
काठमाडौँ । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले युनियन बर्लिनमाथि ७-० गोलको फराकिलो जित निकालेको छ । गएराति एलियान्ज एरिनामा भएको खेलमा बायर्नले पहिलो हाफमै तीन गोल गर्दै खेलमा पूर्ण नियन्त्रण बनाएको थियो ।
बायर्नका लागि जमाल मुसियालाले १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३९औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै अग्रता २-० बनाए । पहिलो हाफ सकिन दुई मिनेटअघि माइकल ओलिसेले गोल गरेपछि बायर्न ३–० ले अघि रह्यो ।


दोस्रो हाफमा पनि बायर्नको आक्रमण रोकिएन । ५४औँ मिनेटमा ओलिसेको पासमा केनले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि इस्माइल सैबारीले ७०औँ मिनेटमा गोल थपे । ओलिसेले ७३औँ र ७६औँ मिनेटमा लगातार दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

यस खेलसँगै केनले बुन्डेसलिगामा १०० गोल पूरा गरेका छन् । उनले प्रतियोगिताको इतिहासमा सबैभन्दा कम खेलमा १०० गोल गर्ने खेलाडीको कीर्तिमानसमेत बनाएका छन् । केनले ९८औँ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । यसअघि डाइटर मुलरले १२३ खेलमा १०० गोल पूरा गरेका थिए । ओलिसेका लागि पनि यो खेल विशेष रह्यो । उनले बुन्डेसलिगामा पहिलोपटक ह्याट्रिक गरेका हुन् । उनको उत्कृष्ट प्रदर्शनसँगै बायर्नले सिजनको चौथो खेलमा प्रभावशाली जित हात पारेको हो ।
यो जितपछि बायर्न म्युनिख चार खेलबाट १० अंक जोड्दै बुन्डेसलिगाको शीर्ष स्थानमा पुगेको छ । युनियन बर्लिन भने चार खेलबाट एक अंकमा सीमित हुँदै तालिकाको १६औँ स्थानमा रहेको छ ।





