमा प्रभावकारी प्रदर्शनका कारण न्यूक्यासलले खेलभर दबाब सिर्जना गर्न सकेन ।

१८-  चीनले कृत्रिम बुद्धिमत्ता विकासको गति केही सुस्त बनाउनुपर्ने अमेरिकी प्रस्तावलाई चीनको प्रविधि विकास रोक्ने प्रयास भनेको छ । एन्थ्रोपिकका प्रमुख डारियो अमोदेईले एआईबाट उत्पन्न जोखिम बुझ्न समय दिन विकासको गति केही कम गर्नुपर्ने बताए पछि नयाँ बहस सिर्जना भएको बेला चीनले यस्तो प्रतिक्रिया दिएको छ । उनले चीनतर्फ पठाइने अत्याधुनिक कम्प्युटर चिपमा थप कडाइ गर्न र एआई मोडलबाट जानकारी लिएर नयाँ मोडल बनाउने प्रक्रियामा समेत नियन्त्रण गर्न अमेरिकी सरकारसँग आग्रह गरेका थिए । चिनियाँ सरकारी अखबार ‘ग्लोबल टाइम्स’ले अमोदेईको प्रस्तावलाई अमेरिकी प्राविधिक वर्चस्व कायम राख्ने ‘शीतयुद्धको रणनीति’ भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने एआई विकासको गति कम गर्ने प्रस्ताव अस्वीकार गर्दै अमेरिका एआईको क्षेत्रमा चीनभन्दा अगाडि रहेको बताएका छन् । आगामी २४ सेप्टेम्बरमा ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने वार्तामा एआईको विषय उठ्न सक्ने बताइएको छ ।

१९- साउदी अरबको मदिना क्षेत्रमा करिब ११ करोड टन युरेनियमयुक्त खनिज फेला परेको छ । उक्त क्षेत्रमा युरेनियमसँगै दुर्लभ पृथ्वीका खनिजसमेत भेटिएपछि साउदी अरबको आणविक ऊर्जा तथा खनिज स्रोतसम्बन्धी योजनालाई थप बल पुग्ने देखिएको छ । साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले भियनामा आयोजित अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको सम्मेलनमा मदिनास्थित जबल सैयद परियोजना क्षेत्रमा यस्तो खनिज भेटिएको जानकारी दिएका हुन् । साउदी अरब लामो समयदेखि तेल उत्पादन र निर्यातमा निर्भर रहँदै आएको मुलुक हो । पछिल्लो समय भने उसले तेलमा मात्रै निर्भर नरही आणविक, सौर्य र पवन ऊर्जालगायत वैकल्पिक ऊर्जा स्रोतको विकासलाई प्राथमिकता दिँदै आएको छ । यही योजनाअन्तर्गत साउदीले देशभित्रै आणविक विद्युत् उत्पादन गर्ने तयारीसमेत अघि बढाइरहेको छ । युरेनियमयुक्त खनिजको यो खोज साउदीका लागि त्यसैले महत्वपूर्ण मानिएको हो । यदि थप अध्ययन र परीक्षणबाट उक्त क्षेत्रमा रहेको युरेनियम आर्थिक रूपमा उत्खनन गर्न सकिने अवस्थामा रहेको पुष्टि भयो भने साउदीले आफ्नो आणविक ऊर्जा कार्यक्रमका लागि आवश्यक कच्चा पदार्थको केही हिस्सा स्वदेशमै प्राप्त गर्न सक्नेछ । यसबाट आणविक इन्धनका लागि अन्य मुलुकमाथिको निर्भरता घटाउन सहयोग पुग्न सक्छ । यद्यपि, खनिज क्षेत्रमा युरेनियम भेटिनु र त्यसबाट तत्काल आणविक इन्धन उत्पादन हुनु फरक विषय हो। जमिनमुनि रहेको युरेनियमयुक्त खनिजबाट युरेनियम निकाल्न, प्रशोधन गर्न र आवश्यक स्तरमा प्रयोगयोग्य बनाउन थप प्राविधिक प्रक्रिया तथा अध्ययन आवश्यक पर्छ । मदिना क्षेत्रमा युरेनियमसँगै दुर्लभ पृथ्वीका खनिज समेत भेटिएका छन् । आधुनिक प्रविधिका विभिन्न उपकरण उत्पादनमा यस्ता खनिजको ठूलो महत्व हुन्छ । दुर्लभ पृथ्वीका खनिज विद्युतीय सवारी, पवनचक्की, रोबोट, ड्रोन तथा आधुनिक रक्षा उपकरणमा प्रयोग हुने शक्तिशाली चुम्बक उत्पादनमा प्रयोग हुन्छन् । त्यसैले युरेनियमसँगै यस्ता खनिज भेटिनुलाई साउदीको खनिज स्रोतका दृष्टिले पनि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । हाल विश्वमा दुर्लभ पृथ्वीका खनिजको उत्खनन, प्रशोधन र त्यसबाट आवश्यक सामग्री उत्पादनमा चीनको ठूलो प्रभाव रहेको बताइन्छ । चीनले खनिज निकाल्ने मात्र नभई त्यसलाई प्रयोगयोग्य बनाउने र शक्तिशाली चुम्बक उत्पादन गर्ने क्षेत्रमा समेत ठूलो हिस्सा ओगटेको छ ।

२०-  ७८औँ एमी अवार्डको मुख्य विधाका विजेताहरू घोषणा भएका छन् । अमेरिकाको लस एन्जलसमा सम्पन्न समारोहमा ‘वाइडोज बे’ उत्कृष्ट हास्य शृंखलाका रूपमा चुनिँदा ‘द पिट’ले लगातार दोस्रो वर्ष उत्कृष्ट नाटक शृंखलाको पुरस्कार जितेको छ । ‘वाइडोज बे’ले उत्कृष्ट हास्य शृंखलासहित अभिनयतर्फ पनि महत्वपूर्ण सफलता हात पारेको छ । यसका लागि म्याथ्यु राइसले उत्कृष्ट हास्य शृंखला अभिनेताको पुरस्कार जितेका छन् भने केट ओ’फ्लिनले उत्कृष्ट सहअभिनेत्री र स्टिफन रुटले उत्कृष्ट सहअभिनेता पुरस्कार जितेका छन् । यस शृंखलाले यस वर्ष कुल १४ एमी पुरस्कार जित्दै हास्य शृंखलातर्फ नयाँ कीर्तिमानसमेत बनाएको छ । ‘द पिट’का नोह वाइलले उत्कृष्ट ड्रामा शृंखला अभिनेताको पुरस्कार जितेका छन्। उनले लगातार दोस्रो वर्ष यो पुरस्कार प्राप्त गरेका हुन् भने ड्रामातर्फ उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘प्लुरिबस’की रिया सिहोर्नले जितेकी छन् । ‘ह्याक्स’की जाँ स्मार्टले उत्कृष्ट हास्य शृंखला अभिनेत्रीको पुरस्कार जित्दै लगातार पाँचौँ पटक एमी हात पारेकी छन् । यो उनको अभिनय करियरको आठौँ एमी पुरस्कार हो । उनी एउटै शृंखलाको हरेक सत्रमा उत्कृष्ट हास्य अभिनेत्रीको पुरस्कार जित्ने पहिलो अभिनेत्री बनेकी छन् । सीमित वा सङ्ग्रह शृंखला अथवा चलचित्र विधामा ‘डिटिएफ सेन्ट लुइस’ उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट अभिनेता म्याथ्यु राइसले ‘द बिस्ट इन मी’का लागि पुरस्कार जितेका छन् भने उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘रिमार्केबल ब्राइट क्रिएचर्स’का लागि स्याली फिल्डले प्राप्त गरेकी छन् । ड्रामा शृंखलातर्फ उत्कृष्ट सहअभिनेताको पुरस्कार ‘टास्क’का टम पेल्फ्रेले तथा उत्कृष्ट सहअभिनेत्रीको पुरस्कार ‘द डिप्लोम्याट’की एलिसन जेनीले जितेका छन् । ‘द ट्रेटर्स’ उत्कृष्ट वास्तविकता प्रतिस्पर्धात्मक कार्यक्रम घोषित भएको छ भने ‘द लेट शो विथ स्टिफन कोलबर्ट’ले उत्कृष्ट विविधता कार्यक्रमको पुरस्कार जितेको छ । लेखनतर्फ नाटक शृंखलाको पुरस्कार ‘प्लुरिबस’का लागि भिन्स गिलिगनले र हास्य शृंखलाको पुरस्कार ‘वाइडोज बे’का लागि केटी डिपोल्डले जितेका छन्। निर्देशनतर्फ नाटक शृंखलामा ‘स्लो हर्सेस’का लागि साउल मेट्जस्टाइन तथा हास्य शृंखलामा ‘वाइडोज बे’का लागि हिरो मुराई विजेता बनेका छन् । यस वर्षको समारोहको सञ्चालन मारिस्का हार्गिटेले गरेकी थिइन् । अभिनेता माइकल जे फक्सलाई मानवीय सेवाका लागि प्रदान गरिने बब होप मानवीय पुरस्कार प्रदान गरिएको छ । ७८औँ एमी अवार्डको मुख्य समारोह सेप्टेम्बर १४ मा लस एन्जलसको पिकक थिएटरमा आयोजना गरिएको थियो । यसअघि सेप्टेम्बर ५ र ६ मा सिर्जनात्मक तथा प्राविधिक विधाका केही पुरस्कार घोषणा गरिएका थिए ।