
काठमाडौँ । अमेरिकी सरकारले इजरायललाई करिब २.८ अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री स्वीकृत गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
‘द वासिङ्टन पोस्ट’का अनुसार प्रस्तावित हतियार प्याकेजमा ४० हजार एक टन क्षमताका बमसहित अमेरिकी हतियार भण्डारमा रहेका शक्तिशाली गोलाबारुद समावेश छन् । प्याकेजमा २० हजार एमके–८४, २० हजार बीएलयू–११७ र २० हजार आई–२००० पेनिट्रेटर वारहेड रहेका छन् ।


‘द न्युयोर्क टाइम्स’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उक्त हतियार बिक्री स्वीकृत गरेको एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएको छ । यद्यपि अमेरिकी विदेश मन्त्रालयले संसद्लाई औपचारिक जानकारी नदिएसम्म प्रस्तावित हतियार बिक्रीबारे पुष्टि वा टिप्पणी नगर्ने बताएको छ ।

अमेरिकी सेनामा हतियार तथा गोलाबारुदको अभाव देखिएको समयमा इजरायललाई हतियार बिक्रीको खबर आएको हो। इरानसँगको युद्धका कारण अमेरिकी गोलाबारुदको भण्डारमा दबाब बढेको र फेब्रुअरी २८ देखि जुन ३० सम्म अमेरिकाले गोलाबारुदमा २२.३ अर्ब डलर खर्च गरेको जनाइएको छ ।
यसअघि सन् २०२५ को फेब्रुअरीमा ट्रम्प प्रशासनले इजरायललाई बम, क्षेप्यास्त्र तथा सम्बन्धित सैन्य उपकरणसहित ७.४ अर्ब डलरभन्दा बढीको हतियार बिक्री स्वीकृत गरेको थियो ।

गाजामा सर्वसाधारणको मृत्युबारे चिन्ता बढेपछि पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले इजरायललाई २ हजार पाउन्ड क्षमताका बम पठाउन रोक लगाएको थियो । तर सन् २०२५ को सुरुवातमा ट्रम्प प्रशासन सत्तामा आएपछि ती बम पठाउने अनुमति दिइएको थियो ।




