
युक्रेनको राजधानी किएभमा बिहीवार भएको भनिएको रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना बालबालिका रहेको किएभका मेयर भिताली क्लित्स्कोले बताउनुभएको छ । क्लित्स्कोका अनुसार घाइतेमध्ये नौ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
उहाँले टेलिग्राममार्फत घटनाबारे जानकारी दिनुभएको हो । आक्रमणका कारण किएभका द्निप्रोभ्स्की, स्व्यातोशिन्स्की र सोलोम्यान्स्की जिल्लामा नागरिक पूर्वाधारमा क्षति पुगेको क्लित्स्कोले बताउनु भयो ।


क्षतिग्रस्त संरचनामा एउटा कार्यालय भवन, आवासीय संरचना, गोदाम तथा पेट्रोल पम्पसमेत रहेको उहाँले जानकारी दिनुभयो । घटनाबारे रुसले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन ।





