
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्क रहन आग्रह गरेको छ । कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।


बङ्गालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र थप शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने भएकाले बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहेको छ ।

प्राधिकरणले अत्यावश्यकबाहेक टाढा तथा रातिको यात्रा नगर्न, जोखिमयुक्त सडकमा डोजर, एक्स्काभेटर र लोडर तयारी अवस्थामा राख्न तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई पूर्वसूचनाका आधारमा सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । खोला, खहरे, नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन पनि आग्रह गरिएको छ ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरीको १११४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ । साथै, मौसम महाशाखा र प्राधिकरणबाट जारी हुने पूर्वानुमान तथा पूर्वसूचनालाई नियमित रूपमा हेर्न आग्रह गरिएको छ ।





