
लाओसले युद्धका कारण दशकौँदेखि बाँकी रहेका मानवीय समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य थप सुदृढ गर्न आह्वान गरेको छ । लाओसले क्लस्टर बम तथा विस्फोट नभएका युद्धअवशेषबाट उत्पन्न जोखिम सम्बोधन गर्न कुनै एक देशको प्रयास मात्र पर्याप्त नहुने भन्दै साझा मानवीय जिम्मेवारी आवश्यक रहेको जनाएको हो ।
लाओसका प्रधानमन्त्री सोनेक्साय सिफान्डोनले राजधानी भियन्टियानमा शुरु भएको क्लस्टर मुनिसन्स महासन्धिको तेस्रो समीक्षा सम्मेलनको उद्घाटन गर्दै युद्धका घाउ निको पार्न अन्तर्राष्ट्रिय समुदायको साझा प्रयास आवश्यक रहेको बताउनु भयो । लाओसले आयोजना गरेको सम्मेलन शुक्रवारसम्म सञ्चालन हुनेछ ।


प्रधानमन्त्री सोनेक्सायले लाओसले युएक्सहो सफाइलाई राष्ट्रिय प्राथमिकतामा राखेको जानकारी दिँदै अन्तर्राष्ट्रिय प्रतिवद्धतालाई राष्ट्रिय सामाजिक–आर्थिक विकास योजना तथा दिगो विकास लक्ष्य १८–‘युएक्सओबाट सुरक्षित जीवन’ मा समावेश गरिएको बताउनु भयो ।

उनले सम्मेलनले राजनीतिक प्रतिबद्धतालाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्न सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि युएक्सओ सफाइको गति बढाउने, दूषित भूमिलाई सुरक्षित रूपमा समुदायलाई फिर्ता गर्ने, पीडितलाई सहयोग सुदृढ गर्ने तथा विस्फोटका कारण हुने मानवीय क्षति घटाउने कार्यलाई तिब्र बनाउनुपर्ने उहाँको भनाइ थियो ।




