आत्मनिर्भर नभई अन्तरनिर्भर अर्थतन्त्र निर्माण सम्भव छैनः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले व्यापार घाटा कम गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उहाँले आत्मनिर्भर नभई अन्तरनिर्भर अर्थतन्त्र निर्माण गर्न नसकिने बताउनुभएको हो ।

नेपालको आर्थिक अवस्थाबारे धेरै छलफल हुने गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको व्यापार घाटा ठूलो रहेको बताउनु भयो । अर्थशास्त्री तथा विज्ञहरूले व्यापार घाटाको समस्या समाधानका लागि अन्तरनिर्भर अर्थतन्त्रमा जोड दिने गरेको भएपनि अन्तरनिर्भर हुनुअघि आत्मनिर्भर बन्नुपर्ने उहाँको भनाइ छ ।

नेपालमा उत्पादन भएका वस्तुको हिस्सा कति छ भन्ने प्रश्न उठाउँदै उहाँले ठूलो व्यापार कारोबार भए पनि त्यसबाट मुलुकको उत्पादन र अर्थतन्त्रले पर्याप्त लाभ लिन नसकेको बताउनु भयो । पूर्वराष्ट्रपति भण्डारीले नेपालको अर्थतन्त्रको अवस्थाप्रति असन्तुष्टि जनाउँदै आफूले विगतमा ‘नेपालको अर्थतन्त्र खुट्टाले टेकेर हिँड्नुपर्नेमा टाउकाले टेकेको’ टिप्पणी गरेको स्मरण गर्नुभयो । उहाँले नेपालको आर्थिक तथा राजनीतिक अवस्थाको मूल्याङ्कन गर्दा कुनै निश्चित शासन व्यवस्थालाई दोष दिनुभन्दा दीर्घकालीन अवधिको समग्र मूल्याङ्कन गर्नुपर्ने बताउनु भयो । राष्ट्रिय हितलाई केन्द्रमा राखेर मुलुकको आर्थिक तथा सामाजिक अवस्थाबारे बहस गर्नुपर्ने उहाँको भनाइ छ । ठूला विपद् तथा संकटहरू आइरहने अवस्थामा त्यसको सामना गर्न राष्ट्रिय भावना र राष्ट्रिय एकता आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अन्तरनिर्भर हुनलाई पनि आत्मनिर्भर हुनुपर्यो । नभएदेखि जम्मा तपाईंको वार्षिक २४ खर्बको वैदेशिक कारोबार हुन्छ, व्यापार हुन्छ भनेर भन्दिनुहुन्छ । जनताले सुन्दा ओहो, यत्रो धेरै हुँदोरहेछ हाम्रो भन्ने हुन्छ । अनि भित्रतिर सबै हेर्दै जाने हो भने फेरि १९ खर्ब जति त व्यापार घाटा नै भइदिन्छ । हाम्रो यी समस्याहरू समाधान गर्नको लागि हामीले अलिकति राष्ट्रिय भावना र राष्ट्रिय एकता विचारमा त्यस्ता एजेण्डाहरू तय गरेर एक ठाउँमा चाहिँ उभिनै पर्छ ।’
उहाँले राष्ट्रिय समस्या समाधानका लागि साझा एजेण्डा तय गरी सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।