नेवि सङ्घले विदेशी नाम राखेरका निजी विद्यालय तथा कलेजहरुको होर्डिङबोर्ड हटाउन थाल्यो

काठमाडौँ  – विदेशी र भड्किलो नाम राखेर विद्यार्थीहरुलाई अन्यौलमा राखेको भन्दै नेपाल विद्यार्थी सङ्घले निजी विद्यालय तथा कलेजहरुको होर्डिङबोर्ड हटाउन थालेको छ। सङ्घले आज बिहान नयाँबानेश्वर र पुरानो बानेश्वरका होर्डिङबोर्ड हटाएको हो।

 

विदेशी नामबाट राखिएका शैक्षिक संस्थाहरुको होडिङबोर्ड हटाउने कार्यक्रमअनुसार उक्त बोर्ड हटाइएको सङ्घका सभापति रञ्जित कर्णले जानकारी दिए।

उनले आज बिहान काठमाडौँको नयाँबानेश्वरमा रहेको पाँच विद्यालय तथा कलेजका विदेशी नाम रहेका तथा भड्किलोरुपमा प्रचार गरिएका होर्डिङ बोर्डहरु हटाएको जानकारी दिए।


राजधानीका अन्य ठाउँहरुमा राखिएका होर्डिङबोर्ड हटाउने कार्य पनि जारी राखिनेछ सभापति कर्णले भने।


होर्डिङबोर्ड हटाउने काममा काठमाडौँ महानगरपालिकाले पनि सहयोग गर्ने विश्वास आफूहरुले लिएको सङ्घले बताएको छ।


नेपालको मौलिकता र नेपाली नाम झल्कने नाम राख्नुपर्नेमा सङ्घले जोड दिँदै आएको छ।- रासस