आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर पालिका अधिवेशन प्रक्रिया चलिरहेको छ । असोज ७ गतेसम्म ५८ जिल्लाका ५१२ पालिकामा उद्घाटन र बन्द सत्रसहित निर्वाचन प्रक्रिया सुरु भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी २४१ पालिकामा असोज ८ र ९ गते पनि अधिवेशन जारी रहने जनाइएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढिरहेको बताएका छन् । यसैबीच, असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानलाई ध्यानमा राखी सम्बन्धित निर्वाचन अधिकृतलाई अधिवेशन सञ्चालन गर्दा मौसमको अवस्थाप्रति सचेत रहन निर्देशन दिइएको छ । पालिका, प्रदेश सभा र प्रतिनिधिसभा अधिवेशनका लागि अनुकूल समय मिलाएर निर्वाचन प्रक्रिया अघि बढाउन समितिले आग्रह गरेको छ ।

२- जापानमा जारी २०औं एसियाली खेलकुदमा चीनले ४८ स्वर्ण, २० रजत र १० कांस्यसहित कुल ७८ पदक जितेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै जापानले १५ स्वर्ण, २५ रजत र २७ कांस्यसहित ६७ पदक जितेर दोस्रो र दक्षिण कोरियाले ८ स्वर्ण, ८ रजत र २५ कांस्यसहित ४१ पदक जितेर तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, कजाकिस्तानले ७ स्वर्ण, ४ रजत र ८ कांस्यसहित १९ पदक जितेको छ भने थाइल्यान्डले ५ स्वर्ण, ३ रजत र ४ कांस्यसहित १२ तथा हङकङले ३ स्वर्ण, ६ रजत र ७ कांस्यसहित १६ पदक जितेका छन् । इरानले ३ स्वर्ण, ३ रजत र २ कांस्यसहित ८ तथा मलेसियाले ३ स्वर्ण, १ रजत र ५ कांस्यसहित ९ पदक जितेका छन् । त्यस्तै, उत्तर कोरियाले २ स्वर्ण, १ रजत र ३ कांस्यसहित ६ पदक तथा कुवेतले २ स्वर्ण, १ रजत र २ कांस्यसहित ५ पदक जितेका छन् । कतार र ताजिकिस्तानले समान २ स्वर्ण, १ रजत र १ कांस्यसहित ४–४ पदक जितेका छन् । भारतले १ स्वर्ण, ५ रजत र ६ कांस्यसहित १२ पदक जितेको छ । उज्बेकिस्तानले १ स्वर्ण, ४ रजत र ५ कांस्यसहित १० पदक, मकाउले १ स्वर्ण, ४ रजत र १ कांस्यसहित ६, चिनियाँ ताइपेले १ स्वर्ण, ३ रजत र १० कांस्यसहित १४ तथा सिंगापुरले १ स्वर्ण, ३ रजत र २ कांस्यसहित ६ पदक जितेका छन्। जोर्डन र म्यानमारले समान १ स्वर्ण, १ रजत र १ कांस्य जितेका छन् भने भियतनामले १ स्वर्ण र ८ कांस्यसहित ९ पदक जितेको छ । साउदी अरेबियाले २ रजत र २ कांस्य, बहराइनले २ रजत, इन्डोनेसियाले १ रजत र १२ कांस्य, फिलिपिन्सले १ रजत र ४ कांस्य तथा अफगानिस्तान र इराकले समान १ रजत र २ कांस्य जितेका छन्। लेबनानले १ रजत र १ कांस्य तथा श्रीलंका र तुर्कमेनिस्तानले समान १ रजत जितेका छन्। कम्बोडियाले ४, किर्गिस्तानले ३ तथा पाकिस्तानले २ कांस्य जितेका छन् । बंगलादेश, ब्रुनाइ दारुस्सलाम, मंगोलिया, नेपाल र सिरियाले समान १ कांस्य पदक जितेका छन् । नेपालका लागि आज करातेको कुमुतेतर्फ ८४ केजी माथिको तौल समुहमा तेन्जिङ शेर्पाले कास्य पदक जितेका हुन् ।

३- सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । मनसुन प्रतिकार्य कमाण्ड पोस्ट काभ्रेपलाञ्चोकको असोज ७ गते धुलिखेलमा बसेको बैठकले असोज ८ गतेदेखि १२ गते बिहानसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । अन्य समयमा पनि राजमार्ग प्रयोग गर्दा सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग आवश्यक जानकारी लिएर मात्र सुरक्षित यात्रा गर्न आग्रह गरिएको छ ।

४- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ पुगेको छ । साउन-भदौमा कुल ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँको वस्तु आयात हुँदा निर्यात ७६ अर्ब ५९ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ३१.५८ प्रतिशतले बढेको छ । गत वर्ष पहिलो दुई महिनामा ३ खर्ब ५ अर्ब १६ करोड रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्षमा यो बढेर ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको हो । यस अवधिमा निर्यात भने ६१.८६ प्रतिशतले बढेको छ । गत वर्ष साउन–भदौमा ४७ अर्ब ३२ करोड रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । आयातको तुलनामा निर्यात अझै निकै कम रहेकाले दुई महिनामै व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८४ करोड रुपैयाँ थियो। आयात–निर्यात अनुपात भने ६.४५ बाट घटेर ५.२४ पुगेको छ ।

५- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो उडानमार्फत विदेश प्रस्थान गर्ने यात्रुहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिदाई गरेका छन् । पोखराबाट फ्लाई दुबईले आज पहिलो उडान सुरु गरेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जाने यात्रुहरुलाई प्रमुख आचार्यले खादा ओढाएर बिदाई गरेका हुन् ।  विश्वप्रसिद्ध वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई र दुबई–पोखरा रुटमा आजदेखि नियमित उडान शुरु गर्न लागेको हो । फ्लाई दुबईले आज साँझ ६:१५ बजे पोखरामा अवतरण गरी ७:१५ बजे पुनः दुबईका लागि उडान भर्ने बताइएको छ । पहिलो उडानबाट आउने विमानलाई वाटर स्यालुट (पानीको फोहरा) सहित भव्य स्वागत गरिने तयारी गरिएको छ । फ्लाई दुबईको उडान विवरण अनुसार दुबईबाट पोखराका लागि उडान नम्बर एफजेड ११६५ र पोखराबाट दुबईका लागि एफजेड ११६६ रहनेछ  । पोखराबाट दुबई जाने उडानमा बिजनेस क्लासको भाडा करिब १ लाख ९० हजार र इकोनोमी क्लासको भाडा करिब ९१ हजार रुपैयाँ पर्नेछ । दुबै गन्तव्यबीचको यात्रा समय करिब साढे ४ घण्टा हुनेछ भने पोखराबाट दुबई फर्किँदा करिब साढे ५ घण्टा लाग्ने बताइएको छ । यो उडानले पोखरालाई विश्व बजारसँग दिगो रूपमा जोड्न र पर्यटन प्रवर्द्धनमा ठूलो योगदान दिने विश्वास गरिएको छ । करिब २२ अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरी १ मा उद्घाटन गरिएको भएपनि हाल आन्तरिक उडानमा मात्र सीमित रहेको छ ।

६- पर्यटन विभागले शरद ऋतुमा पर्वतारोहण तथा पदयात्राका लागि अनुमति लिएका पर्वतारोही, पदयात्री र सहयोगी कर्मचारीलाई मौसमको अवस्था हेरेर उच्च सतर्कता अपनाउन अपिल गरेको छ । विभागका अनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको र वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । मौसम प्रतिकूल भएमा पदयात्रा तथा हिमाल आरोहणका क्षेत्र प्रभावित हुनसक्ने भन्दै विभागले उक्त अवधिमा सकेसम्म यात्रा नगर्न आग्रह गरेको छ । यात्रा गर्नैपर्ने अवस्थामा सावधानी अपनाउन तथा नेपाल सरकार र सम्बन्धित निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर योजना बनाउन अनुरोध गरिएको छ । सामागाउँ, खुम्बु, मनाङलगायत पदयात्रा तथा हिमाल आरोहण क्षेत्रका स्वास्थ्य संस्था तथा काठमाडौं र पोखराका उच्च हिमाली स्वास्थ्य समस्याको उपचार गर्ने स्वास्थ्य संस्थामा निरन्तर र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनसमेत विभागले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

७- सन् २०२५ मा चीनको बाह्य प्रत्यक्ष लगानी ११.१ प्रतिशतले बढेर २१३ अर्ब ५८ करोड अमेरिकी डलर पुगेको छ । चीनको विदेशमा रहेको कुल लगानी ३४ खर्ब अमेरिकी डलर पुगेको छ भने विश्वको कुल बाह्य लगानीमा चीनको हिस्सा ७.४ प्रतिशत रहेको छ । चीनको बाह्य लगानी मुख्यतः व्यवसाय तथा भाडा सेवा, थोक तथा खुद्रा व्यापार, उत्पादन र वित्तीय क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ। पछिल्ला वर्षमा हरित तथा न्यून कार्बन क्षेत्र, डिजिटल अर्थतन्त्र र हरित खनिज स्रोतमा समेत चिनियाँ लगानी विस्तार हुँदै गएको छ । सन् २०२५ को अन्त्यसम्म चिनियाँ लगानीकर्ताले १८९ देश तथा क्षेत्रमा ५८ हजार विदेशी कम्पनी स्थापना गरेका छन् । ती कम्पनीमा २९ लाख ६५ हजार विदेशी नागरिक कार्यरत रहेको तथ्यांकमा उल्लेख छ । ‘बेल्ट एन्ड रोड’ पहलअन्तर्गतका देशमा पनि चिनियाँ लगानी बढेको छ । सन् २०२५ मा ती देशमा ४६ अर्ब ५ करोड अमेरिकी डलर प्रत्यक्ष लगानी गरिएको थियो, जुन चीनको कुल बाह्य प्रत्यक्ष लगानीको २१.६ प्रतिशत हो । ती देशमा करिब २२ हजार चिनियाँ कम्पनी स्थापना भएका छन् भने कुल लगानी ४०७ अर्ब २५ करोड अमेरिकी डलर पुगेको छ ।

८-  प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन अपिल गरेका छन् । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । वर्षाका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा सडक र हवाई यातायातमा अवरोध हुनसक्ने भएकाले नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ। पानी परिरहेको र रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न तथा नदी, खोला र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन अपिल गरिएको छ । त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजनामा रहेकालाई मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न आग्रह गर्दै मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित हेर्न तथा आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न प्रधानमन्त्री शाहले अनुरोध गरेका छन् ।

images

९- नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म मूल्य बढाएको छ । संघको असोज ६ गते काठमाडौंमा भएको भौतिक तथा भर्चुअल बैठकले अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसअनुसार बुधबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । संघका अनुसार एक्सल अन्डाको प्रतिक्रेट ६१५ तोकेको छ । ठूलो अन्डा प्रतिक्रेट ६ सय रुपैयाँ पुगेको छ । यसअघि १९ भदौमा तोकिएको समर्थन मूल्यअनुसार एक्सल अन्डाको प्रतिक्रेट ६०५  र ठूलो अन्डाको ५९० रुपैयाँ थियो । संघले मिडियम, सानो अन्डा र उपभोक्ता मूल्य भने यथावत् राखेको छ । यसअघिको मूल्यमा मिडियम अन्डा प्रतिक्रेट ५५० रुपैयाँ छ भने सानो अन्डा ३ हजार २ सय पेटी समर्थन मूल्य तोकिएको छ । उपभोक्ता मूल्य प्रतिगोटा २५ र प्रतिदुईवटाको ४५ रुपैयाँ तोकेको छ ।

images

१०- नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा पुगेर रोकिएको छ । आज ३५२ कम्पनिका २ करोड १६ लाख २२ हजार ७२८ कित्ता शेयर ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिवाईसी नेपाल लघुवित्तको शेयर ५.४४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयरमा ८.५४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ३८ करोड ३४ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २१ करोड २५ लाख बराबरको कारोबार भएको छ ।

११- कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउँदै जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा नागरिक लगानी कोषसम्बन्धी विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सर्वसाधारणको बचत जोडिएकाले कोषले अत्यधिक जोखिम भएका क्षेत्रमा लगानी गर्न नहुने बताए। लगानीको सीमा र क्षेत्र निर्धारण गरी परियोजना छनोटमा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । वाग्लेले नेपालको आन्तरिक बचतले मात्रै आवश्यक लगानी धान्न नसक्ने भएकाले उपलब्ध सबै स्रोत परिचालन गर्नुपर्ने बताए । नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको एउटा आधारका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । उनले कोषको डिजिटल प्रविधि विस्तारमा सरकार सकारात्मक रहेको र विधेयकमा समेट्न नसकिने विस्तृत विषय नियमावली तथा कार्यविधिमार्फत सम्बोधन गरिने बताए। साथै, कोषमा स्वार्थ नबाझिने व्यवस्था र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

images

१२- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयरमा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाइएको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै मन्त्री श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीका क्रममा सुरक्षाकर्मीले गरेको खोज, उद्धार तथा पुनःस्थापनाको योगदानको सम्मानस्वरूप यस्तो व्यवस्था गर्न लागिएको बताए । यस्तै, बाढीमा ज्यान गुमाएका वा सम्पर्कविहीन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत र ६ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए । बाढी प्रभावित विद्युत् ग्राहकलाई भदौदेखि न्यूनतम बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने र नयाँ मिटर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ । १५ स्थानीय तहका प्रभावित ग्राहकलाई थप महसुल सहुलियत दिनेबारे पनि अध्ययन भइरहेको मन्त्री श्रेष्ठले बताए ।

१३- राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह र जिल्ला तहको अधिवेशनपछि सातवटै प्रदेशको अधिवेशनको तयारी थालेको छ । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार सबै प्रदेशको अधिवेशन असोज २१ गते एकैदिन हुनेछ । केन्द्रीय निर्वाचन समितिले प्रदेश अधिवेशनका लागि सातवटै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि तोकेको छ । जसअनुसार कोशीमा भरत पाठक, मधेसमा राजाराम श्रेष्ठ, बागमतीमा प्रा.डा. जयन्तनाथ खनाल र गण्डकीमा अमृत पुडासैनी तोकिएका छन् । त्यस्तै, लुम्बिनीमा निर्वाचन समितिका अध्यक्ष तोरणबहादुर गुरुङ, कर्णालीमा रमानन्द न्यौपाने र सुदूरपश्चिममा निर्वाचन समितिका सदस्य सचिव श्यामबहादुर शाहीलाई केन्द्रीय निर्वाचन प्रतिनिधि तोकिएको छ । राप्रपाले प्रदेश अधिवेशनपछि केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने र आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

१४- नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पूर्ववत् पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्चका न्यायाधिश कुमार रेग्मीको इजलासले सो रिटमा सुनुवाई गर्दै कारण देखाऊ आदेश दिदै १५ दिनभित्र सरकारसँग जवाफ मागेको छ । साथै इजलासले अन्तरिम आदेशको विषयमा छलफल गर्न असोज १६ गते पेशी तोकेको छ । शाक्यले दायर गरेको रिट सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेपछि शुक्रबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले शाक्यको रिट दर्ता गर्न आदेश दिएको थियो ।  शाक्यले आफूलाई पदमुक्त गर्ने अध्यादेश निष्क्रिय भइसकेकाले पुनर्बहाली हुनुपर्ने माग रिटमा गरेका छन् ।  सरकारले उक्त अध्यादेशका कारण निष्क्रिय भएको पुरानो कानुनी व्यवस्था पुनः कायम गर्न मंगलबार प्रतिनिधिसभामा विधेयक दर्ता गरेको छ । उनलाई २०८२ असोज ५ गते सरकारले पदबाट हटाएको थियो । त्यसपछि सर्वोच्च अदालतले २०८२ मंसिर २२ गते उनलाई पदमा बहाल गराउन आदेश दिएपछि शाक्य २०८१ चैत ११ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।  नयाँ सरकारले २०८३ वैशाख २१ गते सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेश ल्याएर सार्वजनिक निकायमा भएका नियुक्ति बदर गरेको थियो । सोही निर्णयअन्तर्गत शाक्यको नियुक्ति पनि बदर भएको थियो ।

Nepal life insurance

१५- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहानसम्म १ हजार ४५२ जनाको शव फेला परेको छ ।  जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्‍चिममा २२२ जना गरी १ हजार ४५० जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३३ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३२९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३४५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४२२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

१६- राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ । बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको मन्त्री वाग्लेको सचिवालयले जानकारी दिएको छ । भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।

१७- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक,पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको छ ।  राष्ट्र बैंकका अनुसार कारबाहीमा पर्नेमा फरवार्ड लघुवित्त वित्तीय संस्था सुनसरी,धौलागिरी लघुवित्त वित्तीय संस्था बाग्लुङ,मातृभूमि लघुवित्त वित्तीय संस्था बुढानिलकण्ठ,एनआईसी लघुवित्त वित्तीय संस्था बनेपा,वीन नेपाल लघुवित्त वित्तीय संस्था बनेपा काभ्रेपलाञ्चोक र सञ्जीवनी लघुवित्त वित्तीय संस्था तुलसीपुर दाङ रहेका छन् । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली,२०७४ को विनियम ३ (क) बमोजिमको शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरेको जनाएको छ ।  त्यस्तै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६.३८ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमको शीघ्र सुधारात्मक कारवाही गरेको जनाएको छ । त्यसैगरी, मातृभुमि लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली,२०७४ को विनियम ३ (ख) बमोजिमकोशिघ्र सुधारात्मक कारवाही गरेको हो ।  त्यस्तै, एनआइसी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६.३९ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्डबमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमकोशिघ्र सुधारात्मक कारवाही  गरेको हो ।  त्यसैगरी, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि २०८२ चैत महिनामा संस्थाले अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम पटकका लागि रु ५८.३८ पैसा नगद जरिवाना  लगाएको छ ।  त्यस्तै, सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि  २०८२ चैत,२०८३ को वैशाख, जेठ र असार महिनामा संस्थाले अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम, दोस्रो,तेस्रो र चौथो पटकका लागि क्रमशः रु ७१३.८८, रु १,०६७.४०, रु १,४१२.९१ र रु १,४१०.७८ नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

१८- इन्द्रजात्राअन्तर्गत ‘यसिं थनेगु’ अर्थात् इन्द्रध्वजोत्थान आज बिहान ७ बजेर ४७ मिनेटको साइतमा सम्पन्न भएको छ । हनुमानढोका कागेश्वरी मन्दिर नजिक कालभैरव अगाडि यसिं ठड्याइएको हो। यसिंमा अष्टमातृकाको प्रतीकका रूपमा आठवटा काठका टुक्रा राख्ने चलन छ, जसलाई ‘लाकासिँ’ भनिन्छ । यस क्रममा न्हय्स नाय र चसाद्वँ टोलका मानन्धर समुदायको अनिवार्य उपस्थिति रहने परम्परा छ । यसिं ठड्याउने क्रममा गुर्जुको पल्टनले तोप पड्काएको थियो भने तलेजु भवानीको प्रतीकका रूपमा सेतो घोडा ल्याइएको थियो । यस अवसरमा इन्द्रजात्रामा प्रस्तुत गरिने पहिलो नाचका रूपमा दिप्याखं अर्थात् देवी नाच पनि प्रस्तुत गरिएको थियो। यसिं उठाएपछि यसको माथि इन्द्र अंकित ध्वजा ‘हलिंपता’ फहराइएको थियो। फेदमा इन्द्रको सुवर्ण मूर्ति र माथि गजुरजस्तै देखिने भोगटे राखिएको हुन्छ । यस वर्ष भाद्र २८ गते मानन्धर समुदायका गुठियारहरू यसिं लिन वनतर्फ गएका थिए । त्यसै दिन साँझ वृक्षकर्तन गरिएको थियो भने भोलिपल्ट यसिं भोटाहिटी ल्याइएको थियो । असोज ३ गते बिहान ८ बजेर ५ मिनेटको साइतमा यसिं नगर प्रवेश गराइएको थियो । एकादशीका दिन मानन्धरहरूले यसिंमा डोरी बाँध्ने ‘वलः घायेगु’ विधि पूरा गरेका थिए । यसिं देवताका रूपमा स्थापित भएपछि माथि चढ्न नमिल्ने भएकाले डोरीको गाँठो तलैबाट फुकाल्ने गरी यो विधि गरिन्छ । यसै अवसरमा नेवार समुदायले दिवंगत आफन्तको सम्झनामा काँचो माटोको दियो बालेर उपाकु पर्व मनाउनेछन् । गणेश र भैरवलाई कुमारी घरमा ल्याएर तलेजु भवानी मन्दिरमा निम्तो दिने परम्परासमेत छ । यस वर्ष इन्द्रजात्राको मुख्य रथयात्रा असोज ९ गतेदेखि सुरु हुनेछ। श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ तल्लो टोल, माथिल्लो टोल हुँदै नानीचायाका दिन नगर परिक्रमा गराइनेछ। रथयात्राका क्रममा लाखे आजु, पुलुकिसी र हलचोक आकाश भैरवसहित विभिन्न देवीदेवताका नाच तथा प्रदर्शन हुनेछन् । इन्द्रजात्राको मुख्य रथयात्रा तीन दिनसम्म सञ्चालन हुनेछ। तल्लो टोलको रथयात्रा वसन्तपुर, मरु, चिकंमुगल, जैसिदेवल, लगन, ब्रह्मटोल, ज्याबहाल, कोहिटी, भीमसेनस्थान र मखन हुँदै वसन्तपुर फर्कनेछ । माथिल्लो टोलको रथयात्रा प्याफल, यटखा, नरदेवी, टेंगल, न्यौखा, असन, इन्द्रचोक हुँदै वसन्तपुर पुग्नेछ । नानीचायाका दिन किलागः हुँदै नगर परिक्रमा गराइनेछ। देवी नाच, महाकाली नाच, दश अवतार प्रदर्शन तथा हनुमानढोकाको श्वेत भैरवको प्रसादस्वरूप जाँड खुवाउने परम्परासमेत इन्द्रजात्राका प्रमुख आकर्षण हुन् ।

१९- अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच नयाँ रक्षा सम्झौता भएको छ । सम्झौताअनुसार अमेरिकाले ग्रिनल्यान्डमा दुई नयाँ सैन्य क्याम्प स्थापना गर्न सक्नेछ । सम्झौताले ग्रिनल्यान्डमाथि डेनमार्कको सार्वभौमिकता र ग्रिनल्यान्डको आत्मनिर्णयको अधिकारलाई पनि कायम राखेको छ । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा सम्झौतामा हस्ताक्षरअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपयुक्त स्थानमा ठूलो सैन्य उपस्थिति विकास गर्ने प्रक्रिया तत्काल सुरु गरिने बताएका थिए । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले सम्झौता अमेरिका, डेनमार्क र ग्रिनल्यान्डका साथै युरोप र नेटोका लागि पनि महत्वपूर्ण रहेको बताएकी छन् । ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले यसलाई तीनै पक्षका लागि लाभदायक सम्झौता भनेका छन् । सम्झौताले सन् १९५१ मा अमेरिका र डेनमार्कबीच भएको रक्षा सम्झौतालाई संशोधन तथा अद्यावधिक गरेको छ । यसअन्तर्गत दक्षिणी ग्रिनल्यान्डको नार्सार्सुआक र पूर्वी क्षेत्रमा रहेको मेस्टर्सभिगमा अमेरिकाले थप रक्षा क्षेत्र स्थापना गर्न सक्नेछ । साथै, अमेरिकाले हाल सञ्चालनमा रहेको पिटुफिक अन्तरिक्ष अखडामा आफ्ना गतिविधि आधुनिकीकरण र विस्तार गर्न सक्नेछ। सैन्य अखडासम्बन्धी प्राविधिक विवरण भने तीनै पक्षको सहमतिमा तय हुनेछन् । सम्झौताले नेटोका सदस्य नरहेका कुनै पनि देशलाई ग्रिनल्यान्डमा आफ्नै सैनिक संरचना स्थापना गर्न वा निरन्तर सैन्य उपस्थिति राख्न रोक लगाएको छ । साथै, ग्रिनल्यान्ड डेनमार्कबाट स्वतन्त्र भए पनि नेटोमा रहने अवस्थामा सम्झौता लागू हुने उल्लेख छ । ग्रिनल्यान्डमाथि नियन्त्रण कायम गर्ने ट्रम्पको अघिल्लो अभिव्यक्तिपछि अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच लामो समयदेखि तनाव रहँदै आएको थियो । नयाँ सम्झौताले ग्रिनल्यान्डको भूभाग अमेरिकालाई हस्तान्तरण नगरी अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने व्यवस्था गरेको छ । सम्झौता कार्यान्वयनका लागि डेनमार्क र ग्रिनल्यान्डका संसद्बाट समेत अनुमोदन हुनुपर्नेछ ।

२०- नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरअघि दुवै मन्त्रीले आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका थिए । उनीहरूले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा प्रगति तीव्र बनाउन तथा जलवायु परिवर्तनका असर सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । भेटमा पर्यटन, शिक्षा लगायत साझा चासोका क्षेत्रमा अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो । ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग कूटनीतिक सम्बन्ध भएका देशको संख्या १८६ पुगेको छ ।