नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील क्षेत्रमा रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले विशाल जनसङ्ख्या र विकसित मुलुकहरूको बीचमा नेपाल रहेको भन्दै देशका समस्या र आवश्यकताप्रति संवेदनशील हुनुपर्ने बताउनुभएको हो । उहाँले नेपाल उत्तर र दक्षिणतर्फका ठूला छिमेकी मुलुकहरूको बीचमा रहेको उल्लेख गर्नुभयो ।

नेपालको जनसङ्ख्या करिव तीन करोड रहेको र दक्षिण तथा उत्तरतर्फका छिमेकी मुलुकको जनसङ्ख्या निकै ठूलो रहेको उल्लेख गर्दै उहाँले नेपालको भौगोलिक अवस्थिति र यसको संवेदनशीलतालाई दीर्घकालीन नीतिका माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वराष्ट्रपति भण्डारीले प्राकृतिक सुन्दरता र महत्त्वका हिसावले नेपाल सम्पन्न भएपनि विपद् तथा अन्य समस्याको दीर्घकालीन समाधान गर्न नसक्दा पटक–पटक तत्कालीन समस्या झेल्नुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भौगोलिक रूपले मात्रै होइन कि राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ । ठूलाठूला विशाल जनसङ्ख्या भएको धेरै विकास गरेका देशहरूको बिचमा छौँ । हाम्रा आवश्यकताहरू, हाम्रा समस्याहरू उहाँहरूले अलिकति दुई जनाले दुईतिरबाट अलिकति हात उठाइदिनुभयो भने सबै समस्या समाधान हुने जस्तो । हामी करिव ३ करोड जनसङ्ख्यामा हौँला । र हाम्रो दक्षिण छिमेकी झन्डै डेढ अर्ब पुग्न लाग्यो । डाटामा एकैचोटि त नजाऊँ तर पनि अहिले करिव त्यो ठाउँमा पुगिरहेका छन् भने उत्तरतिर पनि त्यस्तै नै हो । अब प्राकृतिक सुन्दरता र वास्तवमा यसको महत्वको हिसावले भने हामी सम्पन्न पनि छौँ । तर त्यति हुँदाहुँदै पनि हामीलाई हुने हरेक समस्या हामीले दीर्घकालीन त्यसको समाधान गर्ने भन्दा पनि तत्काल तत्काल समस्याहरू आइपर्ने, विपद आइपर्ने त्यो खालको हामीले झेलिरहेका छौँ र भौगोलिक हिसावले र अह राजनीतिक हिसाबले दुवै हिसाबले चाहिँ हामी अति संवेदनशील क्षेत्रमा रहेका छौँ ।’

नेपाल भौगोलिक तथा राजनीतिक रूपमा संवेदनशील क्षेत्रमा रहेकाले विपद् व्यवस्थापनसहित दीर्घकालीन समस्या समाधानमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।