
मलेसियामा सन् २०२५ मा नागरिकहरूको औसत मासिक तलव र ज्यालामा ४.१ प्रतिशतको वृद्धि देखिएको छ ।
मलेसियाको तथ्यांक विभागले सोमवार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार औसत मासिक कमाइ ३,८०३ रिंगित (करिव ९३३ अमेरिकी डलर) पुगेको छ । तथ्यांक विभागकाअनुसार मध्यम मासिक तलबमा भने ५.३ प्रतिशतको वृद्धि देखिएको छ, जसले २,९४० रिंगितको विन्दु छोएको छ । यो तथ्यांकले मलेसियाको श्रम बजारमा देखिएको सकारात्मक सुधार र श्रमिकको आम्दानी स्तरमा भएको वृद्धिलाई पुष्टि गरेको छ ।


श्रम बजारको विस्तारमा सेवा क्षेत्रको भुमिका सबैभन्दा महत्वपूर्ण देखिएको छ । कुल ज्याला प्राप्त गर्नेहरूमध्ये ७१.५ प्रतिशत हिस्सा सेवा क्षेत्रले ओगटेको छ । यस क्षेत्रमा काम गर्नेको संख्यामा १.८ प्रतिशतले वृद्धि भई ७४ लाख २० हजार पुगेको छ ।

विभिन्न क्षेत्रगत तथ्यांकलाई हेर्दा, खानी तथा उत्खनन क्षेत्रमा ार्यरत श्रमिकले सबैभन्दा बढी तलब पाइरहेका छन्, जहाँ औसत मासिक तलब ६,१७५ रिंगित रहेको छ । यसपछि क्रमशः सेवा क्षेत्रमा ३,९९३, उत्पादन क्षेत्रमा ३,३५७, निर्माण क्षेत्रमा ३,१८८ र कृषि क्षेत्रमा २,५७५ रिंगित औसत तलब रहेको छ ।
मलेसियाली अधिकारीहरूले यस वृद्धिलाई अर्थतन्त्रको सुदृढीकरणका रूपमा लिएका छन् । तथापि, भविष्यमा वास्तविक ज्याला वृद्धि र श्रमिकको जीवनस्तर सुधारलाई दिगो बनाउन उत्पादन क्षमता बढाउने, सीप विकास गर्ने र उच्च मूल्यका रोजगारी सिर्जना गर्ने कार्यमा केन्द्रित हुनुपर्ने आवश्यकता विभागले औंल्याएको छ ।





