
काठमाडौं । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ५० टोलीका ५३९ जनाले आरोहण अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबापत १४ लाख ८० हजार ९४३ अमेरिकी डलर अर्थात् २२ करोड ५० लाख ७२ हजार ३३२ रुपैयाँ रोयल्टी संकलन भएको छ । आरोहण अनुमति लिनेमा ४०१ जना पुरुष र १३८ जना महिला रहेका छन् ।


सबैभन्दा धेरै आरोही मनास्लु हिमालका लागि रहेका छन् । मनास्लु आरोहणका लागि ४० टोलीका ४८० जनाले अनुमति लिएका छन् । तीमध्ये ३५४ जना पुरुष र १२६ जना महिला छन् । मनास्लुबाट मात्रै १४ लाख ४० हजार अमेरिकी डलर अर्थात् २१ करोड ८८ लाख ४३ हजार २८९ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

त्यस्तै, मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन् । त्यसबाट ४ हजार ५०० अमेरिकी डलर रोयल्टी संकलन भएको छ । त्यस्तै डाङ्गा हिमाल आरोहणका लागि दुई टोलीका १६ जनाले अनुमति लिएका छन् भने धौलागिरि प्रथम आरोहणका लागि दुई टोलीका १९ जनाले अनुमति लिएको विभागले जानकारी दिएको छ ।
त्यसैगरी, गङ्गापूर्ण पश्चिम आरोहणका लागि एक टोलीका दुई जना, थोराङ पिकका लागि एक टोलीका सात जना, नोर्बु खाङका लागि एक टोलीका दुई जनाले, अन्नपूर्ण चौथोका लागि एक टोलीका चार जना र चाम्लाङ आरोहणका लागि एक टोलीका छ जनाले अनुमति लिएको विभागले जनाएको छ ।





