
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले रसुवा विपद्का लागि विभिन्न देश तथा दातृ निकायबाट आएका राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमै अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लत्ताकपडालगायतका सामग्री लामो समयदेखि विमानस्थलमै थन्किएको तस्विर देखाउदै भन्सारलगायतका प्रक्रियाका कारण कतिपय संस्था सामग्री बुझ्नबाट फर्किने गरेको जानकारी पाएको पनि बताएका थिए ।


उनले भने- ‘ती सामग्रीहरू किन पठाइएको छैन भन्दा सम्बन्धित क्षेत्रबाट माग आएको छैन भन्ने जवाफ छ । म सरकारको ध्यानाकर्षण गराउँछु, यी सामग्रीहरू जसरी आए, त्यसरी नै खेर नजाऊन् । माग छ कि छैन, सम्बन्धित क्षेत्रका नागरिकहरूलाई बुझियोस् ।’

न्यौपानेले प्रभावित क्षेत्रमा सामग्री आवश्यक भए तत्काल पठाउन र आवश्यक नभए अन्य विपद्का लागि उचित व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन् ।




