परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाई भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाई भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत श्रीवास्तवको कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई दिँदै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन उनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

मन्त्री खनालले ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार सम्पर्क तथा जनस्तरको सम्बन्धमा भएका महत्वपूर्ण प्रगतिबारे चर्चा गरेका थिए । साथै, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाललाई भारतले गरेको ऐक्यबद्धता र तत्काल उपलब्ध गराएको विपद् राहत सहयोगप्रति गहिरो आभार व्यक्त गरेका छन् ।

उनले राजदूत श्रीवास्तवको आगामी कार्यकालका लागि शुभकामना दिँदै आगामी दिनमा पनि उनी नेपालका असल मित्रका रूपमा रहने विश्वास व्यक्त गरेका छन् ।

भेटमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।