
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई भाषणमा सीमित नराखी नागरिकको दैनिक जीवनमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक संस्कारमा परिवर्तन आवश्यक रहेको बताएका हुन्।


उनले भने- ‘हामीले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुन्छ र संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुन्छन्। यसका लागि आज हामी संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौँ ।’

राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र प्रभावकारी सार्वजनिक सेवा आवश्यक रहेको बताए ।
उनले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सके मात्र लोकतन्त्र बलियो हुने बताएका छन् । संविधान कागजमा लेखिएका शब्द वा वाक्यको सङ्ग्रह मात्र नभई नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको उनको भनाइ थियो । उनले संविधान दिवस विपत्तिको पीडासँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको दिन पनि भएको बताए ।





