
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। साथै, बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रका रूपमा रहेको छ।
उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।


आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि साधारणतया बदली रहने पूर्वानुमान छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा सुदूरपश्चिमको तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
मधेश तथा कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीसहित वर्षा हुनसक्ने पूर्वानुमान पनि गरिएको छ।
मौसममा देखिएको सक्रियताका कारण विशेषगरी भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका पहाडी र तराई क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। भारी वर्षाका कारण सडक तथा यातायात, दैनिक जनजीवन, नदी–खोला र कमजोर भौगोलिक क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनु उपयुक्त हुनेछ।




