राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो एक हजारको नयाँ सिरिजको नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ सिरिजको बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंकले सिरिज २०२५ अन्तर्गतको एक हजार रुपैयाँको नोट असोज ५ गतेदेखि चलनचल्तीमा ल्याउन लागेको हो ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटको अगाडिको भागमा सगरमाथाको चित्रसँगै दायाँतर्फ लालीगुराँसको पानीछाप रहनेछ । पानीछापमा ‘१०००’ अंकसमेत रहनेछ ।

नोटको अगाडिको तल्लो भागमा दृष्टिविहीनले स्पर्शबाट पहिचान गर्न सक्ने गरी ‘एम’ अक्षरसहित १०/१० वटा तेर्सा रेखा राखिएको छ । नोटमा चलायमान विशेषता भएको सुरक्षण धागोमा ‘एनआरबी’ र ‘१०००’ अंकसमेत उल्लेख गरिएको छ । नोटको पछाडिको भागमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा रहेका नेपाली हात्तीमध्ये ‘देवकली’बाट जन्मिएका दुर्लभ मानिने ‘राम’ र ‘लक्ष्मण’ नामका दुई हात्तीको चित्र राखिएको छ। चित्रमाथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ ।

नोटको पछाडिको बायाँ भागमा सातवटा प्रदेश जनाउने गरी सातवटा लालीगुराँसको चित्र राखिएको छ । दायाँतर्फ ‘रुपिज वन थाउजेन्ड’ लेखिएको छ भने हनुमानढोकास्थित ऐतिहासिक महत्वको नौतले दरबारको आकृति पनि राखिएको छ । नोटको तल्लो भागमा ‘२०२५ एडी’ सिरिज नम्बर उल्लेख गरिएको छ। नोटमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ ।

राष्ट्र बैंकले यसअघि एक हजार रुपैयाँ दरको बैंकनोट सिरिज २०१९ चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेकोमा अहिले सिरिज २०२५ को नोट चलनचल्तीमा ल्याउन लागेको जनाएको छ । राष्ट्र बैंकले नयाँ नोट पनि प्रचलित एक हजार रुपैयाँकै दरमा चल्ने र पुरानो नोटको कानुनी मान्यता कायमै रहने जनाएको छ ।