
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई भाषणमा सीमित नराखी नागरिकको दैनिक जीवनमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक संस्कारमा परिवर्तन आवश्यक रहेको बताएका हुन् । उनले भने- ‘हामीले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुन्छ र संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुन्छन्। यसका लागि आज हामी संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौँ ।’ राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र प्रभावकारी सार्वजनिक सेवा आवश्यक रहेको बताए । उनले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सके मात्र लोकतन्त्र बलियो हुने बताएका छन् । संविधान कागजमा लेखिएका शब्द वा वाक्यको सङ्ग्रह मात्र नभई नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको उनको भनाइ थियो । उनले संविधान दिवस विपत्तिको पीडासँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको दिन पनि भएको बताए ।


२- नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्बजनिक गरेको हो । एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ । जसअनुसार उद्घाटन खेलमा कार्तिक ९ गते लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुने भएका छन् । त्यस्तै लिग चरणको अन्तिम खेल कार्तिक २९ गते चितवन राइनोज र कर्णाली याक्स तथा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच खेल हुने भएको छ । त्यस्तै प्लेअफ अन्तर्गत पहिलो क्वालिफायर खेल मङ्सिर १ गते, इलिमिनेटरको खेल मङ्सिर २ गते र दोस्रो क्वालिफायर मङ्सिर ३ गते हुने तालिका क्यानले सार्बजनिक गरेको छ । त्यस्तै एनपीएलको फाइनल खेल मङ्सिर ५ गते हुने भएको छ । एनपीएलको यस सिजनमा ६ दिन एक खेल हुने छन् भने ११ दिन दुई खेल हुने छन् । त्यस्तै एक खेल हुने दिन खेल अपराहन्न साढे ४ बजे शुरु हुने छ । त्यस्तै दुई खेल हुने दिन पहिलो खेल दिउसो साढे १२ बजे र दोस्रो खेल अपराहन्न साढे ४ बजेदेखि शुरु हुने क्यानले जानकारी दिएको छ ।

३- अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले पहिचान हुन नसकेका हवाई घटनासम्बन्धी आफ्नो अभिलेखको छैटौँ समूह सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका दस्तावेजमा गोप्य सैन्य अनुसन्धान कार्यक्रम, रहस्यमय हवाई घटनासँग जोडिएका भनिएका चोटपटक तथा दशकौँ लामो सरकारी अनुसन्धानका विवरण समेटिएका छन् । पछिल्लो सार्वजनिक विवरणमा सन् १९५२ देखि २०२५ सम्मका ७१ वटा अभिलेख छन् । तीमध्ये ६७ वटा अमेरिकी रक्षा मन्त्रालय र चारवटा कोलोराडोका स्थानीय सुरक्षा निकायबाट प्राप्त भएका हुन् । अभिलेखमा ५५ वटा पिडिएफ दस्तावेज, १५ वटा भिडियो र एउटा श्रव्य रेकर्डिङ छन्। अधिकांश सामग्रीमा केही विवरण हटाइएको छ । सबैभन्दा महत्वपूर्ण विवरण सन् २००८ मा रक्षा गुप्तचर निकायले स्थापना गरेको उन्नत हवाई हतियार प्रणाली अनुप्रयोग कार्यक्रमसँग सम्बन्धित छन् । उक्त कार्यक्रमले सन् २०५० सम्म देखिन सक्ने सम्भावित हवाई सुरक्षा जोखिम र नयाँ प्रविधिको अध्ययन गरेको थियो। कार्यक्रम सन् २०१२ मा समाप्त भएको थियो । सार्वजनिक गरिएका सामग्रीमा ३७ वटा रक्षा गुप्तचर सन्दर्भ दस्तावेज पनि छन् । ती दस्तावेजमा अन्तरिक्षका सुरुङ, अत्यन्त तीव्र गतिमा यात्रा गर्ने सम्भावित प्रविधि, गुरुत्वाकर्षणविहीन प्रविधि, नकारात्मक द्रव्यमानमा आधारित चाल प्रणाली र अदृश्य हुने प्रविधिजस्ता विषयको अध्ययन गरिएको छ । यी दस्तावेज यसअघि नै सूचनाको स्वतन्त्रता कानुनअन्तर्गत सार्वजनिक भइसकेका थिए । तर पछिल्लो संस्करणमा ती तयार पार्ने सरकारी निकायका केही कार्यालयको नामसहित थप विवरण समेटिएको छ । पेन्टागनले भने यी सामग्री मौलिक अनुसन्धान नभई विभिन्न अवधारणाको अध्ययन र सन्दर्भ सामग्री मात्र भएको स्पष्ट पारेको छ। त्यसैले दस्तावेजमा उल्लेखित अवधारणालाई प्रमाणित भएको तथ्यका रूपमा नलिन पनि पेन्टागनले जनाएको छ । सन् २०१० को ३८ पृष्ठ लामो एउटा अध्ययनमा असामान्य हवाई प्रणालीसँग सम्बन्धित भनिएका चोटपटकका घटनाको विश्लेषण गरिएको छ। अध्ययनमा तीन जना विद्युतीय सञ्चार उपकरणका इन्जिनियरले रहस्यमय घटना अनुभव गरेपछि छालामा रातोपन, अत्यधिक गर्मीको असर र कपाल झर्ने लगायतका समस्या देखिएको उल्लेख छ । एउटा घटनामा उनीहरूमा विकिरणजन्य रोगका लक्षण देखिएको र केही वर्षपछि घातक प्रकृतिका परिवर्तन देखिएको दाबी गरिएको छ । यस्ता विवरण भने अध्ययनमा समेटिएका रिपोर्ट तथा दाबीमा आधारित रहेको देखिन्छ । नयाँ अभिलेखमा सैन्य क्यामेराबाट खिचिएका पहिचान हुन नसकेका वस्तुका भिडियो पनि छन्। सन् २०२२ मा मध्यपूर्वमा रेकर्ड गरिएको एउटा घटनामा त्यस्तो वस्तु प्रतिघण्टा करिब ८० देखि १८० माइलको गतिमा अघि बढेको उल्लेख छ । अर्को भिडियोमा साना गोलाकार छवटा वस्तु देखिएका छन्, जसले पटक–पटक दिशा परिवर्तन गरेको बताइएको छ । ऐतिहासिक अभिलेखमा सन् १९५२ को अमेरिकी वायुसेनाका अधिकारी एडवर्ड रुपेल्टसँग सम्बन्धित रेकर्डिङ पनि समावेश छ। उनले त्यतिबेला गरिएको युएफओ अनुसन्धानबारे बोल्दै करिब ८ सय रिपोर्टमध्ये झन्डै २० प्रतिशत घटना समाधान हुन नसकेको बताएका थिए । यसैबीच, पेन्टागनले वर्तमान तथा पूर्वकर्मचारीलाई पनि असामान्य हवाई घटनासम्बन्धी जानकारी सरकारसमक्ष उपलब्ध गराउन सक्ने कानुनी व्यवस्था ल्याएको छ। गैरप्रकटीकरण सम्झौतामा बाँधिएका कर्मचारीलाई समेत सम्बन्धित जानकारी सरकारलाई दिन सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताइएको छ ।
४- नेपालको पुनःस्थापना तथा राहत कार्यमा भारतले सहयोग जारी राखेको छ । भारतले पठाएको ११ टन राहत सामग्रीसहितको नवौँ उडान काठमाडौं आइपुगेको हो । भारतीय वायु सेनाको विमानमार्फत ल्याइएको सामग्रीमा पाल, औषधि, सुत्ने झोला, सरसफाइ सामग्री तथा घटनास्थल अनुसन्धानमा प्रयोग हुने सामग्रीलगायत आवश्यक राहत सामग्री रहेका छन् । उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । भारतले नेपालको पुनःस्थापना प्रयासमा निरन्तर सहयोग गर्ने जनाएको छ ।


५- एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले एशियाली खेलकुदमा खेल्न जाने नेपाली क्रिकेट टिमको शनिबार बिदाई गरेको हो । क्रिकेटका सबै खेलहरु जापानको नागोयास्थित पालोमा मिजुहो रङ्गशालामा सञ्चालन हुने र सबै खेल टी-२० ढाँचामा हुनेछन् । पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ । समूह चरणका खेल सेप्टेम्बर २४ देखि २६ सम्म सञ्चालन हुनेछन् । नेपालले सेप्टेम्बर २५ मा अफगानिस्तानसँग र सेप्टेम्बर २६ मा जापानसँग खेल्ने तालिका छ । समूह ‘ए’ मा नेपालसहित अफगानिस्तान र जापान छन् । समूह ‘बी’ मा हङकङ चीन, मलेसिया र ओमान रहेका छन् । समूह चरणपछि क्वार्टरफाइनल सेप्टेम्बर २८ र २९ मा हुनेछन् । पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशले क्वार्टरफाइनलबाट प्रतियोगिता सुरु गर्नेछन् । सेमिफाइनल अक्टोबर १ तथा कांस्य पदकको खेल र फाइनल अक्टोबर ३ मा हुने तालिका छ । प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टिम चयन गरिएको हो । टिममा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा, कुशल मल्ल र लोकेश बम रहेका छन् । सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ भारतले स्वर्ण पदक जितेको थियो । पाकिस्तानलाई हराउँदै बंगलादेशले कांस्य पदक जितेको थियो । महिला क्रिकेटमा भारतले स्वर्ण, श्रीलंकाले रजत र बंगलादेशले कांस्य पदक जितेका थिए ।

६- जापानको नागोयास्थित मिजुहो एथलेटिक्स रंगशालामा भव्य समारोहबीच एसियाली खेलकुदको २०औँ संस्करण उद्घाटन भएको छ। जापानका सम्राट नारुहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाली टोलीका सेभ द मिसन विशाल श्रेष्ठको नेतृत्वमा नेपाली टोलीले मार्चपास्टमा सहभागिता जनाएको थियो । मार्चपास्टमा नेपाली टोलीको झण्डा बक्सिङ खेलाडी चन्द्रबहादुर थापा र कबड्डी खेलाडी मानमती बिष्टले बोकेका थिए । २०औँ एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा १ सय ३५ खेलाडी सहभागी छन् ।
७- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने दिल्ली भ्रमण सम्पन्न गरी आज काठमाडौँ फर्किएका छन् । दिल्लीस्थित विमानस्थलमा उनलाई भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महाव र भारतका लागि नेपालका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले बिदाइ गरेका थिए । भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र वित्तमन्त्री निर्मला सितारमणसँग भेटवार्ता गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा आर्थिक सहकार्य अघि बढाउने विषयमा उच्चस्तरीय द्विपक्षीय, आर्थिक तथा नीतिगत छलफल गरेका थिए ।
८- चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा करेन्ट लागेर ‘रोनाल्डो’ नामक जङ्गली हात्तीको मृत्यु भएको छ । शनिबार बिहान टिकौली मध्यवर्ती सामुदायिक वनको कार्यालय भवनबाट करिब ६ सय मिटर दक्षिणतर्फ बीसहजारी ताल जाने खगेरी नहरको बाटोमा हात्ती मृत अवस्थामा फेला परेको हो । निकुञ्जका अनुसार वरण्डाभार सुरक्षा पोस्टका लागि विद्युतीकरण गर्न लगिएको करिब १६ फिट अग्लो पोलबाट तार तानेर मुखले टोकेको अवस्थामा हात्ती फेला परेको थियो । प्रारम्भिक स्थलगत जाँचका क्रममा विद्युतीय करेन्ट प्रवाह भएर हात्तीको मृत्यु भएको अनुमान गरिएको छ । अन्दाजी ४५ वर्षको उक्त हात्ती लामो समयदेखि चितवन राष्ट्रिय निकुञ्ज, खोरसोर वन क्षेत्र तथा आसपासका मध्यवर्ती वन क्षेत्रमा विचरण गर्दै आएको थियो । निकुञ्ज कार्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत जैविक विविधता संरक्षण केन्द्र, सौराहाका पशु चिकित्सक तथा प्राविधिकको टोलीले शव परीक्षण गरेको थियो । शव परीक्षणपछि हात्तीका दुवै दारा सुरक्षित राखेर आवश्यक प्रक्रिया पूरा गरी शवलाई सोही स्थानमा खाडल खनेर गाडिएको निकुञ्जले जनाएको छ ।
९- भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन व्यक्तिको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ शव फेला पारेर निकालिएको छ । नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा सुरुङभित्रको जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा ती शव फेला पारेको हो । शवहरू शनिबार उद्धार गरी बाहिर निकालिएको र सम्पर्कविहीन अन्य व्यक्तिको खोजी कार्य भने जारी रहेको सेनाले जानकारी दिएको छ ।

१०- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्बन उत्सर्जनका लागि विकासशील देशलाई गलत रूपमा जिम्मेवार ठहराइने गरेको बताएका छन् । शनिबार नयाँदिल्लीस्थित विज्ञान भवनमा वातावरण तथा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मोदीले भारतको प्रतिव्यक्ति कार्बन उत्सर्जन विश्वको औसतभन्दा आधाभन्दा पनि कम रहेको बताएका हुन् । उनले भने- ‘विकसित देशको प्रतिव्यक्ति कार्बन उत्सर्जन भारतको तुलनामा ६ गुणा बढी छ । भारतले यो तथ्यलाई अन्तर्राष्ट्रिय मञ्चमा दृढतापूर्वक राख्दै आएको छ ।’ मोदीले पछिल्लो १२ वर्षमा भारतले वातावरण संरक्षणका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरेको दाबी गरे । उनले नवीकरणीय ऊर्जामा विशेष ध्यान दिइएको र यसको विस्तारले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
११- दीपकराज गिरी र दीपाश्री निरौला समूहको नयाँ फिल्म ‘छ माया छपक्कै २’ दसैँको फूलपाती अर्थात् असोज ३१ गतेदेखि प्रदर्शनमा आउने भएको छ । शनिबार सार्वजनिक गरिएको पहिलो पोस्टरमा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई देखिएका छन्। पोस्टरमा केकी र सनिशालाई गर्भवती अवस्थामा प्रस्तुत गरिएको छ भने दीपकलाई कृष्णको शैलीमा बाँसुरी बजाइरहेको देखाइएको छ । दीपेन्द्र लामाको निर्देशन तथा दीपकराज गिरीको लेखन रहेको फिल्ममा निर्मल शर्मा, कर्मा शाक्य, जितु नेपाल, रिहान गिरी र रवीन्द्र झासहितका कलाकारको अभिनय छ । रोहित अधिकारी निर्माता रहेको फिल्ममा दीपक–दीपा समूहसँग उनको यो दोस्रो सहकार्य हो ।
१२- सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ५५ टोलीका ५७९ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबापत १५ लाख ४६ हजार ९४३ अमेरिकी डलर अर्थात् २३ करोड ५१ लाख ८३ हजार २३२ रुपैयाँ रोयल्टी संकलन भएको छ । आरोहण अनुमति लिनेमा ४३२ जना पुरुष र १४७ जना महिला रहेका छन् । सबैभन्दा धेरै आरोही मनास्लु हिमालका लागि रहेका छन् । मनास्लु आरोहणका लागि ४१ टोलीका ४९३ जनाले अनुमति लिएका छन् । तीमध्ये ३६६ जना पुरुष र १२७ जना महिला छन् । मनास्लुबाट मात्रै १४ लाख ७९ हजार अमेरिकी डलर अर्थात् २२ करोड ४८ लाख १४ हजार १८९ रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यस्तै, मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन् । त्यसबाट ४ हजार ५०० अमेरिकी डलर रोयल्टी संकलन भएको छ । त्यस्तै डाङ्गा हिमाल आरोहणका लागि दुई टोलीका १६ जनाले अनुमति लिएका छन् भने धौलागिरि प्रथम आरोहणका लागि ४ टोलीका ३४ जनाले अनुमति लिएको विभागले जानकारी दिएको छ । त्यसैगरी, गङ्गापूर्ण पश्चिम आरोहणका लागि एक टोलीका दुई जना, थोराङ पिकका लागि एक टोलीका सात जना, नोर्बु खाङका लागि एक टोलीका दुई जनाले, अन्नपूर्ण चौथोका लागि एक टोलीका चार जना र चाम्लाङ आरोहणका लागि एक टोलीका छ जनाले अनुमति लिएको विभागले जनाएको छ । त्यस्तै बरुण टिसे आरोहणका लागि एक समुहका १० जना र लमजुंग हिमालका लागि १ समुहका २ जनाले अनुमति लिएका छन् ।
१३- गुगलको कृत्रिम बुद्धिमत्ता प्रणाली जेमिनीले साइबर सुरक्षा क्षमताको परीक्षणका क्रममा आफैँ तीनवटा कम्पनीको प्रणालीमा अनधिकृत पहुँच बनाएको गुगलले जनाएको छ । यो आफैँले यस्तो कार्य गरेको पहिलो ज्ञात घटना भएको बताइएको छ । गुगलका अनुसार जेमिनीले इन्टरनेटमा उपलब्ध सार्वजनिक सूचना प्रयोग गर्दै परीक्षणसँग सम्बन्धित ठानेका वेबसाइटमा प्रवेश गर्न प्रयोगकर्ता विवरणसमेत अनुमान गरेको थियो । तर प्रत्येक घटनामा जेमिनी आफैँ रोकिएको गुगलले जनाएको छ । प्रभावित तीनवटै कम्पनीलाई घटनाबारे जानकारी गराइएको छ । यी घटना मे महिनामा साइबर सुरक्षा परीक्षण गर्ने स्वतन्त्र कम्पनीले गरेको परीक्षणका क्रममा भएका थिए । पछिल्लो समय अन्य कृत्रिम बुद्धिमत्ता प्रणालीबाट पनि यस्तै घटना सार्वजनिक भएका छन् । यसअघि एन्थ्रोपिकको क्लाउडले परीक्षण वातावरणबाट बाहिरिएर तीन संस्थाको प्रणालीमा आफैँ प्रवेश गरेको र ओपनएआईका प्रणालीले पनि सार्वजनिक रूपमा उपलब्ध केही सेवामाथि साइबर आक्रमण गरेको जानकारी आएको थियो । कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै यसको सुरक्षा, नियमन र सम्भावित जोखिमबारे विश्वव्यापी बहस बढिरहेका बेला जेमिनीको यो घटनाले थप चासो बढाएको छ ।

१४- अमेरिका र डेनमार्कले ग्रिनल्यान्डको सुरक्षासम्बन्धी सम्झौतामा सहमति गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जा गर्ने चेतावनी दिएपछि उत्पन्न कूटनीतिक विवादबीच यो सहमति भएको हो । ट्रम्पले सम्झौताले अमेरिकालाई ग्रिनल्यान्डको सुरक्षा र अन्य आवश्यकतामा स्थायी नियन्त्रण दिने बताएका छन् । तर डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले सम्झौताले आर्कटिक र उत्तर एट्लान्टिक क्षेत्रको सुरक्षा बलियो बनाउने बताउँदै डेनमार्कको सार्वभौमिकता र ग्रिनल्यान्डवासीको आत्मनिर्णयको अधिकार कायम रहने स्पष्ट पारेकी छन् । सम्झौताअनुसार रुस र चीनजस्ता गैरनाटो देशलाई ग्रिनल्यान्डमा सैन्य उपस्थिति राख्न वा संवेदनशील क्षेत्रमा लगानी गर्न रोक लगाइने बताइएको छ । अमेरिकाले ग्रिनल्यान्डमा थप सैन्य संरचना निर्माण गर्न तथा स्थायी रूपमा सैन्य पहुँच र हवाई उडान अधिकार पाउने उल्लेख गरिएको छ । सम्झौताको पूर्ण पाठ भने सार्वजनिक गरिएको छैन । यसलाई अर्को साता संयुक्त राष्ट्रसंघको महासभाका क्रममा हस्ताक्षर गर्ने तयारी गरिएको बताइएको छ ।
१५- प्रधानसेनापति महारथी अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए । भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले चिनियाँ रक्षामन्त्री तथा उच्च सैनिक अधिकारीसँग भेटवार्ता गरेका थिए । उनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयसहित चिनियाँ सैनिक तालिम तथा शिक्षण संस्था र विभिन्न सैनिक एकाइको निरीक्षणसमेत गरेका थिए । चीनमा रहँदा उनले बेइजिङमा आयोजित तेह्रौँ स्याङसान मञ्चमा सहभागिता जनाएका थिए । नेपाली सेनाले प्रधानसेनापतिको चीन भ्रमणले नेपाल र चीनबीचको सौहार्दपूर्ण द्विपक्षीय तथा सैनिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

१६- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण अहिलेसम्म १ हजार ४११ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १९९ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४०९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २९२ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९१ गरी कुल ३ हजार २७७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
१७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ती सञ्चार संस्थाले निरन्तर ‘झूटा समाचार’ सम्प्रेषण गरेको आरोप लगाउँदै उनले प्रतिबन्ध तत्काल लागू हुने बताएका छन् । ट्रम्पले अन्य सञ्चार संस्थामाथि पनि यस्तै प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन्। यसअघि सन् २०२५ मा उनले एसोसिएटेड प्रेसका पत्रकारलाई पनि ह्वाइट हाउस तथा राष्ट्रपतिको विमानमा प्रवेश गर्न रोक लगाएका थिए । ट्रम्प लामो समयदेखि सीएनएनसहित आफूविरुद्ध समाचार सम्प्रेषण गर्ने सञ्चार संस्थाको आलोचना गर्दै आएका छन् । पछिल्लो निर्णयले अमेरिकामा प्रेस स्वतन्त्रता र सञ्चार संस्थाको ह्वाइट हाउस पहुँचबारे बहस थप चर्किएको छ ।
१८- प्रधानमन्त्री बालेन शाहले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको बताए । उनले भने, ‘यो संविधानले नेपाली जनतासँग विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य तथा विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाज निर्माण गर्ने बाचा गरेको छ ।’ बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी शासनलाई सरकारका लागि केवल सर्तका रूपमा नभई राष्ट्रिय जीवनका आधारका रूपमा लिनुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिए । ‘संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र क्रियाशील भएन भने त्यो एउटा कागज मात्र बन्नेछ,’ उनले भने ।
१९- नेपालले भदौ महिनामा ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागले सार्वजनिक गरेको विवरणअनुसार भदौमा भारत र बंगलादेशतर्फ विभिन्न माध्यमबाट कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो । प्राधिकरणका अनुसार उक्त विद्युत् निर्यातबाट ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २८२ रुपैयाँ आम्दानी भएको छ । कुल निर्यातमध्ये द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख २१ हजार २८८ युनिट र विद्युत् बजारमार्फत १४ करोड ३९ लाख ८५ हजार १५५ युनिट निर्यात भएको छ । द्विपक्षीय सम्झौतामार्फत गरिएको विद्युत् निर्यातबाट ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २९९ रुपैयाँ तथा विद्युत् बजारमार्फत १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९८३ रुपैयाँ आम्दानी भएको विवरणमा उल्लेख छ । भदौमा कुल विद्युत् निर्यातको ठूलो हिस्सा द्विपक्षीय सम्झौतामार्फत भएको थियो । भारतका हरियाणा र बिहार राज्यसँगै बंगलादेशतर्फ पनि विद्युत् निर्यात गरिएको थियो । तर भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको छ । अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात पुनः सञ्चालन गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ ।
२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र इरानमाथि प्रतिबन्धसँग सम्बन्धित नयाँ कानुनमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसका अनुसार ट्रम्पले १८ सेप्टेम्बर २०२६ मा एचआर ५३३४ लाई कानुनको रूप दिएका हुन् । ‘लिन्डसे ओ. ग्राहम प्रतिबन्ध रुस तथा इरान कानुन २०२६’ नाम दिइएको यो कानुनले रुसमाथि प्रतिबन्ध, महसुल तथा अन्य आर्थिक पाबन्दीको दायरा विस्तार गरेको छ भने इरानमाथि यसअघि लगाइएका प्रतिबन्धलाई पनि निरन्तरता दिएको छ । नयाँ कानुनले रुसी नेतृत्व र ऊर्जा क्षेत्रलाई लक्षित गरेको छ। त्यस्तै रुसको रक्षा उद्योगसँग सहकार्य गर्ने व्यक्ति तथा संस्थामाथि पनि कारबाही गर्न सकिने व्यवस्था गरिएको छ । रुसको ऊर्जा कारोबार तथा प्रतिबन्ध छल्न सहयोग गर्ने भनिएको ‘छायाँ जहाजी बेडा’सँग सम्बन्धित व्यक्ति र संस्थालाई पनि कानुनको दायरामा ल्याइएको छ । यसअन्तर्गत त्यस्ता जहाजका मालिक, सञ्चालक, व्यवस्थापक, बिमा कम्पनी तथा अन्य सम्बन्धित पक्षमाथि कारबाही हुन सक्ने व्यवस्था छ । कानुनले रुसबाट कच्चा तेल वा प्राकृतिक ग्यास खरिद गर्ने केही देशका सामानमा अधिकतम १०० प्रतिशतसम्म अतिरिक्त महसुल लगाउन अमेरिकी राष्ट्रपतिलाई अधिकार दिएको छ । भारत र चीनजस्ता रुसबाट ठूलो मात्रामा ऊर्जा खरिद गर्ने देश पनि यस व्यवस्थाको सम्भावित दायरामा पर्न सक्छन् । यद्यपि, यसको अर्थ भारत वा चीनमाथि तत्काल १०० प्रतिशत महसुल लगाइएको भन्ने होइन। कुन देशमाथि कति महसुल लगाउने भन्ने निर्णय गर्ने अधिकार राष्ट्रपतिलाई दिइएको छ । नयाँ कानुनमा राष्ट्रपतिलाई अधिकतम १०० प्रतिशतसम्म महसुल लगाउन सक्ने अधिकार दिइएको छ । तर यो व्यवस्था स्वतः सबै देशमा लागू हुने होइन । कानुन कार्यान्वयन भएपछि राष्ट्रपतिले कुन देशमाथि यस्तो महसुल लगाउने र दर कति निर्धारण गर्ने भन्ने निर्णय गर्न सक्नेछन् । भारत र चीनको नाम चर्चामा आउनुको मुख्य कारण यी दुवै रुसबाट ऊर्जा खरिद गर्ने ठूला देश हुनु हो । कानुन राष्ट्रपतिले हस्ताक्षर गरेको ३० दिनपछि प्रभावकारी हुनेछ। त्यसपछि कानुन कार्यान्वयन हुनुअघिका १२ महिनामा कुल खरिदको आधारमा रुसी कच्चा तेल वा प्राकृतिक ग्यासका शीर्ष पाँच खरिदकर्तामध्ये रहेका देशबाट आयात हुने सामानमा अधिकतम १०० प्रतिशतसम्म महसुल लगाउन सकिने व्यवस्था छ । तर प्राकृतिक ग्यासको हकमा केही छुटको व्यवस्था पनि गरिएको छ । कुनै देशले उक्त अवधिमा रुसबाट गरेको ग्यास आयात रुसको कुल ग्यास निर्यातको १५ प्रतिशतभन्दा कम रहेको तथा रुसी ग्यास खरिद घटाउन त्यस देशले ‘महत्त्वपूर्ण कदम’ चालेको अवस्थामा ग्याससम्बन्धी महसुलबाट छुट पाउन सक्ने व्यवस्था छ । रुसमाथि लगाइएका प्रतिबन्ध छल्न वा उसको ऊर्जा कारोबारलाई निरन्तरता दिन प्रयोग हुने भनिएका जहाजको सञ्जाललाई ‘छायाँ जहाजी बेडा’ भनिन्छ । नयाँ कानुनले यस्ता जहाजसँग सम्बन्धित रुसी तथा विदेशी व्यक्ति र संस्थालाई समेत लक्षित गरेको छ। रुसी ऊर्जा उत्पादनलाई सहयोग गर्ने वा प्रतिबन्ध छल्न सहयोग पुर्याउने विदेशी पक्षमाथि पनि कारबाही गर्न सकिने व्यवस्था गरिएको छ । यसरी नयाँ कानुनको दायरा रुस सरकार र उसको ऊर्जा क्षेत्रसम्म मात्र सीमित नराखी रुसी ऊर्जा कारोबारलाई सहयोग गर्ने विदेशी व्यक्ति, संस्था, जहाज तथा व्यावसायिक सञ्जालसम्म विस्तार गरिएको छ ।




