साउदी अरबमाथि पछिल्ला आक्रमणपछि टर्की प्राविधिक सहयोग गर्न तयार

टर्कीले साउदी अरबमाथि भएका पछिल्ला सैन्य आक्रमणको प्रतिक्रिया स्वरूप मक्का संयुक्त रक्षा सम्झौताअन्तर्गत आफ्नो प्रतिवद्धता पूरा गर्ने र आवश्यक परे साउदी अरबलाई प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ । टर्कीका विदेशमन्त्री हाकान फिदानले शनिवार टर्कीको एनटीभीसँग कुरा गर्दै सम्झौतामा सहभागी देशहरूले साउदी अरबमाथि हुथी समूहबाट भइरहेका आक्रमणलाई नजिकबाट नियालिरहेको बताउनु भयो । उहाँले सम्झौतामा सहभागी देशहरू यस विषयमा एकतावद्ध रहेको र सम्झौतामा उल्लेख गरिएका प्रावधानअनुसार टर्कीले आफ्नो प्रतिवद्धता पूरा गर्ने बताउनु भयो । फिदानकाअनुसार साउदी अरबलाई आवश्यक पर्ने सैन्य सहयोग मुख्यतः विशेष प्राविधिक विषयमा केन्द्रित हुनसक्ने र टर्कीले त्यस्तो आवश्यकता पूरा गर्न सक्नेछ ।

मक्का संयुक्त रक्षा सम्झौताको कार्यान्वयन सुस्त गतिमा भइरहेको भन्ने दाबीलाई फिदानले अस्वीकार गर्नुभयो । उहाँकाअनुसार यो गठबन्धन क्षेत्रका अन्य देशहरूका लागि पनि खुला रहेको र यसले क्षेत्रीय सुरक्षामा ठूलो परिवर्तन ल्याउने मञ्चका रूपमा काम गर्नेछ । मक्का संयुक्त रक्षा सम्झौतामा गत अगस्ट ७ मा साउदी अरबको मक्का शहरमा साउदी युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान र पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज सरिफले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौताअनुसार सम्झौतामा सहभागी कुनै एक देशमाथि भएको आक्रमण सबै सहभागी देशमाथिको आक्रमण मानिनेछ । साउदी अरब र यमनको हुथी समूहबीच पछिल्ला महिनाहरूमा तनाव बढ्दै गएको छ । दुवै पक्षले एकअर्काविरुद्ध पटक–पटक आक्रमण गर्दै आएका छन् ।

यही पृष्ठभूमिमा साउदी अरबको सुरक्षाका लागि आवश्यक सहयोगबारे टर्कीले आफ्नो प्रतिवद्धता दोहो¥याएको हो ।