क्यानडालाई ईयूको सहयोगी सदस्य बनाउने प्रश्तावपछि ट्रम्पद्वारा युरोपसँग व्यापार रोक्ने चेतावनी

क्यानडालाई युरोपेली संघ (ईयू) को पहिलो ‘सहयोगी सदस्य’ बनाउने प्रस्ताव अघि बढेमा युरोपसँगको व्यापारमा कडा कदम चाल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिनुभएको छ । ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै ईयूले यस्तो कदमलाई शत्रुतापूर्ण गतिविधिका रूपमा अघि बढाएमा युरोपेली सामानमा धेरै गम्भीर भन्सार महसुल लगाउने वा धेरै क्षेत्रमा व्यापार रोक्ने सम्भावना रहेको बताउनुभएको हो ।

उहाँले क्यानडासँग सम्बन्धित प्रश्तावलाई हास्यास्पद रहेको टिप्पणी गर्नुभयो । ट्रम्पको चेतावनी युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयेनले बुधबार स्ट्रासबर्गमा युरोपेली संसद्मा आफ्नो वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा क्यानडालाई ईयूको पहिलो सहयोगी सदस्य बनाउने प्रश्ताव राखेपछि आएको हो ।

उहाँले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गर्दै क्यानडालाई ईयूको पहिलो सहयोगी सदस्य बनाउने दिशामा काम गर्न चाहेको बताउनुभएको थियो । कार्नीले पछि युरोपेली संसद्मा सम्बोधन गर्दै क्यानडा र युरोपबीच रणनीतिक सहकार्य थप गहिरो बनाउन समर्थन जनाउनु भयो ।

उहाँले महत्वपूर्ण खनिज, कृत्रिम बुद्धिमत्ता, रक्षा, डिजिटल व्यापार र ऊर्जा सुरक्षालगायत क्षेत्रमा सहकार्यको सम्भावना औँल्याउनुभ यो । युरोपेली आयोगले क्यानडासँगको प्रस्ताव कुनै तेस्रो देशविरुद्ध लक्षित नभएको र आपसी आर्थिक तथा रणनीतिक क्षमता बलियो बनाउने उद्देश्य रहेको बताएको छ । हाल ‘सहयोगी सदस्य’को प्रश्तावको ठोस संरचना र कार्यान्वयनसम्बन्धी विवरण भने पूर्ण रूपमा स्पष्ट भइसकेको छैन । ईयूका केही कूटनीतिज्ञहरूले यसको स्वरूप र व्यावहारिक कार्यान्वयनबारे प्रश्न उठाएका छन् ।