
पूर्वी स्पेनमा यस साता परेको मुसलधारे वर्षाका कारण एक जनाको मृत्यु भएको छ भने भूमध्यसागरीय तटीय क्षेत्रका विभिन्न भागमा बाढी र यातायात सेवा प्रभावित भएका छन् । उत्तर–पूर्वी स्पेनको कातालोनिया क्षेत्रका आपत्कालीन सेवाले बिहीवार बार्सिलोना प्रान्तको ओलिभेयामा बाढीले बगाएको सवारीसाधनमा सवार एक पुरुषको शव फेला पारेका छन् ।
ती व्यक्ति सवार गाडी बुधबार राति खोलामा पानीको सतह बढेपछि बगेको थियो । गाडीबाट करिव ५०० मिटर टाढा शव भेटिएको कातालोनियाका दमकल अधिकारीहरूले बताएका छन् । घटनाबारे बुधवार राति करिव ११ः०३ बजे स्थानीय समयअनुसार सूचना प्राप्त भएको थियो । एक प्रत्यक्षदर्शीले तिब्र बहावले गाडी बगाएको देखेपछि आपत्कालीन सेवामा खबर गरेका थिए ।


त्यसपछि ११ वटा दमकल टोली, पानीमुनि उद्धारमा विशेषज्ञ टोली र ड्रोनको प्रयोग गरी रातभर खोजी गरिएको थियो । यसैबीच, स्पेनको भूमध्यसागरीय तटीय क्षेत्रका विभिन्न भागमा शक्तिशाली चट्याङसहितको वर्षा भएको छ । विशेषगरी कातालोनिया र पूर्वी भ्यालेन्सिया क्षेत्रमा वर्षाको प्रभाव बढी देखिएको छ । भ्यालेन्सियामा भारी वर्षाका कारण सडकहरू डुबानमा परेका छन् भने सार्वजनिक यातायात सेवा प्रभावित भएको छ ।





