बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्वसामु नेतृत्व दायी भुमिका लिनुपर्ने बताउनुभएको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा द ग्रीन टेबल’ को १८ औं श्रृङ्खला “हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालले जलवायु परिवर्तनको मुद्दालाई कसरी हेर्छ ? यसमा साझा दृष्टिकोण कुन रूपमा राख्दछ ? भन्नेकुरा नेपालको साझा दृष्टिकोण बन्नुपर्ने बताउनु भयो । भाषण गरेर फर्किने मात्रै नभइ कार्बन उत्सर्जन कम गरिरहेका संसारभरिका साना सबै राष्ट्रहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्बन उत्सर्जन गरेर आजको सङ्कट र आगामी सङ्कटमा निश्चय नै ठूला राष्ट्रहरूको भुमिका रहेको भन्दै ती ठूला राष्ट्रहरूसँग नेपालले कुनै दुश्मनी, द्वन्द्व नभइ तथ्यमा आधारित भएर पृथ्वीको सङ्कट उपरको समाधानमा सहकार्य गर्ने कुरालाई गहिरो संवादबाट नेपालले नै नेतृत्व गर्ने अग्रसरता गर्नुपर्ने जिकिर गर्नुभयो । यसमा कुटनीतिक परिपक्वता, सहकार्यको वृहत्तर भावना राख्नुपर्ने बताउनु भयो । प्रधानमन्त्रीको सन्देशबाट नेपालले विशाल पृथ्वीको यो रक्षाका लागि एउटा सानो हिमवत्खण्डमा रहेको राष्ट्रले सिङ्गो संसारको नेतृत्व गर्नसक्छ भन्ने सन्देश पनि दिनुपर्ने जिकिर गर्नुभयो । महासभामा प्रधानमन्त्रीले जलवायु परिवर्तनको कारण हामीले भोग्नुपरेको मानवीय क्षति र भौतिक क्षतिको तथ्यपूर्ण विवरण राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब नेपाल देशले जलवायु परिवर्तनको मुद्दालाई कसरी हेर्छ ? यसमा साझा दृष्टिकोण कुन रूपमा राख्दछ ? यो पहिला एउटा राष्ट्रिय रूपमा नेपालको नीति बनेर दृष्टिकोण बनेर उभिने कुरो नै पहिलो टर्निङ पोइन्ट भन्ने विषय हो । दोस्रो अन्तर्राष्ट्रिय मञ्चमा गएर सम्माननीय प्रधानमन्त्रीजीले बोल्ने र बोलेर केही कुरा राखेर फर्किने मात्रै होइन । कार्बन उत्सर्जन कम गरिरहेका संसारभरिका साना सबै राष्ट्रहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल देश लाग्नुपर्छ । तेस्रो कुरो, कार्बन उत्सर्जन गरेर आजको सङ्कट र आगामी सङ्कटमा निश्चय नै ठूला राष्ट्रहरूको भूमिका छ । तर ती ठूला राष्ट्रहरूसँग हामीले कुनै दुश्मनीको कुरो, द्वन्द्वको कुरो होइन । तथ्यमा आधारित भएर यो पृथ्वीको सङ्कट उपरको समाधानमा सहकार्य गर्ने कुरालाई गहिरो संवादबाट नेपाल देशले नै नेतृत्व गर्ने अग्रसरता गरेर त्यो संवाद बढाएर जानुपर्छ । यसको लागि कुनै मोर्चाबन्दीको कुरा होइन । यसमा राख्नुपर्ने कुटनीतिक परिपक्वता, यसमा राख्नुपर्ने सहकार्यको वृहत्तर भावना, यसमा राख्नुपर्ने पृथ्वी जोगिनुपर्ने साझा दायित्वको विषय, यसमा राख्नुपर्ने मानवीयताको साझा कोणको विषयलाई नेपालले प्रतिनिधित्व गर्नुपर्छ र अन्ततः विशाल पृथ्वीको यो रक्षाका लागि एउटा सानो हिमवत्खण्डमा रहेको राष्ट्रले सिङ्गो संसारको नेतृत्व गर्नसक्छ भन्ने सन्देश पनि दिनुपर्छ ।

हामीले यसरी यसलाई टर्निङ पोइन्टको रूपमा, कोसेढुङ्गा बनाउनुपर्छ । सम्माननीय प्रधानमन्त्रीले संयुक्त राष्ट्र सङ्घमा तीन–चारवटा कोणबाट कुरा राख्नुपर्छ भन्ने हामी भोलि भेटेर पनि उहाँलाई भोलि या पर्सि भेटेर पनि हाम्रा कुराहरू लिखित रूपमा पनि राख्छौँ । नीति प्रतिष्ठानका साथीहरूले यस सम्बन्धी तयारी पनि गरिरहनुभएको छ । प्रधानमन्त्रीजीले पहिलो जलवायु परिवर्तनको कारण हामीले भोग्नुपरेको मानवीय क्षति र भौतिक क्षतिको तथ्यपूर्ण विवरण राख्नुपर्छ । आजसम्म आइपुगेको विवरणले के भन्छ ? १४ सय बढीको मृत्यु भाछ । मृत्युको तथ्याङ्क पनि राख्दै गर्दाखेरि केही भावनात्मक कुराहरू पनि प्रधानमन्त्रीजीको तर्फबाट युएनको मञ्चमा संसारको मञ्चले सुन्ने गरी राखिनुपर्छ । म सम्झिन्छु खुशबू कार्कीलाई, जो ११ वर्षकी केवल छिन् र सिन्धुपाल्चोकमा पिताजीको क्रिया कर्ममा बसेकी छिन् र उसका आँखा टोलाइराखेर बाटोतिर बाबा आउनुहुन्छ कि भनेर हेरिराछ । आजको तथ्याङ्क सार्वजनिक भएको, राष्ट्रिय बाल अधिकार परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनले भन्छ, ४९ जना बालिका र ५३ जना बालकले दुई वटै अभिभावक गुमाएका छन् । ६ हजारभन्दा बढी बेपत्ता छन् । संयुक्त राष्ट्र सङ्घमा सिङ्गो संसारको सबै साना राष्ट्रहरूको नेतृत्व गरिराखेर, सबै राष्ट्रहरूलाई घच्घच्याउँदै नेपालको अहिलेको क्षतिको सन्दर्भमा लस, हामीले क्लेम गर्नुपर्ने कुरा मात्रै होइन, दीर्घगामी रूपमा एउटा दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारको प्रतिनिधित्व गर्दै नेपालको तर्फबाट साझा रूपमा राख्नुपर्छ भन्ने मलाई लाग्छ ।’

उपसभापति शर्माले प्रधानमन्त्री बालेन्द्र साहले दीर्घगामी रूपमा एउटा दूरदर्शी राजनीतिज्ञ बनेर सिङ्गो संसारको प्रतिनिधित्व गर्दै नेपालको तर्फबाट साझा रूपमा धारणा राख्नुपर्ने बताउनु भयो ।