आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपाल सरकार र बाढी प्रभावित नागरिकप्रति जापानले देखाएको सद्भाव, सहयोग तथा ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका थिए । राजदूत तोरुले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणमा जापानले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । भेटवार्तामा नेपाल–जापानबीच भइरहेको सहकार्य तथा आपसी सम्बन्धका विभिन्न पक्षबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

२- सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन रोक्नुपर्ने अवस्था नदेखिएको आदेश दिएको छ ।  सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासबाट रिट दर्ता गर्न अस्वीकार गर्ने प्रशासनिक दरपिठ निर्णय सदर गर्दै काँग्रेसको महाधिवेशन रोक्नुपर्ने अवस्था नदिखिएको आदेश आएको हो । कांग्रेसको महाधिवेशन गर्ने तयारीमा रहेका संस्थापन पक्षका सभापति गगन थापा र पुर्वसभापति शेरबहादुर देउवा दुवैको कार्यतालिका रोक्न माग राखेर पेस भएको रिट निवेदनमा भएको दरपिठ आदेश सदर गर्दै सर्वोच्चबाट यस्तो आदेश भएको हो ।  आदेशमा भनिएको छ- ‘प्रस्तुत निवेदन माग बमोजिमको नेपाली कांग्रेसको महाअधिवेशन सम्बन्धी कुनै पनि कार्य रोकी स्थगित गर्नु पर्ने सम्मको अवस्थाको विद्यमानता नदेखिँदा यी निवेदकले दर्ता गर्न ल्याएको प्रस्तुत रिट निवेदन दर्ता गर्न नमिल्ने आधार कारण समेत खुलाई यस अदालतका रजिस्ट्रारबाट मिति २०८२/०५/२९ मा भएको दरपिठ आदेश बेरितको नदेखिँदा बदर गर्नु परेन । कानुनबमोजिम गर्नू ।’ पुनरावलोकनको आदेश भएको कारणले कुनै पनि कार्य रोक्नु पर्ने वा माग बमोजिम अन्तरकालीन आदेश जारी गर्नु पर्ने सम्मको अवस्था नदेखिएको आदेश सर्वोच्चको पूर्ण इजलासबाट भएको थियो । कांग्रेसको संस्थापन पक्षले असोज १६ देखि १९ सम्म १५ औँ महाधिवेशनको मिति तोकेर महाधिवेशनका काम अगाडी बढाएको छ भने देउवा पक्षले मंसिर २१ देखि २३ महाधिवेशन गर्ने घोषणा गरको छ । कांग्रेसको आधिकारिकता विवाद र निर्वाचन आयोगको निर्णयका पक्षमा यसअघि भएको फैसलामाथि पुनरावलोकनको निवेदन विचाराधीन रहेकोकाले महाअधिवेशन रोक्नु पर्ने मागसहित अधिवक्ता मणिराम उपाध्यायले रिट दिएका थिए । सो रिट भदौ २९ गते रिटमाथि दरपिठ भएको थियो ।

३- नेपाल र बंगलादेशबीच आगामी तीन खेलको टी-२० क्रिकेट सिरिज हुने भएको छ । आगामी मार्चमा हुने यो सिरिज हालै नेपालमा आएको विनाशकारी बाढी विपद्का क्रममा ज्यान गुमाउनेहरूप्रति समर्पित गरिने भएको छ । नेपाल क्रिकेट संघ र बंगलादेश क्रिकेट बोर्डको संयुक्त पहलमा हुने सिरिजमार्फत बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावित समुदायप्रति ऐक्यबद्धता प्रकट गरिने भएको हो । सिरिजका तीनै खेल कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेल २६ मार्च २०२७, दोस्रो खेल २८ मार्च र तेस्रो खेल ३० मार्च २०२७ मा हुनेछ । नेपाल र बंगलादेशबीचको क्रिकेट सम्बन्धलाई थप विस्तार गर्दै बंगलादेशले नेपालको महिला क्रिकेट, उमेर समूहका खेलाडीको विकास तथा क्षमता अभिवृद्धिमा सहयोग गर्ने भएको छ। साथै, नेपाल ‘ए’ टोलीको भ्रमण र द्विपक्षीय ‘ए’ टोलीका कार्यक्रममार्फत खेलाडी विकास तथा प्रतिस्पर्धात्मक अनुभव बढाउन पनि सहकार्य गरिने जनाइएको छ । नेपाल क्रिकेट संघ र बंगलादेश क्रिकेट बोर्डले क्रिकेटमार्फत दुःखको यस घडीमा दुई देशबीचको मित्रता, सहानुभूति र ऐक्यबद्धताको सन्देश प्रवाह गर्ने बताएका छन् ।

४-  सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ५० टोलीका ५३९ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबापत १४ लाख ८० हजार ९४३ अमेरिकी डलर अर्थात् २२ करोड ५० लाख ७२ हजार ३३२ रुपैयाँ रोयल्टी संकलन भएको छ । आरोहण अनुमति लिनेमा ४०१ जना पुरुष र १३८ जना महिला रहेका छन् । सबैभन्दा धेरै आरोही मनास्लु हिमालका लागि रहेका छन् । मनास्लु आरोहणका लागि ४० टोलीका ४८० जनाले अनुमति लिएका छन् । तीमध्ये ३५४ जना पुरुष र १२६ जना महिला छन् । मनास्लुबाट मात्रै १४ लाख ४० हजार अमेरिकी डलर अर्थात् २१ करोड ८८ लाख ४३ हजार २८९ रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यस्तै, मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन् । त्यसबाट ४ हजार ५०० अमेरिकी डलर रोयल्टी संकलन भएको छ । त्यस्तै डाङ्गा हिमाल आरोहणका लागि दुई टोलीका १६ जनाले अनुमति लिएका छन् भने धौलागिरि प्रथम आरोहणका लागि दुई टोलीका १९ जनाले अनुमति लिएको विभागले जानकारी दिएको छ । त्यसैगरी,  गङ्गापूर्ण पश्चिम आरोहणका लागि एक टोलीका दुई जना, थोराङ पिकका लागि एक टोलीका सात जना, नोर्बु खाङका लागि एक टोलीका दुई जनाले, अन्नपूर्ण चौथोका लागि एक टोलीका चार जना र चाम्लाङ आरोहणका लागि एक टोलीका छ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

५- सरकारले सरकारी निर्णय प्रक्रियालाई सरलीकरण तथा डिजिटल बनाउनेदेखि विभिन्न उच्च तहका कर्मचारीको बढुवासम्मका निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बुधबार मन्त्रिपरिषद्को बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको हो । त्यस्तै, नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभमा अग्रिम करको दर निर्धारण गर्ने निर्णय गरेको छ । जसअनुसार प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ५ प्रतिशत अग्रिम कर कायम गरिएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णयहरु:  १- सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने । २- नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट, प्राप्त लाभमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी, अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३६५ वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने । ३- नेपाल न्याय सेवा, न्याय समूह राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू श्री ठगीन्द्र कट्टेल, श्री रामप्रसाद भट्टराई र श्री बाबुराम दाहाललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने । ४- साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा÷क्षतिपूर्ति रकमसम्बन्धी कानूनी कारबाहीका लागि साउदी नागरिक कानून व्यवसायीलाई वारेसनामा (पावर अफ एटर्नी) दिई बीमा÷क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाउने सम्बन्धी आदेश जारी गर्ने । ५- चक्रीय राहत कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गर्ने । ६- नेपाल प्रशासन सेवाका सहसचिव श्री कालीप्रसाद पराजुलीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।

६- आफू र आफ्नो परिवारको नाममा नेपालभर कुनै जग्गा नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले उनीहरूमाथि आवश्यक कारबाही गर्न सम्बन्धित जिल्ला समितिलाई निर्देशन दिएको छ । भूमिहीनका रूपमा गरिएको स्वघोषणालाई भूमि व्यवस्थापन तथा अभिलेख विभागको अभिलेखसँग रुजु गर्दा चार जनाको तथा उनीहरूका परिवारका सदस्यको नाममा जग्गा रहेको भेटिएको समितिले जनाएको छ । समितिका अनुसार इलाम, ताप्लेजुङ, झापा र काभ्रेमा उनीहरू तथा परिवारका सदस्यको नाममा जग्गा रहेको सरकारी अभिलेखबाट देखिएको हो । भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितका रूपमा आवेदन दिने व्यक्तिको स्वघोषणा सरकारी अभिलेखसँग रुजु गर्ने क्रममा जग्गा भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ । झुटा विवरण पेस गरी भूमिहीनका लागि उपलब्ध सुविधा लिन खोजेको पुष्टि भएमा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम आवश्यक कारबाही गर्न समितिले सम्बन्धित जिल्ला भूमि समस्या समाधान समितिलाई निर्देशन दिएको छ ।

७- स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधनका लागि तयार मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को संशोधन मस्यौदामा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ। हाल आमाले पाउने ९८ दिनको प्रसूति बिदालाई बढाएर ६ महिना पुर्‍याउने प्रस्ताव छ । मस्यौदामा प्रसूति सेवा दिने स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था, सम्मानजनक प्रसूति सेवा तथा गर्भवती र सुत्केरी महिलामाथि हुने शारीरिक वा मानसिक हिंसा रोक्ने कानुनी व्यवस्था पनि प्रस्ताव गरिएको छ । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएकाले अभिभावकत्वमा बुबाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताएकी छन् । मन्त्रालयका अनुसार बदलिँदो पारिवारिक संरचना, जीवनशैली तथा आमा र नवजात शिशुको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखेर सुरक्षित मातृत्वसम्बन्धी कानुन संशोधन अघि बढाइएको हो । कानुन मन्त्रालयबाट प्रक्रिया पूरा भएपछि विधेयक मन्त्रिपरिषद्मा पेस गरिनेछ ।

images

८- चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेका छन् । आयोजनामा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा चारवटा शव भेटिएका हुन् । भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवाका र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना र विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो । त्यसयता आयोजनाभित्र हराइरहेका कर्मचारी तथा कामदारको खोजी कार्य जारी छ । फेला परेका शवको पहिचान हुन बाँकी रहेको बताइएको छ ।

९- नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से २१.१९ अंकले बढेर २६१२.४२ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका एक करोड ५१ लाख १ हजार ५५५ कित्ता शेयर ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको शेयर ६.३७ प्रतिशतले बढेको छ भने हिमाल दोलखा हाइड्रोको शेयर ५.३१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनएमबी हाईब्रिडको शेयर ७.७३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी  हिमाल दोलखा हाइड्रोको ३७ करोड ९५ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिग मिल्सको २५ करोड १० लाख बराबरको कारोबार भएको छ ।

images

१०- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले बाढीबाट घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकको भदौ महिनादेखिको न्यूनतम विद्युत् महसुल नलिने निर्णय गरेको छ । क्षतिग्रस्त घर तथा संरचनाका विद्युत् मिटरको लगत कट्टा गरिने र पुनः सेवा लिनुपरेमा निःशुल्क नयाँ मिटर उपलब्ध गराइनेछ । बाढी प्रभावित १५ पालिकाका ग्राहकलाई थप महसुल छुट वा सहुलियत दिने विषयमा अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बताएका छन् । प्राधिकरणले अध्ययनका आधारमा यसै साता थप राहतको टुंगो लगाउने तयारी गरेको छ ।

images

११- सभामुख डोलप्रसाद अर्यालले संसद्लाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता भएको बताएका छन् । सङ्घीय संसद् सचिवालयले सुरु गरेको ‘डिजिटल संसद् मञ्च’को परीक्षण सञ्चालन उद्घाटन गर्दै उनले प्रणालीलाई प्रभावकारी बनाउन सबै सम्बन्धित पक्षले अपनत्व लिनुपर्ने बताए । उनले भने-‘यो हाम्रो चाहना मात्र होइन, आजको आवश्यकता हो । विश्व तीव्र गतिमा प्रविधिको युगमा प्रवेश गरिरहेको छ । अब हामी थप ढिला गर्नुहुँदैन । यसबाट सयौँ वर्षपछि पनि नेपालको संसदीय इतिहास सहज रूपमा खोज्न र अध्ययन गर्न सकिनेछ । अब डिजिटल पार्लियामेन्टलाई प्रभावकारी बनाउन सबै सम्बन्धित निकाय, कर्मचारी र माननीय सदस्यले अपनत्व लिनुपर्छ ।’  डिजिटल संसद् मञ्चमार्फत संसदीय सूचना, दस्तावेज, बैठक, विधेयक तथा ऐतिहासिक अभिलेखलाई एकीकृत रूपमा व्यवस्थापन गरिनेछ। पुराना संसदीय अभिलेखलाई समेत विद्युतीय स्वरूपमा सुरक्षित गर्ने लक्ष्य रहेको सभामुख अर्यालले बताए । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले डिजिटल प्रणालीले संसदीय कामलाई छिटो, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग गर्ने बताए । सचिवालयका अनुसार प्रणालीमा सांसदको विवरण, विद्युतीय हाजिरी, बैठक तथा कार्यसूची, विधेयकको प्रगति, संसदीय अभिलेख र नागरिकका लागि सार्वजनिक सूचना पहुँचलगायत सुविधा समेटिनेछन् ।

१२- सर्वदलीय बैठकले भोटेकोसी बाढीबारे दुई समिति बनाउने निर्णय गरको छ । वुधबार बसेको बैठकले संसद बहिर रहेका दलहरू र संसद्मा रहेका दलहरू रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइने भएको छ भने अर्को संसदीय समिति बनाउने निर्णय भएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् । उच्चस्तरीय राजनीतिक संयन्त्र रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा बनाइएको छ भने संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनमत पार्टी, जसपा नेपाल रहने छन् । खरेलले भने-‘दिगो रुपमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणको कुराको सन्दर्भमा छलफल गर्नको लागि रास्वपाका सभापति रवि लामिछाने संयोजक रहनुभएको यो उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै रहने निर्णय भएको छ ।’ त्यस्तै बैठकले संसदीय विशेष समिति बनाउन सभामुख डोलप्रसाद अर्याललाई आग्रह गर्ने निर्णय गरेको छ  ।  बैठकमा सभापति लामिछानेसहित कांग्रेस सभापति गगन थापा, नेकपा नेता माधवकुमार नेपाल, एमाले नेतृ पदमा अर्याल, नेकपा नेता बर्षमान पुन, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायतका नेताहरु उपस्थित रहेका थिए ।

१३- अमेरिकी सरकारले इजरायललाई करिब २.८ अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री स्वीकृत गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ‘द वासिङ्टन पोस्ट’का अनुसार प्रस्तावित हतियार प्याकेजमा ४० हजार एक टन क्षमताका बमसहित अमेरिकी हतियार भण्डारमा रहेका शक्तिशाली गोलाबारुद समावेश छन् । प्याकेजमा २० हजार एमके–८४, २० हजार बीएलयू–११७ र २० हजार आई–२००० पेनिट्रेटर वारहेड रहेका छन् । ‘द न्युयोर्क टाइम्स’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उक्त हतियार बिक्री स्वीकृत गरेको एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएको छ । यद्यपि अमेरिकी विदेश मन्त्रालयले संसद्लाई औपचारिक जानकारी नदिएसम्म प्रस्तावित हतियार बिक्रीबारे पुष्टि वा टिप्पणी नगर्ने बताएको छ । अमेरिकी सेनामा हतियार तथा गोलाबारुदको अभाव देखिएको समयमा इजरायललाई हतियार बिक्रीको खबर आएको हो। इरानसँगको युद्धका कारण अमेरिकी गोलाबारुदको भण्डारमा दबाब बढेको र फेब्रुअरी २८ देखि जुन ३० सम्म अमेरिकाले गोलाबारुदमा २२.३ अर्ब डलर खर्च गरेको जनाइएको छ । यसअघि सन् २०२५ को फेब्रुअरीमा ट्रम्प प्रशासनले इजरायललाई बम, क्षेप्यास्त्र तथा सम्बन्धित सैन्य उपकरणसहित ७.४ अर्ब डलरभन्दा बढीको हतियार बिक्री स्वीकृत गरेको थियो । गाजामा सर्वसाधारणको मृत्युबारे चिन्ता बढेपछि पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले इजरायललाई २ हजार पाउन्ड क्षमताका बम पठाउन रोक लगाएको थियो । तर सन् २०२५ को सुरुवातमा ट्रम्प प्रशासन सत्तामा आएपछि ती बम पठाउने अनुमति दिइएको थियो ।

१४- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाई भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत श्रीवास्तवको कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई दिँदै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन उनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । मन्त्री खनालले ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार सम्पर्क तथा जनस्तरको सम्बन्धमा भएका महत्वपूर्ण प्रगतिबारे चर्चा गरेका थिए । साथै, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाललाई भारतले गरेको ऐक्यबद्धता र तत्काल उपलब्ध गराएको विपद् राहत सहयोगप्रति गहिरो आभार व्यक्त गरेका छन् । उनले राजदूत श्रीवास्तवको आगामी कार्यकालका लागि शुभकामना दिँदै आगामी दिनमा पनि उनी नेपालका असल मित्रका रूपमा रहने विश्वास व्यक्त गरेका छन् । भेटमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

Nepal life insurance

१५- नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा बढिरहेको महंगीप्रति सरकार मौन रहेकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको वुधबारको बैठकमा बोल्दै नेता केसीले पछिल्लो समय देशमा महंगी व्यापक रुपमा बढेको अवस्थामा सरकार मौन रहेको भन्दै यो दुखद भएको र गम्भीर हुन चेतावनी दिएका छन् । उनले ग्यास व्यवस्थापन गर्न सरकारले नसकेको बताउदै कालोबजारीमा ग्यास तुरुन्त पाइएकोप्रति सरकार बेखबर रहनु दुखद भएको बताए । जनताले दुई तिहाइ मत दिएको बिचौलियालाई पोस्न र अकर्मण्य बन्न नदिएको भन्दै प्रभावकारी अनुगमन गरेर कालोबजारी रोक्न सरकारलाई आग्रह गरेका छन् । उनले संकटको बेला नागरिकको चुलो बलेको सुनिस्चित गर्नु सरकारको दायित्त्व भएको बताउदै सरकार र सरकारी निकाय मौन रहनु कुनै पनि किसिमले सहि नभएको बताए । नेता केसीले सरकारले प्रभावकारी अनुगमन गरेर कालोबजारी नरोकेमा र वितरण सहज नबनाएमा जनता सडकमा उत्रिन बाध्य हुने समेत चेतावनी दिएका छन् । उनले भोटेकोशी बढीको प्रभावकारी अनुगमन र व्यवस्थापनका लागि संसदीय समिति बनाउन माग गरेका छन् ।

१६- सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारण र प्रकृति पत्ता लगाउन सात सदस्यीय विज्ञ समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो । मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार समितिमा जलविद् (हाइड्रोलोजिस्ट) डा नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भुगर्भविद् (जियोलोजिस्ट) डा मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित, विपद् जोखिम न्युनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहेका छन् । समितिले बाढीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ । साथै जलवायु, हिमनदी, भूगर्भ, भूरूप विज्ञान, जलविज्ञान तथा नदी प्रणालीबीचको अन्तरसम्बन्धबारे अध्ययन गरिने मन्त्रालयले जनाएको छ । समितिले बाढीका तत्कालीन तथा अन्तर्निहित कारण पहिचान गर्नुका साथै जलवायु परिवर्तनको भूमिका कति थियो भन्ने पनि वैज्ञानिक रूपमा मूल्याङ्कन गर्नेछ। घटनालाई सामान्य बाढी नभई विभिन्न प्राकृतिक जोखिमको श्रृंखलाका रूपमा अध्ययन गरिने जनाइएको छ । अध्ययनका क्रममा हिमनदी, पहिरो, चट्टानको अस्थिरता, नदीको बहाव, अवसाद तथा पानी र अवसादको मिश्रित बहावलगायत विषयको अध्ययन गरिनेछ। आवश्यकताअनुसार ड्रोन तथा उपग्रहबाट प्राप्त तस्बिरसमेत प्रयोग गरिनेछ । समितिलाई अध्ययन पूरा गर्न दुई महिनाको समय दिइएको छ। अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा भविष्यमा जलविद्युत् तथा अन्य पूर्वाधारलाई यस्ता विपद्बाट जोगाउन पूर्वतयारी र जोखिम न्यूनीकरणका उपाय तय गरिने मन्त्रालयले जनाएको छ ।

१७-  प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन अवस्थामा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरेका छन् । उनले बाढीका कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको र जलवायु परिवर्तनको असरले यस्ता विपद् बढिरहेको बताएका छन् । प्रधानमन्त्री शाहले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सामना गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयास थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् । साथै, नेपालको पर्यटन सम्भावना र पर्यटन क्षेत्रको विकासबाट पारस्परिक लाभ लिन सकिने बताउँदै अमेरिकी लगानीलाई नेपालले स्वागत गर्ने बताएका छन् । कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गरेकी छन् । उनले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल र नेपाली जनताको साथमा रहेको बताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग र सहकार्य गर्न तयार रहेको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

१८- सर्वोच्च अदालतको मुद्दा फाँटमा फेरी आगलागी भएको छ । बुधबार बिहान आगलागीका कारण महत्वपूर्ण कागजात, कुर्सी, टेबललगायत जलेर नष्ट भएको सर्वोच्च स्रोतले जानकारी दिएको छ । आगलागी विद्युत् शर्ट भएर भएको बताइएको छ । आगलागीबाट कागजातसहित फाँटमा रहेका फर्निचर पनि जलेका छन् । सर्वोच्चको नयाँ भवनको भुइँतलामा रहेका २० र २१ नम्बर फाँटमा आगलागी भएको हो । यसअघि सर्वोच्चमा दुई साताअघि पनि अन्डरग्राउन्डमा रहेको कार्यालयमा आगलागी हुदा महत्वपूर्ण कागजपत्र जलेका थिए, जसको अनुसन्धान जारी रहेकै बेला फेरी आगलागी भएको छ ।

१९- अर्जेन्टिनाले अक्टोबरमा पश्चिम अफ्रिकी देश बेनिनविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि लियोनल मेसीलाई टोलीमा समावेश गरेको छ । यो खेल मेसीको अर्जेन्टिनाका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताइएको छ । मेसीले सन् २०२६ को विश्वकप फाइनलमा स्पेनसँग अर्जेन्टिना पराजित भएपछि गत अगस्टमा राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने घोषणा गरेका थिए । आफ्ना पिता जर्जको निधनपछि उनले फुटबलमा आफ्नो भविष्यबारे पुनर्विचार गरिरहेका थिए । ३९ वर्षीय मेसीले सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताउदा टोलीको कप्तानी गरेका थिए । उनले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन् । उनी टोलीका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् । अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले मेसीलाई उनले पाउनुपर्ने सम्मानसहितको बिदाइ दिन अक्टोबर ६ मा बेनिनविरुद्धको खेलमा आमन्त्रण गरिएको बताएका छन् । ब्युनस आयर्सस्थित ८५ हजार दर्शक क्षमताको स्मारकीय रंगशालामा हुने उक्त खेलमा सन् २०२२ को विश्वकप जित्ने अर्जेन्टिनाका खेलाडीलाई समेत आमन्त्रण गरिएको बताइएको छ ।

२०- इरानविरुद्धको युद्धमा अमेरिकाको रक्षा विभागले अगस्ट १ सम्म ३८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ । युद्धको अवस्था र तीव्रताअनुसार आगामी दिनमा अमेरिकाले हरेक महिना ३ अर्ब डलर वा त्योभन्दा बढी खर्च गर्नुपर्ने अनुमान गरिएको छ । गैरदलीय संस्था अमेरिकी कंग्रेसको बजेट कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार युद्धका कारण सन् २०२७ को पहिलो त्रैमासिकसम्म अमेरिकामा महँगी बढ्न सक्नेछ । तेल र प्राकृतिक ग्यासको आपूर्ति प्रभावित हुँदा महँगी पहिलेको अनुमानभन्दा करिब शून्य दशमलव ५ प्रतिशत बिन्दुले बढी हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । इरानसँगको युद्धका कारण होर्मुज जलडमरूमध्यबाट तेल तथा प्राकृतिक ग्यासको आवागमन प्रभावित भएको छ । लाल सागरबाट हुने समुद्री ढुवानीमा समेत अवरोध आएको जनाइएको छ । यो अनुमान अमेरिकी प्रतिनिधि सभाका सदस्य ब्रेन्डन बोयलले जानकारी मागेपछि तयार गरिएको हो । कंग्रेसको बजेट कार्यालयको अनुमान यसअघि रक्षा मन्त्री पीट हेगसेथले सिनेटमा दिएको ३७ अर्ब ५० करोड डलरको खर्च अनुमानसँग पनि नजिक छ । प्रतिवेदनअनुसार खर्चको ठूलो हिस्सा युद्धमा प्रयोग भएका वा नष्ट भएका क्षेप्यास्त्र, हतियार र सैन्य उपकरण पुनः खरिद गर्न भइरहेको छ । युद्धमा मारिएका वा घाइते अमेरिकी सैनिकको उपचार तथा भविष्यमा दिइने स्वास्थ्य सेवा र अपांगता क्षतिपूर्तिको खर्च भने यसमा समावेश गरिएको छैन । यसैबीच, अमेरिकी रक्षा मन्त्रालयका महानिरीक्षकको प्रतिवेदनअनुसार फेब्रुअरी २८ देखि जुन ३० सम्म चलेको ‘अपरेसन एपिक फ्युरी’का क्रममा अमेरिकी ५० भन्दा बढी विमान, हेलिकोप्टर र ड्रोन नष्ट वा क्षतिग्रस्त भएका थिए । तीमध्ये ३० वटा एमक्यु–९ रिफर ड्रोन रहेका छन् । इरानी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबाट कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, इराक, ओमान र जोर्डनमा रहेका अमेरिकी सैन्य आधारका सयौँ भवनमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । अमेरिकाले चार एफ–१५ई, एउटा ए–१० थन्डरबोल्ट, एउटा ई–३ सेन्ट्री र एउटा एएच–६४ अपाचे हेलिकोप्टर गुमाएको जनाइएको छ। एउटा एफ–३५ए र सातवटा केसी–१३५ विमानमा समेत क्षति पुगेको थियो । इराकमा मार्च १२ मा इन्धन भर्ने क्रममा भएको दुर्घटनामा छ अमेरिकी सैनिकको मृत्यु भएको थियो । प्रतिवेदनले अमेरिकी हतियार तथा गोला–बारुदको भण्डारमा दबाब बढेको र आपूर्ति व्यवस्थामा समेत समस्या देखिएको जनाएको छ । यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हतियारको अभाव रहेको दाबी अस्वीकार गर्दै अत्याधुनिक हतियार उत्पादन उच्च स्तरमा भइरहेको बताएका छन् ।