भारतबाट ट्रकमा राखेर नेपालतर्फ ल्याउँदै गरेको युरिया मल बरामद, दुईजना पक्राउ

रौतहट ३१ भदौ । भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लामा सशस्त्र सीमा बल (एसएसबी) ले नेपालतर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको युरिया मलसहित दुईजनालाई पक्राउ गरेको छ ।

छुट्टाछुट्टै कारबाहीका क्रममा एसएसबीले करिब १.७ टन युरिया मल तथा भारतबाट नेपालतर्फ लैजान लागिएको रेड बुलसमेत बरामद गरेको जनाएको छ ।

एसएसबी ७१औँ बटालियन मोतिहारीका प्रवक्ता बिनितकुमार सिंहका अनुसार मंगलवार राति प्राप्त विशेष सूचनाका आधारमा स्थानीय मुफस्सिल प्रहरी र कृषि विभागका अधिकारीसहितको संयुक्त टोलीले मोतिहारी मुफस्सिल थाना क्षेत्रअन्तर्गत चन्द्रहिया गाउँमा छापा मारेको थियो ।

प्रणय सिंहको परिसरमा गरिएको कारबाहीका क्रममा अवैध रूपमा पार्किङ गरिएको १४ चक्के ट्रकबाट ६३२ बोरा एचयूआरएल युरिया मल बरामद गरिएको एसएसबीले जनाएको छ । उक्त मल नेपालतर्फ तस्करी गर्ने उद्देश्यले मोतिहारीबाट ल्याइएको स्रोतबाट सूचना प्राप्त भएको एसएसबीको दाबी छ ।

बरामद मल र ट्रकलाई थप कानुनी कारबाहीका लागि मोतिहारी कृषि विभागलाई बुझाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

साइकलमा युरिया बोकेर नेपालतर्फ जाँदै गर्दा पक्राउ

यसैगरी, बुधबार बिहान एसएसबी ७१औँ बटालियनको ‘जी’ कम्पनीअन्तर्गत झञ्झरा बीओपीको टोलीले नेपालतर्फ तस्करी गर्न लागिएको थप १९ बोरा युरिया बरामद गरेको छ ।

एसएसबीका अनुसार भारतको रिगनिया क्षेत्रबाट वीरियातर्फ नेपाल लैजाँदै गरेको अवस्थामा बालुवा गाउँनजिकै एकजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण, जितना थाना क्षेत्रका करिब ४७ वर्षीय विनोद कुमार छन् ।

उनको साथबाट ४५ किलोका दरले १९ बोरा अर्थात् ८५५ किलो युरिया तथा चारवटा साइकल बरामद भएको एसएसबीले जनाएको छ । उक्त स्थान नेपाल–भारत सीमाको सीमा स्तम्भ नम्बर ३६१र१० बाट करिब २०० मिटर भारततर्फ रहेको जनाइएको छ ।

images

बाराका नेपाली रेड बुलसहित पक्राउ

त्यस्तै बुधबार बिहानै एसएसबीको ए कम्पनीअन्तर्गत बिन्द्यावासिनी बीओपीको विशेष गस्ती टोलीले भारतबाट नेपालतर्फ तस्करी गर्न लागिएको ४८ लिटर रेड बुल बरामद गरेको छ । एसएसबीका अनुसार महुआवा थाना नजिकैबाट २५० मिलिलिटरका १९२ वटा रेड बुल बोकेर नेपालतर्फ आउँदै गरेको बजाज प्लेटिना मोटरसाइकलसहित एक नेपाली नागरिक पक्राउ परेका छन् ।

images

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिकाका ४८ वर्षीय सियाराम साह कलवार रहेका छन् । उनको साथबाट बरामद मोटरसाइकलको नम्बर विआर ०५ ए एक्स ४४०७  रहेको एसएसबीले जनाएको छ । उक्त स्थान नेपाल–भारत सीमा स्तम्भ नम्बर ३७५र१० बाट करिब ८०० मिटर भारततर्फ रहेको बताइएको छ ।
एसएसबीका अनुसार रेड बुल भारतबाट नेपालतर्फ तस्करी गर्न लागिएको थियो । बरामद सामान, मोटरसाइकल र पक्राउ परेका सियाराम साह कलवारलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि मोतिहारी भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ ।

images

छुट्टाछुट्टै तीन कारबाहीमा ठूलो परिमाणमा युरिया मल तथा अन्य सामान बरामद हुनुले नेपाल–भारत सीमाबाट हुने अवैध ओसारपसार नियन्त्रणमा भारतीय सुरक्षा निकायको सक्रियता बढेको देखिन्छ । विशेषगरी सीमावर्ती क्षेत्रमा मल तथा दैनिक उपभोग्य वस्तु दुवैतर्फ अवैध रूपमा ओसारपसार हुने गरेको अवस्थामा पछिल्ला बरामदगीले सीमामा निगरानी र सूचना संयन्त्रलाई थप कडाइ गरिएको संकेत गर्छ ।