
पाकिस्तानले अफगानिस्तानसँगको सीमा क्षेत्रमा रहेको लडाकुहरूको अखडालाई लक्षित गरी गरेको हवाई आक्रमणमा २८ जना लडाकुको मृत्यु भएको छ । पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयकाअनुसार सोमवार गरिएको यस कारबाहीमा एक आत्मघाती बमवर्षक तालिम केन्द्रसहित तीनवटा महत्वपूर्ण अखडा ध्वस्त भएका छन् । पाकिस्तानी सुरक्षा निकायले प्राप्त गरेको विश्वसनीय गुप्तचर सूचनाको आधारमा यो कारबाही अघि बढाएको मन्त्रालयले जनाएको छ । मारिनेहरूमा धेरै आत्मघाती हमलाकारीहरू समेत रहेको दाबी गरिएको छ ।
हवाई आक्रमणका क्रममा लडाकु समूहले लुकाएर राखेको ठूलो परिमाणको हातहतियार तथा गोलाबारुद पनि नष्ट भएको बताइएको छ ।

हवाई कारबाहीका अतिरिक्त, पाकिस्तानले उत्तर–पश्चिम खैबर पख्तुनख्वा प्रान्तका कोहाट, हङ्गु र थल क्षेत्रमा विशेष स्थलगत सैन्य अपरेसन पनि चलाएको छ । हालैका दिनहरूमा सो क्षेत्रमा लडाकु समूहबाट भएका श्रृंखलाबद्ध आक्रमणको प्रतिशोध स्वरूप यो कारबाही गरिएको हो । स्थलगत कारबाहीमा थप ९ जना लडाकु मारिएको र केही घाइते भएको सरकारी स्रोतले जनाएको छ ।


नागरिक हताहतीको प्रश्नमा मन्त्रालयले कारबाहीका क्रममा सर्वसाधारणको ज्यान नजाओस् भन्ने कुरामा पूर्ण सावधानी अपनाइएको दाबी गरेको छ । पाकिस्तान क्षेत्रीय शान्ति र स्थायित्वका लागि प्रतिवद्ध रहेको बताउँदै, आफ्ना नागरिकको सुरक्षा नै राज्यको सर्वोच्च प्राथमिकता भएको मन्त्रालयले पुनः दोहो¥याएको छ । यता, अफगानिस्तान सरकारका प्रवक्ताले पाकिस्तानद्वारा गरिएको हवाई आक्रमणको पुष्टि गरेका छन् । तर, पाकिस्तानी दाबी विपरित अफगान पक्षले यस आक्रमणमा तीनजना सर्वसाधारणको समेत मृत्यु भएको जनाएको छ ।




