संघर्षकै बीचबाट समाचारः गाजाका पत्रकारहरूको कठिन जीवन

सन् २०२३ अक्टोबरदेखि प्यालेस्टिनी क्षेत्र गाजा लगातार युद्ध र विनाशको चपेटामा परेको छ । यस क्रममा पत्रकारहरू पनि सबैभन्दा जोखिममा पर्ने समूहमा परेका छन् । समाचार संकलन र रिपोर्टिङकै क्रममा धेरै पत्रकार आफैं पनि द्वन्द्वका पीडित बनेका छन् । ४० वर्षीया पत्रकार निसरिन थाबेतले सन् २०२४ जुलाईमा इजरायली हवाई आक्रमणमा आफ्ना पति हैदर अल–मसदरलाई गुमाइन् । राजनीतिक तथा सञ्चार मामिलाका लेखक र अनुसन्धानकर्ता मसदर मध्य गाजास्थित एक अस्पतालभित्र पत्रकारहरू बसेको पालमा भएको आक्रमणमा मारिएका थिए ।

पति गुमाएपछि पनि थाबेत दुई सन्तानसहित युद्धको सामना गर्दै पत्रकारिता जारी राखिरहेकी छन् । उनकाअनुसार आमा र पत्रकार दुवैको भूमिका एकसाथ निर्वाह गर्नु अत्यन्त कठिन भएको छ । युद्ध र विस्थापनपछि गाजामा जीवन अत्यन्त कठिन बनेको भन्दै उनले आफ्नो र आफ्ना बालबालिकाको सुरक्षासँगै दैनिक कामको जिम्मेवारी पनि सम्हाल्नुपर्ने बताइन् । यातायात तथा सञ्चार सेवाको अभावले पत्रकारिताको काममा समेत ठूलो असर परेको उनको भनाइ छ ।

हाल पालमा बस्दै आएकी थाबेतले आफू र आफ्ना छोराछोरीले जुनसुकै बेला सुरक्षित स्थानतर्फ जानुपर्ने अवस्था आउन सक्ने भएकाले आवश्यक सामान तयारी अवस्थामा राख्ने गरेकी छन् । उनले पटक–पटक विस्थापित हुनुपर्दा पत्रकारका रूपमा आफूहरूले चाहेजस्तो व्यावसायिक रूपमा काम गर्न नसकेको बताइन् ।

धेरै महत्वपूर्ण घटनाहरू अभिलेख गर्न चाहँदा पनि निरन्तरको विस्थापनका कारण ती घटनालाई कभर गर्न नसकेको उनको भनाइ छ । युद्धका कारण धेरै अन्तर्राष्ट्रिय पत्रकार गाजाबाट बाहिरिएपछि लामो समयदेखि जारी द्वन्द्वको प्रत्यक्ष रिपोर्टिङको ठूलो जिम्मेवारी स्थानीय गाजाका पत्रकारहरूमाथि आएको छ । आफ्नो ज्यान जोखिममा रहे पनि थाबेत गाजाको अवस्थाबारे विश्वलाई जानकारी गराउनु आफ्नो जिम्मेवारी भएको बताउँछिन् । उनका अनुसार अहिले गाजामा भइरहेका युद्ध, हत्या, विनाश र पटक–पटकको विस्थापनको कथा स्थानीय पत्रकारहरूले सकेसम्म विश्वसामु पु¥याउने प्रयास गरिरहेका छन् । ३२ वर्षीय आमेर सुल्तान सन् २०१४ देखि फोटो पत्रकारका रूपमा काम गर्दै आएका छन्। युद्धका क्रममा विशेषगरी राति हुने र कम कभरेज पाउने घटनालाई दस्तावेज गर्न आफू प्रेरित हुने उनी बताउँछन् ।

उनकाअनुसार युद्धले जीवन नै उल्ट्याइदिएको छ। विस्थापन, विनाश, हत्या र जबर्जस्ती घरबार छाड्नुपर्ने अवस्थाबीच आफूले देखेका दृश्यको रिपोर्टिङ गर्नु अत्यन्त कठिन भएको उनले बताए । सन् २०२३ अक्टोबर ७ मा गाजाको जबालिया शरणार्थी शिविरस्थित घरबाट गाजा सिटीमा बढिरहेको घटनाक्रमको रिपोर्टिङ गर्न निस्किएका सुल्तान पछि दक्षिणतर्फ विस्थापित हुनुपरेको थियो। उनका परिवारका सदस्य भने उत्तरमै रहेका थिए । परिवारसँग पुनर्मिलन हुने उनको आशा सन् २०२५ जनवरी १६ मा टुट्यो, जब उनले आफ्नी आमासहित परिवारका १३ जना सदस्य आफ्नै घरभित्र मारिएको खबर पाए । सुल्तानले युद्ध अन्त्य गर्न र प्यालेस्टिनी जनतामाथि भइरहेको हिंसा रोक्न विश्व समुदायसँग आग्रह गरेका छन् । आफू पनि युद्धबाट प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै उनले आफू पहिले एक प्यालेस्टिनी नागरिक भएकाले आफ्नो परिवारमाथि भएको पीडा अन्य सर्वसाधारणको पीडाभन्दा फरक नभएको बताए । गाजास्थित प्यालेस्टिनी पत्रकार संघका उपप्रमुख तहसिन अल–अस्तलका अनुसार थाबेत र सुल्तानजस्ता १ हजार ५ सय भन्दा बढी प्यालेस्टिनी पत्रकार युद्धबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । उनकाअनुसार २५० भन्दा बढी पत्रकार मारिएका छन् भने दर्जनौँ पत्रकार घाइते भएका छन्, केही पत्रकार पटक–पटक घाइते भएका छन् । युद्धका क्रममा १५० भन्दा बढी स्थानीय, अरब तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका कार्यालय र उत्पादन केन्द्रहरू नष्ट वा क्षतिग्रस्त भएको अल–अस्तलले बताएका छन् । गाजाका पत्रकारहरूका लागि युद्धको रिपोर्टिङ केवल व्यावसायिक जिम्मेवारी मात्र नभई आफ्नै परिवार, घर र समुदायमाथि भइरहेको घटनालाई अभिलेख गर्ने संघर्षसमेत बनेको छ ।