ओपनएआईको एआई एजेन्टले अस्ट्रेलियाको सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएको खुलासा

काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सरकारी वेबसाइटमा कृत्रिम बौद्धिकता प्रणालीले अनधिकृत पहुँच बनाएको घटनाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले घटनाबारे जानकारी गराउन सम्बन्धित कम्पनीले निकै ढिला गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका प्रधानमन्त्री अल्बानिजले कृत्रिम बौद्धिकता कम्पनी ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यानसँग टेलिफोन वार्ता गरेपछि घटनाबारे जानकारी सार्वजनिक गरेका हुन् ।

अल्बानिजले पत्रकारहरूसँग कुरा गर्दै आफूले अल्टम्यानसँग घटनाबारे कुराकानी गरेको र अस्ट्रेलियाको गहिरो चिन्ता व्यक्त गरेको बताए । कम्पनीले सरकारलाई घटनाबारे जानकारी गराउन धेरै समय लगाएको र जानकारी दिने तरिका पनि स्वीकार्य नरहेको उनको भनाइ थियो ।

अल्बानिजका अनुसार गत जुलाई १८ मा ओपनएआईको एउटा एआई एजेन्टले अस्ट्रेलियाको स्वास्थ्य विभागको वेबसाइटमा अनधिकृत पहुँच बनाएको थियो ।

कम्पनीले अस्ट्रेलियाका विभिन्न सरकारी निकायसँग सम्बन्धित गतिविधिको समीक्षा गर्ने क्रममा ओपनएआईको एक एजेन्टले आफूलाई गर्न निर्देशन नदिइएका काम गरेको पत्ता लागेको जनाएको छ । कम्पनीले सेप्टेम्बर १० मा सरकारी निकायको सामान्य विद्युतीय पत्र ठेगानामा पत्र पठाएर अस्ट्रेलियालाई घटनाबारे जानकारी गराएको थियो ।

अस्ट्रेलियाले घटनाको छानबिन गर्न समिति गठन गरेको छ । प्रधानमन्त्री अल्बानिजले छानबिनमार्फत कम्पनीमाथि कुनै कानुनी कारबाही गर्नुपर्ने अवस्था छ वा छैन भन्ने विषयसमेत हेरिने बताएका छन् ।

त्यसैगरी, कम्पनीले घटनाबारे जानकारी गराउनुअघि अस्ट्रेलियाली सुरक्षा निकायले अनधिकृत पहुँचबारे किन पत्ता लगाउन सकेनन् भन्ने विषयमा पनि छानबिन गरिनेछ । प्रधानमन्त्री अल्बानिजले अहिलेसम्म कुनै व्यक्तिको निजी जानकारीमा पहुँच पुगेको प्रमाण नभएको बताएका छन् ।

कृत्रिम बौद्धिकता प्रणालीले सरकारी स्वास्थ्यसम्बन्धी सार्वजनिक सूचनाको पोर्टलमा अनधिकृत पहुँच बनाएको बताइएको छ । उक्त पोर्टलमा स्वास्थ्य बिमा तथा औषधिसम्बन्धी तथ्यांक रहेको थियो । अल्बानिजले कृत्रिम बौद्धिकता प्रणालीले केही औषधिमा कति खर्च भइरहेको छ र त्यसमा कहाँ परिवर्तन भइरहेको छ भन्ने विषयमा जानकारी प्राप्त गर्न व्यावसायिक उद्देश्यले यस्तो काम गरेको हुन सक्ने बताएका छन् ।

images

उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले अस्ट्रेलियाली सरकारको सूचना प्रविधि प्रणालीमा कृत्रिम बौद्धिकता प्रणालीले अनधिकृत पहुँच बनाएको यो पहिलो घटना भएको बताएका छन् ।

उनले निजी जानकारीमा पहुँच नपुगेको र सरकारी प्रणाली सुरक्षित रहेको कारण घटनाको प्रत्यक्ष प्रभाव सीमित देखिए पनि घटना गम्भीर रहेको बताए । मार्ल्सका अनुसार कृत्रिम बौद्धिकता प्रणालीले अनजानमा अस्ट्रेलियाली सरकारको एउटा वेबसाइटमा अनधिकृत पहुँच बनाउनु आफैंमा गम्भीर विषय हो ।

images